निर्यातमा आधा हिस्सा ओगट्ने वस्तुकै निकासी घट्यो

चालू आर्थिक वर्षमा नेपालको निकासी व्यापारमा झन्डै आधा हिस्सा रहेको वनस्पति घ्यू र तेलको निकासी अत्यधिक घटेको छ । आर्थिक वर्षको १० महिनासम्म उत्साहजनक निकासी रहेको भटमासको तेल, पाम आयल र सनफ्लावर आयलको निकासी ११ औं महिना जेठमा भने न्यूनमात्र रहेको तथ्यांक छ । भारतले भन्सार शून्य बनाएपछि तेस्रो मुलुकबाट नेपालमा आायत भई प्रशोधनपश्चात् भारत निकासी हुने वनस्पति घ्यू तथा तेलको निर्यात घटेको हो ।
नेपालको कुल निकासीमा भटमासको तेलको हिस्सा २५.०६ प्रतिशत छ भने पाम आयलको २०.४१ प्रतिशत तथा सनफ्लावर आयलको २.४ प्रतिशत रहेको छ । यी तीन वस्तुको मात्र निकासीमा हिस्सा करिब ४८ प्रतिशत रहेको तथ्यांकले देखाउँछ । भारत सरकारको परिवर्तित भन्सार दरको मारमा यी उद्योग परेका हुन् । भन्सार विभागका अनुसार वैशाखसम्म ४५ अर्ब ३५ करोड २१ लाख रुपैयाँको निकासी भएको भटमासको तेल (सोयाबिन आयल) जेठमा भने १ अर्ब २३ करोड ४३ लाख रुपैयाँमात्रैको निकासी भएको छ । जेठसम्म नेपालबाट भारततर्फ ४६ अर्ब ५८ करोड ७० लाख रुपैयाँ बराबरको सोयाबिन आयल निकासी भएको छ । वैशाखसम्म १८ करोड ६३ लाख २० हजार ३ सय ३९ लिटर सोयाबिन आयल निकासी भएकोमा जेठमा ३९ लाख १८ हजार २९३ लिटरमात्रै निकासी भएको छ ।

विभागका अनुसार नेपालबाट भारततर्फ निकासी हुने दोस्रो मुख्य वस्तु पाम आयल हो । पाम आयल मलेसिया, थाइल्यान्ड तथा इन्डोनेसिया लगायतका मुलुकबाट नेपाल भित्रिँदै प्रशोधनपश्चात् भारतीय बजारसम्म पुग्छ । जेठ मसान्तसम्म नेपालबाट भारततर्फ ३७ अर्ब ९४ करोड ७३ लाख रुपैयाँ बराबरको १८ करोड ९५ लाख ६१ हजार ४४६ लिटर पाम आयल निकासी भएको छ । वैशाखको तुलनामा यो निकासी परिमाणका हिसाबले ५६ लाख ७९ हजार २६० लिटरमात्रै बढी हो भने निर्यात रकमका हिसाबले १ अर्ब १६ करोड ५३ लाख रुपैयाँ मात्रले बढी हो । वैशाखसम्ममा ३७ अर्ब ९४ करोड ७३ लाख रुपैयाँ बराबरको १८ करोड ३८ लाख ८२ हजार ८६ लिटर पाम आयल निकासी भएको तथ्यांक छ ।
भारततर्फ यो अवधिमा सनफ्लावर आयल निकासीमा समेत उल्लेख्य कमी आएको छ । भन्सार विभागको तथ्यांकअनुसार वैशाखसम्म भारततर्फ ४ अर्ब ३० करोड ७७ लाख रुपैयाँ मूल्य बराबरका २ करोड १४ लाख ७४ हजार १ सय ७० लिटर सनफ्लावर आयल निकासी भएकोमा जेठमा भने १५ करोड ७२ लाख ९६ हजार रुपैयाँ बराबरको ७ लाख २८ हजार ७ सय ९१ लिटर मात्र निकासी भएको छ । यससँगै जेठ मसान्तसम्म नेपालले ४ अर्ब ४६ करोड ५० लाख ७६ हजार रुपैयाँ बराबरको २ करोड २२ लाख २ हजार ९ सय ६१ लिटर सनफ्लावर आयल निकासी गरेको विभागको तथ्यांकमा उल्लेख छ ।
नेपाल वनस्पति घ्यू तथा तेल उत्पादक संघका अध्यक्ष सन्दीप अग्रवाल सोयाबिन आयल, पाम आयल र सनफ्लावर आयलको मूल्य नेपालभन्दा भारतमै सस्तो पर्न थालेपछि निकासी घटेको बताउँछन् । भारतले दुई महिनाअघि तेलको कच्चा पदार्थ आयातमा भन्सारदर शून्य र जीएसटी ५ प्रतिशतमात्र लगाएको छ । अध्यक्ष अग्रवालका अनुसार नेपालमा कच्चा पदार्थ आयातमा १० प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट लाग्छ । “अब निकासी हैन, भारतबाट नेपालमा चोरीपैठारी हुन थालिसकेको छ,” अध्यक्ष अग्रवाल भन्छन्, “नेपालका चाउचाउ बिस्कुट जस्ता उद्योगलाई समेत भारतबाटै तेल ल्याउन बजेटले बाटो खोलिदिएकाले स्वदेशी उद्योगहरु सबैजसो बन्द हुने स्थितिमा छन् ।” व्यवसायीहरुका अनुसार हाल सीमा क्षेत्रबाट भारतीय तेल आउन थालेको छ ।