Logo

युवालाई उत्पादनसँग जोड्ने आवश्यक : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विकासका लागि युवा जनशक्तिलाई उत्पादनसँग जोड्नु पर्ने बताएका छन् ।
बढ्दो युवा पलायनलाई रोक्न, बेरोजगारीको समस्या अन्त्य गर्न, बाँझो जग्गाको उपभोग गर्नुका साथै मुलुकको आर्थिक विकासका लागि युवालाई उत्पादनमुखी क्षेत्रसँग जोड्ने नीति निर्माण आजको आवश्यकता रहेको बताए ।
नमुना युवा प्रदेश सभा अभ्यास कार्यक्रमको समापन समारोहमा बोल्दै मुख्यमन्त्री शाहीले भने, “युवा शसक्तिकरणका लागि विभिन्न क्षामता विकासका कार्यक्रम अघि सारेका छौं । संसदीय प्रणालीका विषयमा सिक्नु पनि प्रदेशको नीति निर्माणमा युवाको पहुँच वृद्धि हुनु हो । तर उत्पादन संग युवालाई नजोडी कर्णालीमा समृद्धि सम्भव छैन ।”

“कर्णालीको समृद्धीका लागि ६ वटा ‘ब’ को विकासलाई मुख्य प्रथामिकता दिएको छु” मुख्यमन्त्री शाहीले थपे, “बाटो, बिजुली, वन, बजार, विचार, व्यवस्थापन ६ वटा ‘ब’ को विकास नभई कर्णाली समृद्ध हुन्न । माथि उल्लेखीत सबै क्षेत्रमा युवाको अर्थपुर्ण सहभगिता आवश्यक छ । त्यसका लागि युवा आफंै पनि जागरुक हुन जरुरी छ ।”
कर्णालीमा अहिले पनि ८२ हजार हेक्टर जमिन बाँझो छ । साविक कर्णालीको ५ जिल्लामा ३० हजार हेक्टर जमिन बाँझो छ । तर बढ्दो युवा पलायनलाई रोक्न उत्पादनमुखी नीति बजेट ल्याउनुको विकल्प छैन । विकास निर्माणसँगै उत्पादनमुखी नीति बनाउँदा युवाको पनि सभागितालाई बढाउन सरकार गम्भीर रहेको मुख्यमन्त्री शाहीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्