‘सांसदहरुलाई वैदेशिक लगानीका विषयमा दीक्षित गर्नुपर्छ’ «

‘सांसदहरुलाई वैदेशिक लगानीका विषयमा दीक्षित गर्नुपर्छ’

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले सांसदहरुलाई वैदेशिक लगानीका विषयमा दीक्षित गर्नुपर्ने बताएका छन् ।
पूर्वगभर्नर क्षेत्रीले सांसदहरुलाई वैदेशिक लगानीका विषयमा दीक्षित गर्नसके मुलुकले लक्ष्य निर्धारणअनुसार वैदेशिक स्रोत र साधन परिचालन गर्न सक्ने दाबी गरे । पूर्वगभर्नर क्षेत्रीले एमसीसी नेपालमा कार्यान्वयन गर्ने विषयमा सबैसँग एमसीसी लागू गर्ने शर्तका विषयमा जानकारी नहुँदा अन्तरबिरोध भएको बताए ।
“एमसीसी ल्याउने की नल्याउने भन्ने विषयमा हामी नेपाली धेरै बाँडियौं । एक थरीले एमसीसी भन्दा गम्भिर किसिमका शर्तहरु मानेर परियोजनाहरु सञ्चालन गरेका छौं भन्ने अर्को थरीले यो भयो भने सर्वनाश हुनसक्छ भन्ने अवस्था थियो” उनले भने, “यस्ता कुराहरुलाई लिएर संसदहरुलाई राम्रोसँग दीक्षित गर्न सक्नुपर्छ ।”

उनले गरिवी निवारणको लागि सरकार इमान्दार नभएसम्म सधैँ विदशीको आश गर्नुपर्ने अवस्था रहने बताए । पूर्वगभर्नर क्षेत्रीले मुलुक र जनतालाई केन्द्रविन्दुमा राखेर सांसददेखि जनता सबैले योगदान गरे देश बिस्तारै आत्मनिर्भर हुने बताए । क्षेत्रीले सरकार इमान्दार भएर आत्मनिर्भर बनेपछि मात्रै विदेशीहरु नेपालमा अवसर खोज्दै आउने दाबी गरे ।
पूर्वगभर्नर क्षेत्रीले नेपालमा अहिले वैदेशिक साहयताका रुपमा आएको पैसा खर्च गर्न नसकेर विदेशमा नै फिर्ता गइरहेको बताए । उनले नेपालमा विदेशबाट आएको सहायतामा २ प्रतिशत मात्रै खर्च हुने र बाँकी विदेशमा नै फिर्ता भइरहेको बताए । वैदेशिक अनुदान नेपालमा नै खर्च गर्नको निमित्त इमान्दारीता, मेहनत र कार्यान्वयन गर्नसक्ने परियोजना छनोट गरी क्षमता विकास गर्न आवश्यक रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्