दाइजो प्रथा कहिलेसम्म ? «

दाइजो प्रथा कहिलेसम्म ?

नेपाली समाजको सबैभन्दा खराब विकृतिमध्ये दाइजो प्रथा पनि एक हो, जुन दक्षिण एसियाली देशहरूमा व्यापक रूपमा व्याप्त मात्रामा छ । दाइजो प्रथाका कारण अत्यन्त नराम्रोसँग नेपालको तराई–मधेस क्षेत्रको सामाजिक–आर्थिक संरचनालाई ठूलो क्षति पु¥याएको छ । विवाहको समयमा बेहुलीतर्फबाट बेहुला वा बेहुलाका परिवारलाई दिने नगद तथा जिन्सी सरसामानलाई नै दाइजो भनिन्छ । यसलाई तराई तथा मधेसतिर दहेज पनि भनिन्छ । सामान्यतः दैनिक जीवनमा चाहिने घरेलु सामानहरू जस्तै— फर्निचर, लत्ताकपडाका सामग्रीहरू दाइजो दिइन्छ । सुनचाँदी हीरामोतीका महँगा गरगहनाहरू पनि दाइजोमा पर्छन् । समयक्रमसँगै आधुनिक सुविधाका सामग्रीहरू जस्तै— टिभी, मोटरसाइकल, कम्प्युटर, कारजस्ता सामग्रीहरू पनि दाइजोको रूपमा दिने गरेको पाइन्छ । सामान्यतः दाइजोलाई बेहुलीतर्फबाट बेहुलालाई विवाह गरेर जाँदा दिइएका उपहारको रूपमा अत्यन्त हलुका ढंगले लिएको मात्र पाइन्छ । सतहमा त्यस्तो देखिए पनि गहिराइ भने अत्यन्त भयानक र दर्दनाक छ । किनकि दाइजो सामान्य रूपमा उपहारजस्तो बुझिन्छ । उपहार त दिए पनि हुन्छ र नदिए पनि हुन्छ । तर, दाइजो त सदियौँदेखि हाम्रो समाजमा एक कुप्रथाको रूपमा जरा गाडेको छ ।
दाइजो एक प्रथा भएकाले यो बाध्यात्मक छ । यसले समाजमा असामनता, उत्पीडन, हत्या तथा हिंसाजस्ता जघन्य सामाजिक अपराधहरूलाई मलजल गरिरहेको छ । दिनहुँजस्तो हाम्रो समाजमा घट्ने महिला हिंसा, हत्या, आत्महत्याजस्ता घटनाहरू यसका ज्वलन्त प्रमाणहरू हुन् । सम्बन्धित अनुसन्धानहरूले पुष्टि गरेको छ । दाइजो प्रथाले गरिब मानिसहरूलाई सबैभन्दा बढी असर गर्छ, किनभने तिनीहरूसँग सीमित मात्रामा स्रोतहरू हुन्छन् । नेपालमा अशिक्षित र लैङ्गिक विभेद भएकाले तराई–मधेस र ग्रामीण क्षेत्र सबैभन्दा बढी प्रभावित पार्छ । दक्षिणपूर्वी एसियाका धेरै भागहरूमा जस्तै नेपालमा, बेहुलीको परिवारलाई दाइजो दिनुपर्ने चलन गैरकानुनी छ, तर यसको चलन सामान्य छ ।
दाइजो महिलाविरुद्धको आर्थिक शोषणको औजार बनेको छ र दाइजोसम्बन्धी हत्याको संख्या बढ्दै गएको देखिए तापनि जबर्जस्ती दाइजो सम्झौता नेपालमा नाममात्र दण्डनीय अपराध मात्रै हो र धेरैजसो दण्डहीनताका साथ गरिन्छ । नेपालले अधिकांश ठूला मानवअधिकार सन्धिहरू स्वीकार गरेको छ, तर धेरै कानुनी प्रावधान र नीतिहरू अझै पनि महिलाविरुद्ध भेदभावपूर्ण छन् । तसर्थ दाइजोले कस्ता–कस्ता समस्या एंव विसंगतिहरू निम्त्याउँछ र यसको सामाधानका लागि के गर्नुपर्छ ? भन्नेजस्ता कुरामा आमनागरिक सचेत हुनु जरुरी छ ।
विवाहलाई हाम्रो समाजले पवित्र सांस्कृतिक तथा धार्मिक मान्यता प्रदान गरेको छ । यसलाई पुण्यसहित निकालेर गरिन्छ । यो मान्यताभित्र दाइजो दिनुपर्छ भन्नेबारे कहीँ–कतै पनि उल्लेख गरिएको छैन । तथापि एक पवित्र विवाह मण्डप दाइजोका लागि राखिएका रंगीचंगी भौतिक सामग्रीहरूले भरिएको हुन्छ । यसरी सार्वजनिक ठाउँमा सबैलाई देखाउनका लागि राखिनुलाई दाइजो एक सामाजिक देखासिकी एवं प्रतिष्ठाको विषय रहेको प्रस्ट हुन्छ । अझ भन्नुपर्दा नेपालको तराई–मधेसका कतिपय ठाउँहरूमा त केटाको पढाइ र जागिरलाई दाइजोको मानकका रूपमा पनि लिइएको पाइन्छ । जति धेरै पढाइ वा जागिरको कमाइ, उति नै धेरै दाइजो ! सामान्यतः शिक्षालाई सामाजिक समस्या विवरणका लागि द्योतकका रूपमा लिइन्छ । तसर्थ शिक्षित परिवारभित्र पनि दाइजो प्रथालाई प्रश्रय दिइनाले समाजमा यसले विकराल रूप लिएको छ । दाइजो प्रथाका नकारात्मक पाटा धेरै छन्, यसको प्रभाव बेहुली पक्षलाई पर्न जान्छ, जुन विवाहको मगनीको बेलादेखि नै सुरु हुन्छ । किनकि अधिकांश विवाहमा बेहुली पक्षले बेहुला पक्षलाई केके दिनुपर्छ भनेर छिनोफानो हुन्छ । सर्त पूरा भएमात्र विवाह निश्चित हुन्छ । कतिपय अवस्थामा विवाहअघि नै नगद आदि दाइजो दिइसक्नुपर्ने हुन्छ । सर्त पूरा नहुँदा विवाह नै भाँडिएका घटना पनि बेलाबेलामा बाहिर आइरहन्छन् । यसर्थ दाइजो बेहुली पक्षलाई आर्थिक तथा मानसिक रूपमा अत्यन्त बोझिलो साबित हुन जान्छ ।

प्रतिक्रिया दिनुहोस्