चट्याङले ८० भेडा मरे, तीन सय बेपत्ता «

चट्याङले ८० भेडा मरे, तीन सय बेपत्ता

पातारासी गाउँपालिकाको बागजाले पाटनमा चट्याङ पर्दा ८० भेडा मरेका छन् । चट्याङ पर्दा पाटनमा राखिएका पाँचजना किसानका ८० भेडा मरेका हुन् भने झण्डै तीन सय भेडा हराएका छन् ।
शुक्रबार दिउँसो ३ बजेतिर बागजाले पाटनमा चट्याङ पर्दा पातारासी गाउँपालिका–४ लुम गाउँका पाँचजना कृषकका ८० भेडा मरेको प्रहरी चौकी डिल्लीचौरका प्रमुख बद्री साउदले बताए । उनका अनुसार बागजाले पाटनमा रहेका जम्मा ३ सय ८० वटा भेडामध्ये ८० वटा भेडा मरेको र बाँकी तीन सय भेडा बेपत्ता छन् ।
जसमा पातारासी–४ लुम निवासी किसान जोरा रोकाया जम्मा ६० भेडामध्ये १८ भेडा मरेका छन् भने ४२ भेडा हराइरहेका छन् । त्यस्तै कृर्षक रामबहादुर रेउलेको १ सय ७० भेडामध्ये २२ भेडा मरेका छन् । १ सय ४८ भेडा बेपत्ता भएको प्रहरी सहायक निरीक्षक साउदले जानकारी दिए ।

साथै, शंकर नेपालीका २० भेडामध्ये १० मरेको र १० भेडा भेटिएका छैनन् । धर्म रेउलेका ६० भेडामध्ये २० मरेको र ४० भेडा हराइरहेका छन् भने लुमकै कृषक मानबहादुर रोकायाका जम्मा ७० भेडामध्ये १० भेडा मरेको र ६० वटा भेडा बेपत्ता छन् ।
प्रहरीको तथ्यांकअनुसार पाँच जना किसानका ३ सय ८० भेडामध्ये ८० भेडा पाटनमै मरेको अवस्थामा भेटिएका छन् भने तीन सय भेडा हराइरहेका छन् ।
अप्ठ्यारो भीरका कारण हराएका भेडाको खोजतलास गर्न कठिनाइ भएको पातारासी गाउँपालिका पशु शाखाका प्राविधिक हरि कामीले बताए । उनका अनुसार किसानले बिमा नगरेका कारण ठूलो क्षति बेहोरेका छन् । खोज तलास जारी छ । ३ सय ८० भेडा मर्दा झण्डै चार करोड बढीको क्षति भएको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्