टेलिकमको नेटवर्कमा एनआईसी एसियाको निःशुल्क सेवा

एनआईसी एसिया बैंकले मोबाइल बैंकिङ एप, वेबसाइट, आइसर्भ तथा इन्टरनेट बैंकिङ नेपाल टेलिकमको नेटवर्कमा निःशुल्क चलाउन मिल्ने सुविधा ल्याएको छ ।
यसमार्फत यस बैंकका ग्राहकहरूले नेपाल टेलिकमको डाटा प्रयोग गरी एनआईसी एसिया मोब्यान्क एप, आईसर्भ, वेबसाइट तथा इन्टरनेट बैंकिङ निःशुल्क चलाउन पाउनेछन् । बैंकले यसअघि एनसेलको नेटवर्कमा पनि यही सुविधा ल्याइसकेको छ । अब नेपालका दुई प्रमुख दूरसञ्चार कम्पनीका नेटवर्कमा एनआईसी एसियाका सेवा निःशुल्क चलाउन पाइनेछ ।

बैंकका अनुसार उक्तबाहेकका अन्य सेवाहरु लिँदा वा डिभाइसको ब्याकग्राउण्डमा चल्न सक्ने अन्य एपहरुको हकमा दूरसञ्चार सेवा प्रदायक कम्पनीको नियमानुसार शुल्क लाग्नेछ । बैंकले ल्याएको यो सुविधाले ग्राहकलाई डिजिटल कारोबारमा अभ्यस्त पार्नुका साथै डिजिटल बैंकिङको प्रवद्धनमा थप टेवा मिल्ने विश्वास लिएको बैंकले जनाएको छ ।