गुरुयोजना एकातिर, कार्यक्रम अर्कैतिर «

गुरुयोजना एकातिर, कार्यक्रम अर्कैतिर

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको पर्यटन विकासका लागि १० वर्षे गुरुयोजना बनाएर लागु गरेको छ । आर्थिक वर्ष २०७९/८० देखि २०८९/०९० सम्म अवधि रहेको गुरुयोजना कार्यान्वयन भएको पहिलो वर्षमै प्रदेश सरकारले गुरुयोजना उलंघन गरेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा गुरुयोजनाले सुझाएको योजनाहरु समेटिएका छैनन् । गुरुयोजनाले सुदूरपश्चिम प्रदेशमा १८ वटा गन्तव्यहरुको सम्भावना रहेको निष्कर्ष निकाल्दै सोका लागि पुर्वाधार निर्माण, त्यसको प्रवद्र्धन र पर्यटकका लागि आवश्यक सुविधा दिने संरचना निर्माण गर्न सुझाव दिएको छ । तर, सुदूरपश्चिम प्रदेश सरकारले ती क्षेत्र भन्दा फरक तरिकाले बजेट विनियोजन गरेको छ ।
गुरुयोजनाले अछाममा रामारोशन, बैद्यनाथ धाम, बैतडीमा मेलौली भगवती मन्दिर, त्रिपुरासुन्दरी मन्दिर, बझाङमा मोयना हिल भ्यु पोइन्ट, नेचुरल हट स्प्रीङ (तातोपानी), बाजुरामा बडिमालिका, बाजुरा, बझाङ, डोटी र अछाममा खप्तड, डडेल्धुरामा आलीताल, अमरगढी किल्ला, गन्यापधुरा, दार्चुलामा अपि हिमाल बेस क्याम्प ट्रेक, डोटीमा छहरा झरना, सेती नदीमा ¥याफ्टिङ र कैलालीमा टीकापुर पार्क, भाडा होमस्टे र घोडाघोडी ताल क्षेत्र पर्यटनको सम्भावना रहेको उल्लेख गरेको छ । सोही क्षेत्रमा पर्यटन पुर्वाधार निर्माण, पर्यटन प्रबद्र्धन र पर्यटकलाई आवश्यक सुविधा विकास गर्न सुझाव दिएको छ । गुरुयोजनाले त्यसका लागि लाग्न सक्ने बजेट अनुमान र सोबाट हुन सक्ने लाभ समेत उल्लेख गरेको छ ।
प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र मन्त्रालयको पर्यटन सम्बन्धी योजना कार्यान्वयन गर्ने प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन ईकाई, कैलालीको कार्यक्रम पुस्तिकामा अधिकांश योजनाहरु मन्दिर निर्माण, मर्मत, भ्युटावर, मन्दिरमा आश्रम निर्माणका छन् । मन्दिर निर्माण तथा मर्मतका ५ देखि १० लाखका २९५ वटा योजना छन् । पर्यटन विकास गुरुयोजनाले सुझावको योजनाहरु कम मात्र समेटिएका छन् ।

मन्त्रालयका एक कर्मचारीले गुरुयोजना अनुसारका कर्मचारीले गुरुयोजनाअनुसार तयार गरेको कार्यक्रम रातो कितावमा पर्न नसकेको बताए । उनले मन्दिरमा मात्रै लगानी गर्नाले पर्यटन विकासमा टेवा पुग्न नसक्ने बताए ।
कैलाली उद्योग वाणिज्य महासचिव ओम विष्टले सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो सम्भावना भएको पर्यटन क्षेत्र भएपनि प्रदेश सरकारको यस क्षेत्रको विकासका लागि कुनै योजना नल्याएको बताए । उनले साधारण खालका योजनाहरू मात्रै राखिएको बताउँदै भने, “सर्भेहरू गर्छौं भनिएको छ । बजेट विनियोजन भएको केही पनि योजना छैन ।” संघका सदस्य रुपेश खड्काले कृषि, पर्यटन र जडिबुटीलाई फोकस गरेर बजेट ल्याउनुपर्नेमा प्रदेश सरकारले त्यस्तो नगरी चुनाव केन्द्रित बजेट ल्याएको बताए ।
यद्दपि, प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन ईकाई, कैलालीका प्रमुख भोजराज पाठकले गुरुयोजनाले सुझाएका केही योजनाहरु बजेटमा समेटिएको बताए । उनले चिसापानीदेखि खानीडाँडासम्म गुरिल्ला ट्रेल निर्माण, अपि हिमाल वेश क्याम्प पदमार्ग रिअडिट, खप्तड, रामारोशन, बडिकेदार, बैद्यनाथ, अपिनाप्पा क्षेत्रको पयर्टन विकासका योजनाहरु निर्माण गरिएको बताए ।
गुरुयोजनाले पर्यटकीय क्षेत्रको सौन्दर्यकरण गर्न पार्क, गार्डेन, ट्रेकिङ ट्रेल निर्माण, पर्यटनकका लागि बसोबास तथा खानाका लागि सुविधायुक्त होटेल निर्माण, होमस्टे सञ्चालन, पर्टयन प्रबद्र्धनका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय मिडिया, पर्यटन व्यवसायीको भ्रमण, अन्तर्राष्ट्रियस्तरमा पर्यटन क्षेत्रको प्रचारलगायत क्षेत्रमा लगानी गर्न गुरुयोजनाले सुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्