तेस्रो मुलुकबाट आयात हुने माछा र भुरामा कमी «

तेस्रो मुलुकबाट आयात हुने माछा र भुरामा कमी

Fish vendors waiting customers at the Kalimati Fruits and Vegetables Market in Kathmandu, on Wednesday, November 01, 2017. Photo: RSS

झापालगायत नेपालका अन्य जिल्लामा व्यावसायिक रूपमै माछा उत्पादन सुरु भएपछि भारतसहित तेस्रो मुलुकबाट आयात हुने माछा तथा माछाका भुरामा कमी आएको छ ।
मेची भन्सार कार्यालय काँकडभिट्टा नाका भएर नेपालले चालु आर्थिक वर्ष २०७८/०७९ को जेठ महिनासम्ममा विदेशबाट ३ लाख ७२ हजार ५ सय ६४ रुपैयाँ बराबरको ३ हजार ४ सय १९ केजी माछा आयात गरेको हो । गत आर्थिक वर्ष २०७७/०७८ मा मेची भन्सार कार्यालय काँकडभिट्टा नाका भएर नेपालले विदेशबाट ३२ लाख २ हजार २ सय ६५ रुपैयाँ मूल्य बराबरको ११ लाख ८ हजार २ सय ८० केजी माछा आयात गरेको थियो ।
त्यस्तै आर्थिक वर्ष २०७६/०७७ मा मेची भन्सार कार्यालय काँकडभिट्टा नाका भएर नेपालले विदेशबाट ८५ लाख १७ हजार २ सय ८२ रुपैयाँ मूल्य बराबरको ३ लाख २३ हजार ९ सय ११ केजी माछा आयात गरेको थियो । झापालगायत नेपालका अन्य जिल्लामा व्यावसायिक रूपमै माछा उत्पादन सुरु भएपछि भारतसहित तेस्रो मुलुकबाट आयात हुने माछा र माछाका भुरामा कमी आएको मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना प्रविधिका कम्प्युटर अपरेटर अरुण शाहले बताए ।
काँकडभिट्टा नाका भएर विशेषतः भारतको विभिन्न शहरबाट माछा आयात हुने गरेको र सोही नाका हुँदै आयात हुने माछा झापा, इलाम, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लामा खपत हुने गरेको उनले बताए । सरकारले व्यावसायिक माछापालनका लागि किसानलाई रकम अनुदान दिन थालेपछि झापालगायत अन्य जिल्लामा व्यावसायिक माछापालनतर्फ किसानको आर्कषण बढे लगत्तै विदेशी माछाको आयातमा कमी आएको उनले बताए ।


बुधबार, नोभेम्बर ०१, २०१७ मा काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा ग्राहकलाई पर्खिरहेका माछा बिक्रेताहरू। फोटो: आरएसएस

केही वर्ष अघिसम्म झापालगायत नेपालका थुप्रै बजारमा भारतसहित तेस्रो मुलुकबाट आयात गरिएका माछा बिक्री भएपनि अहिले स्वदेशी माछाले नै नेपाली बजार र नेपालीको भान्सा ओगटेको माछा व्यवसायी रामदुलारी मल्लाहले बताए । विदेशबाट माछा आयात बन्द गर्न सरकारले कृषकलाई माछापालनमा अनुदान उपलब्ध गराएर व्यावसायिक रूपमा माछा पाल्ने किसानलाई पोखरी खन्न अनुदान दिएका कारण व्यावसायिक माछा पालनमा किसानको आर्कषण बढेपछि तथा स्थानीय स्तरमा माछा उत्पादन भएपछि नेपालीहरुको भान्सामा समेत स्वदेशी माछा नै पुग्न थालेको उनले बताए । आफ्नै शहर बजारमा ताजा माछा उपलब्ध भएपछि भारतीय माछा बिक्री नहुने उनी बताउँछन् ।
सरकारले एक हेक्टर क्षेत्रफलमा माछापालन गर्दै आएका किसानलाई तीन लाख रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना प्रविधिका कम्प्यूटर अपरेटर अरुण शाहले बताए । त्यस्तै भद्रपुर, गौरीगञ्जसहित इलामको पशुपतिनगर सीमा नाकाबाट भित्रिने माछा आयातमा समेत कमी आएको पशु क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ ।
क्वारेन्टाइन ऐनअनुसार मात्र आयात गर्न अनुमति दिने प्रावधान बनेसँगै यसले पनि माछा आयात घटेको हुनसक्ने पशु क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका मुकेशकुमार सिंहले बताए । माछा व्यवसायीले सम्बन्धित मुलुकबाट स्वस्थताको प्रमाणपत्रसहित माछा आयात गर्नुपर्ने कानुनी व्यवस्था रहेको र स्वस्थताको प्रमाणपत्रसहित माछा आयात गर्न नसकेपछि व्यापारी स्वतः माछा व्यवसायबाट पलायन भएको उनले बताए । नेपाली बजारमा स्थानीयस्तरमै उत्पादन भएका ताजा र स्वस्थ्य माछा उपलब्ध भएपछि विदेशबाट आयातित माछा खान छाडेको स्थानीय केदार ढुंगाना बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्