मध्यनेपालमा थप तीनवटा कक्षामा स्थानीय पाठ्यक्रम

दुई वर्ष अघिदेखि स्थानीय पाठ्यक्रम सुरु गरेको मध्यनेपाल नगरपालिकाले चालू शैक्षिक सत्रदेखि थप तीनवटा कक्षामा स्थानीय पाठ्यक्रम लागू गरेको छ । कक्षा एकदेखि १२ सम्म स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरेको नगरपालिकाले चालू शैक्षिक सत्रबाट कक्षा तीन, सात र नौका लागि पाठ्यक्रम तयार गरी कार्यान्वयनमा ल्याएको हो ।
स्थानीय विषयवस्तुलाई समेटेर नगरपालिका अन्तर्गतका सबै विद्यालयमा कक्षा एकदेखि १२ सम्म स्थानीय पाठ्यक्रम लागू गर्ने नगरपालिकाको तयारी छ । स्थानीय पाठ्यक्रम सुरु गरेको पहिलो वर्ष कक्षा एक र ११ को पाठ्यक्रम कार्यन्वयनमा ल्याएको नगरपालिकाले गत वर्ष कक्षा २, ६ र १२ मा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको थियो ।
स्थानीय आवश्यकता, सम्भावना र स्थानीय स्रोत, साधन तथा स्थानीय परिवेश अनुकूलका स्थानीय विषयवस्तु समेटेर पाठ्यक्रम निर्माण गरिएको नगरपालिकाले जनाएको छ । शिक्षा शाखाका अनुसार पाठ्यक्रममा पालिकाभित्रको ऐतिहासिक तथा सांस्कृतिक र भौगोलिक पहिचान, वनजंगल, जडिबुटी, कृषि, जातिगत विविधता आदिलाई समेटिएको छ ।

हालसम्म आठ वटा कक्षाका लागि पाठ्यक्रम निर्माणको काम सम्पन्न भई पालिकाभित्रका ५० विद्यालयमा अध्यापन सुरु गरिएको शिक्षा शाखाकी कर्मचारी कविता आचार्यले बताइन् । पाठ्यक्रम तयार भएसँगै सम्बन्धित विद्यालयका प्रधानाध्यापक, शिक्षक प्रतिनिधिलगायत सरोकारवालाको सहभागितामा सुझाव संकलन गरी सोही आधारमा विषयलाई पनि प्राथमिकता दिएको आचार्यको भनाइ छ ।
नगरपालिकाले स्थानीय पाठ्यक्रममा उत्पादन र जीविकोपार्जनको विषयलाई मुख्य प्राथमिकता दिएको जनाएको छ । पाठ्यक्रममा स्थानीय स्रोत साधनको परिचालन, जीविकोपार्जनको सम्भावना तथा धर्म संस्कृतिको प्रवद्र्धन, सामाजिक, राजनीतिक क्षेत्रमा योगदान दिएका व्यक्तिका बारेमा विषयवस्तु समावेश गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकालाई समृद्ध पालिका बनाउन पाठ्यक्रम निर्माणले पनि सहयोग पुग्ने अपेक्षा गरेको नगरप्रमुख रमेशकुमार पाण्डेले बताए ।
स्थानीय पाठ्यक्रम गाउँपालिकाको विकासका लागि महत्वपूर्ण आधार बन्ने सरोकारवालाले बताएका छन् । स्थानीय पाठ्यक्रम स्थानीय सरोकारवालाले स्थानीय परिस्थिति र आवश्यकताको आधारमा निर्माण गरिने भएकाले पनि यो स्थानीय विकासका लागि आधार हुनसक्ने सरोकारवालाको विश्वास छ । विज्ञ र स्थानीय सरोकारवालाको समन्वयमा तयार भएको स्थानीय पाठ्यक्रमले मध्यनेपाल नगरपालिकाका साथै समग्र लमजुङको ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, सामाजिक तथा कृषि, पर्यटनलगायत चिनारीमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।