विश्व यात्रा र पर्यटन सूचकांकमा नेपाल «

विश्व यात्रा र पर्यटन सूचकांकमा नेपाल

स्वीजरल्यान्डको डाभोसमा रहेको विश्व आर्थिक फोरम यात्रा र पर्यटन विकासले हरेक दुई–दुई वर्षमा प्रकाशन गर्ने गरेको यात्रा र पर्यटन विकाससम्बन्धी सूचकांकमा १ सय ४० देशहरू समावेश गरिएका छन् । यसले देशहरूको पर्यटनसम्बन्धी नीति र परिवेशहरूको व्याख्या गरेका छन्, जसले देशमा पर्यटन क्षेत्रको दिगो विकासमात्रै होइन कि देशका प्रतिस्पर्धी क्षमताको पनि विकास गर्न सहयोग पु¥याओस् । यसमा १४ वटा सूचकहरू समावेश गरिएका छन् र ती सूचकांकहरूमा देशहरूले प्राप्त गरेका अंकहरूका आधारमा देशहरूको स्तरीयकरण गरिएको हुन्छ । यी सूचकहरूलाई बृहत् रूपमा पाँचवटा क्षेत्रहरूमा बाँडिएको हुन्छ । इनेबलिड वातावरण वा परिवेश, देशको पर्यटन क्षेत्रको विकाससम्बन्धी नीतिहरू, देशमा उपलब्ध आधारशिलाहरू, पर्यटन र यात्राको माग सिर्जना गर्ने तŒवहरू र यात्रा र पर्यटन विकासको दिगोपनाजस्ता विषय क्षेत्रहरूमा विभाजन गरिएको छ । इनेबलिड परिवेशमा व्यावसायिक वातावरण, शान्ति र सुरक्षा, स्वास्थ्य र स्वस्थता, मानवीय संसाधन र श्रम व्यवस्थापन र सूचना प्रविधिको तयारी वा पर्याप्तता पर्छ भने यात्रा र पर्यटन नीति तथा पर्यटन र यात्राअनुकूल वातावरणमा पर्यटन र यात्रालाई नीतिहरूमा दिइएको प्राथमिकता, अन्तर्राष्ट्रिय रूपमा देशले अपनाएको खुलापन र मूल्य प्रतिस्पर्धा पर्छ । आधारशिला विषयअन्तर्गत हवाई यातायात, सडक यातायात र बन्दरगाहहरूको अवस्था र पर्यटकहरूले प्राप्त गर्ने सेवाहरू समावेश गरिएका छन् । यात्रा र पर्यटनको माग सिर्जना गर्ने संवाहकमा प्राकृतिक स्रोतहरू, सांस्कृतिक स्रोतहरू, फुर्सदको समयमा गर्ने कार्यहरूबाहेकका स्रोतहरू समावेश गरिएका छन् ।
गत मे महिनामा प्रकाशित यो सूचकांकमा जापान ५ अंकसहित सबभन्दा उपल्लो स्थानमा रहेको छ भने २.५ सहित अफ्रिकी मुलुक चाड सबभन्दा तल्लो स्थानमा रहेको छ । देशहरूले प्राप्त गर्ने कुल पूर्णांक–७ रहेको छ । भियतनामले सबैभन्दा राम्रो प्रगति भएको देखाइएको छ भने त्यसपछि मलेसिया र इन्डोनेसियाले गरेको प्रगतिलाई पनि प्रशंसा गरिएको छ । दक्षिण एसियामा भुटान र माल्दिभ्सलाई समावेश नगर्दा नेपालको स्थान पुछारमा रहेको पाइन्छ । १ सय ४० वटा देश समावेश भएको यो सूचकांकमा नेपालको स्थान १ सय २ मा रहेको छ । नेपालले कुल पूर्णांकमा ३.३ अंक प्राप्त गर्न सफल भएको देखिन्छ । दक्षिण एसियाली क्षेत्रमा सबैभन्दा अगाडि भारत रहेको देखिन्छ, जसले ४.२ अंक प्राप्त गरी ५४ स्थानमा रहेको छ र यो सन् २०१९ को तुलनामा आठ स्थान तल झरेको छ । पाकिस्तान ३.६ अंकसहित ६३ स्थानमा रहेको छ भने श्रीलंका ७४ स्थानमा र बंगलादेश नेपालको हाराहारीमा १ सय स्थानमा रहेको छ । छिमेकी देश चीन ४.९ अंकसहित १२ स्थानमा रहन सफल भएको छ । नेपालको सन् २०१५ देखि नै सापेक्षिक स्थानमा खासै परिवर्तन आएको पाइँदैन ।
