‘मुलुकको आवश्यकता निजगढ विमानस्थल’ «

‘मुलुकको आवश्यकता निजगढ विमानस्थल’

प्रधानमन्त्री शेरबहादुर देउवाले कम क्षतिमा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा अब दुईवटा रनवेको संरचना निर्माणको काम थाल्ने बताएका छन् ।
सत्तारुढ दलका शीर्ष नेता, मन्त्री, विज्ञसहितको टोली लिएर बाराको प्रस्तावित निजगढ विमानस्थल अवलोकनमा आएका देउवाले सेनाको हेलिकप्टरबाट बिमानस्थलको मध्यबिन्दु टाँगीयाबस्ती निरीक्षण गरेपछि सो कुरा बताएका हुन् । देउवाले ल्याण्ड गर्न नपाएर घण्टौं आकाशमा प्लेन रहने गरेको र कतिपय अवस्थामा भारतका विभिन्न सहरमा प्लेन फर्काउनु परेको अवस्था बताउँदै जसरी पनि निजगढ बिमानस्थल बनाउनु पर्ने बताए । उनले स्थानीय तह प्रदेश सरकारको सहयोग हुनुपर्ने आशय व्यक्त गर्दै निजगढ बिमानस्थल मुलुककै आवश्यकता बनिसकेकाले अब एकजुट भएर लाग्नुको विकल्प नभएको उनको भनाइ थियो ।
मधेस प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिको उपस्थिति रहेको उक्त कार्यक्रममा देउवाले गठबन्धन सरकारको अबको काम निजगढ बिमानस्थल निर्माण रहेकाले विधि र प्रक्रिया पूरा गरेर निजगढ विमानस्थललाई पूर्णता दिइने उनले बताए ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले फास्टट्रयाक बनाउनुको औचित्य निजगढ बिमानस्थलसँंग जोडिएकाले बिमानस्थलको आवश्यकतालाई जोडेर फास्टट्रयाक निर्माण गरिएको बताए ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले काठमाडांैको विकल्प भैरहवा बिमानस्थल हुन नसक्ने बताउँदै वनको काम क्षतिमै निजगढमा २ लेनको रनवे बनाएर सञ्चालन गर्न सबैले सहयोय गर्नुपर्ने बताए ।
संघीय समाजवादीका उपेन्द्र यादव, जनमोर्चा नेपाललगायतले निजगढ बिमानस्थल बनाउने कुरामा आफूहरू कटिबद्ध रहेको बताए ।
सर्वोच्च अदालतको पूर्णपाठले निजगढमा विमानस्थल बन्न रोक नलगाएको निष्कर्षपछि शीर्ष नेताहरूले पहिलो पटक निर्माण क्षेत्रको भ्रमणमा गरेका हुन् । सो अवसरमा अर्थमन्त्री जनार्दन शर्मा, खानेपानीमन्त्री उमाकान्त चौधरी, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलगायतका नेताहरू निजगढ आइपुगेका थिए ।
शीर्ष नेतासहितको सरकारी टोलीले कार्यक्रमअघि विमानस्थल निर्माणस्थल र हालसम्मको प्रगतिबारे जानकारी लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्