भन्सारका समस्या समाधान गर्न कूटनीतिक पहल गर्छु : मन्त्री बडू «

भन्सारका समस्या समाधान गर्न कूटनीतिक पहल गर्छु : मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुले डस्टी कार्गोको भण्डारण तथा आयात सम्बन्धी समस्या समाधानका लागि भारतीय निकायसँग छलफल गरेर समस्याको समाधान गर्ने बताएका छन् ।
वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल नेतृत्वको टोलीसँग भएको भेटमा मन्त्री बडूले नेपाल तथा भारतका सम्बन्धित निकायहरुसँगको सहकार्यमा समाधान गर्न पहल गर्ने आश्वासन दिए । उनले एकीकृत जाँचचौकी तथा सुख्खा बन्दरगाहलाई अझ व्यवस्थित रुपमा सञ्चालन गर्न पहल गर्ने र भन्सारमा प्रयोग हुने अनलाई कम्प्यूटर प्रणालीको सर्भरलाई अपग्रेड गरी समस्या समाधानको लागि सम्बन्धित निकायसँग समन्वय गर्ने बताए ।
संघका वरिष्ठ उपाध्यक्ष अग्रवालले नेपालका लागि आयात भई रक्सौल रेल्वे साइडिङमा थुप्रिने धुलोजन्य औद्योगिक कच्चा पदार्थहरु ल्याण्ड कस्टम रक्सौल–मैत्री पुल हुँदै आयात हुँदै आएकोमा ल्याण्ड कस्टम रक्सौलले रुट परिवर्तन गर्दा व्यापारीहरु मर्कामा परेको बताए । उनले जुलाई मसान्तसम्म नेपालका लागि आयात हुने धुलोजन्य औद्योगिक कच्चा पदार्थहरुको आयातको लागि नेपाली आयातकर्ताहरुले ल्याण्ड कस्टम, रक्सौल – मैत्री पुलको बाटो प्रयोग गर्न पाउने भए पनि त्यस पश्चात् रक्सौल मुख्य बजार – लक्ष्मीपुर – एकीकृत जाँचचौकीकै बाटो प्रयोग गर्नु पर्ने बाध्यात्मक अवस्था सिर्जना हुन सक्ने भन्दै मन्त्री बडूको ध्यानाकर्षण गराए ।

उनले वीरगञ्जमा सञ्चालित सुख्खा बन्दरगाहको भौतिक पूर्वाधार तथा संरचनागत विकासलाई प्राथमिकतामा राखिनुपर्ने, भारत सरकारले गहुँको निर्यातमा लगाएको रोक हटाउनुपर्ने बताए । त्यसैगरी डस्टी कार्गोको व्यवस्थापन एवम् भण्डारणको लागि एउटा छुट्टै पोर्ट निर्माण गर्नुपर्ने, तत्कालका लागि सुख्खा बन्दरगाह र एकीकृत जाँचचौकीको बीचमा रहेको नेपाल सरकारको स्वामित्वमा रहेको ६२ बिघा जमिनलाई डस्टी कार्गोको भण्डारणका लागि प्रयोग गर्नुपर्ने माग पनि सरकारसँग राखेका छन् ।
यसैगरी एकीकृत जाँचचौकीलाई अझ व्यवस्थित तुल्याउनुपर्ने, भारत हुँदै विदेश यात्राको लागि चाहिने “नो अब्जेक्शन पत्र” परराष्ट्र मन्त्रालयले जारी गर्दै आएकोमा सो अधिकार प्रत्यायोजन गरी कुनै स्थानीय कार्यालयलाई दिनुपर्ने र भन्सारमा प्रयोग हुने अनलाइन कम्प्यूटर प्रणालीको सर्भरमा सधैं समस्या आउने गरेकाले सोलाई सुधार गर्नुपर्ने लगायतको सुझाव पनि उनले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्