मल अभावले किसान मर्कामा «

मल अभावले किसान मर्कामा

रोपाइँ गर्ने बेला पानी परे पनि मल नपाउँदा रुपन्देहीका किसान निरास बनेका छन् । रोपाइँको चटारो रहेको बेला उनिहरु एक बोरा मलका लागि नेपाल भारत धाइरहेका छन् ।
“प्रत्येक वर्ष रोपाइँका बेला मात्र मल अभाव हुन्छ, सरकारले अर्को वर्ष समयमै मल ल्याउने आश्वासन दिन्छ, तर आश्वासनमै सीमित हुन्छ, यस पटक पनि बिना मल रोपाइँ गर्न बाध्य भयौ” रुपन्देही रोहीणी बरवाका कृषक उमाशंकर चौधरीले(सचिव)भने । मल नहँुदा मध्य असारमा पनि किसानको मन रमाउन पाएको छैन । अहिले डिएपी मल केही मात्रामा पाएपनि युरिया मल पुरै अभाव रहेको राष्ट्रिय किसान महासंघका अध्यक्ष देव यादवले बताए । उनले ९० प्रतिशतभन्दा बढी किसानले मल पाउन नसकेको दाबी गरे । केहीले प्राङ्गारिक मल प्रयोग गरेर खेती गरिरहेको र केहीले बिना मल खेती गरेका छन् ।
सरकारले प्रादेशिक कार्यालय मातहतका जिल्लाका लागि वार्षिक ४४ हजार ३०० मेट्रिक टन युरिया, ३० हजार ४५० मेट्रिक टन डीएपी र २ हजार ३९८ मेट्रिक टन पोटास मल पठाउने लक्ष्य राखे पनि पूरा गर्न सकेको छैन । यस क्षेत्रमा वार्षिक १ लाख मेट्रिक टन युरिया मलको आवश्यकता छ । यस्तै ६० हजार मेट्रिक टन डीएपी र ५ हजार मेट्रिक टन पोटास मलको माग रहेको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय रुपन्देहीका प्रमुख नारायणप्रसाद शर्माले बताए ।
भैरहवामा रहेको कृषि सामग्री कम्पनीले लुम्बिनी प्रदेशको रुकुम जिल्लाबाहेक सबै जिल्लामा मल खाद पठाउने गर्छ । यस्तै कम्पनीले गण्डकी प्रदेशको स्याङ्जा र पूर्वी नवलपरासीमा समेत मल निर्यात गर्छ ।

लुम्बिनी प्रदेशमा कृषि सामग्री कम्पनीले ७० प्रतिशत र साल्ट ट्रेडिङ्गले ३० प्रतिशत मल उपलब्ध गराउने भनिए पनि अहिले कृषकलाई मलको अभाव हुँदा ती निकाय जवाफबिहीन भएका बनेका छन् ।
साल्ट ट्रेडिङ्ग कर्पोरेसन भैरहवाबाट किसानले आवश्यकता अनुसार मल पाउन सकेका छैनन् । कर्पोरेसनको भैरहवा कार्यालय प्रमुख हरिचन्द्र श्रेष्ठले आफूहरूले आएको मल प्रदेशको कोटाअनुसार पठाइरहेको बताए ।
कम्पनीसँग डीएपी ८५३ टन, पोटास १ हजार टन रहेको तर युरिया मलको मौज्दात शून्य रहेको जनाइएको छ । कम्पनीको प्रादेशिक कार्यालय रुपन्देहीका प्रमुख नारायणप्रसाद शर्माले डीएपी मल पर्याप्त मात्रामा नभएको र युरिया मल अहिलेसम्म नआएको जानकारी दिए ।
अहिले पोटास र डीएपीको माग धेरै रहेपनि निकै कममात्र आएको उनको भनाइ छ । उनले भने, “सायद यो महिनाको अन्तिमसम्ममा आउँछ होला ।” लुम्बिनी प्रदेशमा अहिले युरिया मल १५ हजार १६५ टन र डीएपी ११ हजार ९५ टनको कोटा परेको छ । अहिलेसम्म ९ सय टन डीएपी र ३२ सय टनमात्र युरिया आएको छ ।
रासायनिक मलको अभाव बढेसँगै तराईका जिल्लाहरूमा सीमा क्षेत्रका किसानले भारतीय बजारबाट लुकिछिपी रूपमा मल ल्याउनु परेपनि प्रहरीले विभिन्न स्थानमा रोक्ने र अनावश्यक दुःख दिने र रकमसमेत माग्ने गरेको गुनासो गरेका छन् । यसरी मल ल्याउँदा प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रणमा लिने समस्या पनि उत्तिकै रहेको किसानको भनाइ छ । सरकारले दिन नसक्ने तर किसानले रोपाइँका लागि एक दुई बोरा ल्याउदा पनि प्रहरीले दुख दिने गरेको किसान राम यादवले बताए ।
“सीमा पारीबाट मल ल्याएर खेती गर्न सहज छैन । यसरी मल ल्याउने किसानलाई प्रहरीले पक्राउ गरेर मल नियन्त्रणमा लिँदा झन मर्का परिरहेको छ” रुपन्देहीको मर्चवारीका एक किसानले भने, “बल्लतल्ल भारतबाट खरिद गरेर ल्यायो, प्रहरीले खोसेर लैजान्छ ।”

प्रतिक्रिया दिनुहोस्