१४ वटा सूचकहरूमा अन्तर्राष्ट्रिय खुलापन, सूचना प्रविधिको तयारी, स्वास्थ्य सुरक्षा, व्यावसायिक वातावरण, हवाई यातायात र बन्दरगाह सेवा, पर्यटकहरूलाई उपलब्ध गराउने सेवाहरूको आधारशिला र सांस्कृतिक स्रोत र यात्रामा नेपालको स्थान सय स्थानभन्दा माथि नै रहेका देखिन्छ । यिनीहरूमा पनि वातावरण दिगोपनामा सबभन्दा नराम्रो अवस्था रहेको पाइन्छ । मूल्य प्रतिस्पर्धामा नेपालको स्थान सबभन्दा राम्रो देखिएको छ र यसको मूल कारण नेपालमा तुलनात्मक रूपमा पर्यटकहरूले उपभोग गर्ने वस्तु तथा सेवाहरू सस्तो हुनु हो । अर्को नेपालको राम्रो स्थान देखिएको पक्ष भनेको प्राकृतिक स्रोतहरूमा रहेको छ । पर्यटन उद्योगलाई दिइएको प्राथमिकतामा नेपाल ४८ औं स्थानमा रहेका देखिन्छ । विश्वको तुलनामा मात्र होइन कि दक्षिण एसियाकै तुलनामा नेपालले धेरै पक्षहरूमा प्रगति गर्नुपर्ने देखिएको छ ।
पर्यटकहरूलाई प्रत्यक्ष रूपमा सम्पर्क कायम गरी सेवा दिनुपर्ने पर्यटन उद्योग कोभिड–१९ संक्रमणको कारणले विश्वभरि नै धराशायी भएको थियो । विगत दुई वर्षमा पटक–पटक कोभिडको कारणले गर्दा जुन लकडाउन गरिएको थियो, यसले यो उद्योग उठ्नै नसक्ने गरी धाराशायी बनेको छ । भ्याक्सिन लगाउने कार्यमा भएको प्रगतिको कारणले अहिले कोभिड नियन्त्रणमा आएको छ र यसले गर्दा यो उद्योग फेरि सलबलाउन थालेको छ । श्रीलंकाको अर्थव्यवस्था धराशायी हुनुमा पर्यटन उद्योगमा परेको नकारात्मक असर पनि हो । विश्वभरि चलायमान हुने पर्यटक संख्यामध्ये ज्यादै थोरै पर्यटकमात्र नेपाल भित्रिने गरेको पाइन्छ । अर्थतन्त्रको एक महŒवपूर्ण संवाहक हुँदाहुँदै पनि यसबाट अर्थव्यवस्थामा हुनुपर्ने योगदान भएको पाइँदैन । पर्यटन उद्योगले राष्ट्रिय अर्थतन्त्रमा पु¥याउने गरेको योगदानलाई विश्लेषण गर्दा ज्यादै न्यूनतम स्तरमा रहेका पाइन्छ ।
अहिले विश्वका उदीयमान अर्थतन्त्र भएका दुईवटा देशहरू चीन र भारतबाट पर्यटकहरू तान्न विश्वभरि नै होड चलेको छ । हामी यी दुई देशको बीचमा रहेको हुनाले यो हाम्रो अर्को तुलनात्मक लाभको क्षेत्र बनेको छ । कोभिड–१९ को संक्रमणअगाडिको अवस्थामा जापानको पर्यटन उद्योगसमेत चीनका पर्यटकहरूले धानेको थियो, किनभने जापानमा आधाभन्दा बढी पर्यटकहरू चीनबाट आउने गथ्र्याे । सन् २०१५÷२०१६ तिर स्पेनको पर्यटन उद्योगमा पनि यी चीन र भारतीय पर्यटकहरूको योगदान धेरै रहेको पाइन्छ । सूचना प्रविधिमा आएको परिवर्तनले अब पर्यटकको रुचि र प्राथमिकता पनि परिवर्तन आएको छ ।
इजरायली लेखक एवं इतिहासकार युभेल हरारीका अनुसार अब अमेरिकी पर्यटकहरूको रुचि परम्परागत फर्निचर र लुगामा भन्दा वास्तविक यात्रा, रेस्टुरेन्ट, खेल र भर्चुअल रूपमा प्राप्त हुने सुविधाहरू जसले विकास गर्न सक्छ उसले बढी पर्यटकहरू तान्न सक्छ । अर्को शब्दमा भन्नुपर्दा जुन देशले आफूलाई प्रविधि, यात्रा र आनन्दको केन्द्रबिन्दु बनाउन सक्छ उसले बढी पर्यटक आकर्षित गर्न सक्छ । यो कुरा अमेरिकी पर्यटकहरूको हकमा मात्र होइन कि अरू देशका पर्यटकहरूको हकमा पनि लागू हुन्छ ।
अहिले धेरै विषयहरूमा संयुक्त राष्ट्र संघका निकायहरू, अमेरिका र युरोपका विश्व विद्यालयहरू र थिंक ट्यांकहरूले यस्ता सर्वेक्षणहरू गरी देशहरूको सापेक्षिक स्थान निर्धारण गर्ने परम्परा बसेको पाइन्छ । यस्ता सर्वेक्षणहरूले नीति निर्माताहरूलाई दुईवटा सन्देशहरू प्रवाह गरिरहेको हुन्छ । पहिलो हो, देशको हरेक विषयमा अन्तर्राष्ट्रिय रूपमा सापेक्षिक स्थिति के छ भन्ने कुरा र अर्को हो, सरकारले त्यस्ता क्षेत्रहरूमा चाल्दै आएका कदमहरूको पर्याप्तताका बारेमा समीक्षा र आगामी दिनहरूमा चाल्नुपर्ने कदमको सम्बन्धमा ज्ञान दिने गर्छ । यस्ता सर्वेक्षणहरूले विश्वस्तरमा मात्र होइन कि क्षेत्रीय स्तरमा समेत सरकारको कार्य प्रगतिको मूल्यांकन गर्ने गर्छ । उदाहरणका रूपमा छिमेकी भारत र चीनले यस्ता सर्वेक्षणहरूमा अग्रस्थान हासिल गरेकै कारण उनीहरू उदीयमान अर्थव्यवस्था भएका देशहरूमा सबभन्दा बढी आर्थिक वृद्धि हासिल गर्ने देशहरूको रूपमा चिनिएका छन् ।
नेपालमा पनि पछिल्ला महिनामा पर्यटक आगमन केहि बढ्न थालेको छ । तर, नेपालले पूर्णखोपयूक्त तथा सुरक्षित गन्तब्यको रुपमा नेपालको प्रचार प्रसार नगरे पर्यटकको संख्गा बढे तापनि त्यसले अर्थतन्त्रमा छिट्टै कुनै उपलब्धी दिन सक्दैन । त्यसैले नेपालले आफना पर्यटक गन्तब्यमा राम्रो प्रचरा प्रसार गरि बढिभन्दा बढि पर्यटक आकर्षित गर्ने, पर्यटन पूर्वाधारमा लगानी बढाएर उनीहरुको नेपाल बसाइ लम्ब्याउने तथा उनीहरुलाई बढि खर्च गर्न प्रोत्साहन गर्न सके नेपालका्े वर्तमान समस्या पनि समाधान उन्मुख हुने तथा पर्यटक आगमनले मुलुकमा नयाँ रोजागारी सिर्जना भइ नेपाली युवा नेपालकै विकासको लागी भन्ने सन्देश पनि जाने थियो । अन्यथा नेपाली युवाले खाडिका मुलुक बनाउने तर नेपाल आफनै विकास लागी भने जनशक्ति पनि नपाइने असंगत समस्या बढ्दो रहन्छ ।

प्रतिक्रिया दिनुहोस्