अनलाइनबाटै तालिम लिएर गाउँमा नमूना कृषि फर्म «

अनलाइनबाटै तालिम लिएर गाउँमा नमूना कृषि फर्म

हिजोआज गाउँ घरका खेतीयोग्य जग्गा बाँझो राखेर रोजगारीका लागि भन्दै खाडीमा जाने र सहरतिर दौडिने युवाहरु प्रशस्त छन् । श्रम गर्ने जनशक्तिले गाउँ छाड्नेहरु बढ्दा खेतबारी बाँझो हुने क्रम पनि छ ।
युवाहरु गाउँ छाड्ने क्रम बढे पनि दोलखाको शैलुङ गाउँपालिका वडा नं. ५ काटाकुटीका २ युवा दाजुभाइ भने गाउँमै कृषिबाटै भविष्य देखेर तरकारी खेतीमा लागेर गाउँकै नमुना किसान बनेका छन् । शैलुङ गाउँपालिका वडा नंं ३ कानारायण श्रेष्ठ र गणेशमान श्रेष्ठले आफ्नो जग्गाले नपुगेपछि २५ रोपनी जग्गा भाडामा लिएर टनेलमा गोलभेंडा खेती गरेका छन् ।
गाउँ छाडेकाहरुको खाली जग्गा लिएर श्रेष्ठ दाजुभाइले अहिले ४९ वटा प्लाष्टिक टनेल बनाएर गोलभेंडा, च्याउ र अकबरे खुर्सानी खेती गरेका छन् । आजभोली एक तिहाइ टनेलमा गोलभेंडा पाक्ने बेला भएका छन् । केही बिरुवा हुर्कंदै छन् । वर्षैभरी बजार लैजाने गरी उनीहरुले खेती गरेका छन् । यही वर्षबाट सुरु गरेको च्याउ पनि फल्न थालेको छ । उनीहरुले आफ्नो फर्ममा ९ जनालाई रोजगारी समेत दिएका छन् ।
शैलुङ एग्रो एण्ड लाइभस्टक फर्म नामको कम्पनी बनाएर खेती सुरु गरेका दाजुभाइले पहिलो लकडाउनकै बेला अनलाइन तालिमबाट केही सिके । फर्मको नाममा बैंकबाट २० लाख सहुलियत ऋण लिए भने फर्ममा ७० लाख लगानी गरेका छन् ।
२ वर्ष अघिदेखि सुरु गरेको व्यवसायले पहिलो वर्ष नै गोलभेंडा बिक्रीबाट भएको आम्दानीले उनीहरु उत्साहित भएका छन् । बजारले साथ दिए यही वर्ष भित्रै आफ्नो लगानी उठ्नेमा उनीहरु आशावादी छन् । “फर्म सञ्चालनमा आएको पहिलो वर्ष नै हाम्रो राम्रै उत्पादन भयो” फर्म सञ्चालक नारायण श्रेष्ठले भने, “यस वर्ष पनि बजारले साथ दिए लगानी यसै वर्ष उठाउँछौं ।”

युवाहरुले उत्पादन गरेको उत्पादन स्थानीय बजार, चरिकोट, तामाकोसी, बाघखोर बजार जान्छ । स्थानीय बजारमा बिक्री नभएको उनीहरुले काठमाडौंसम्म पु¥याउने गरेका छन् । वर्षात्को बेला बजारसम्म तरकारी पु¥याउन फर्मसम्म पुग्ने सडक स्थानीय सरकारले सोलिङ गरेर सडक सहज बनाइदिएको छ । उनीहरुले नयाँ प्रविधिबाट कम्पोष्ट मल बनाउने तरिका पनि गाउँमै नयाँ छ । गोलभेंडाको हरेक बोटमा सिंचाइ र मल पुग्ने गरी इजरायली प्रविधि जडान गरेका छन् । युवाहरुले गरेको कामको प्रोत्साहन स्वरुप गत आर्थिक वर्ष गाउँपालिकाले पनि प्रोत्साहन स्वरुप ५ लाख अनुदान दिएको थियो । शैलुङ गाउँपालिका–५ का वडाध्यक्ष दिलकुमार तामाङले अब युवाहरुलाई यसरी नै फर्मको रुपमा काम गराउँदै बाँझो जग्गा सदुपयोग गराउने आफ्नो मुख्य लक्ष्य भएको बताए ।
घर नै छाडेर बाँझो रहेको जग्गा युवा दाजुभाइले लिएका छन् । उनीहरुको मेहेनत र आम्दानी देखेर छिमेकीहरु पनि लोभिएका छन् । अरु विदेश जान खोज्ने युवालाई समेत श्रेष्ठ दाजुभाइबाटै सिकेर गाउँमै काम गर्न सुझाव दिन्छन् । स्थानीय शिक्षक कृष्ण ढुङ्गेलले श्रेष्ठ दाजुभाइले सञ्चालन गरेको काटाकुटीकै गौरव रहेको बताए । अब उनीहरुको मेहेनत र लगानीबाट अरु युवाहरु गाउँ फर्कनु पर्ने उनको सुझाव छ ।
गाउँमै केही गरौं भनेर गाउँका खाली रहेका खेतीयोग्य जग्गा भाडा लिएर यी युवाले व्यावसायिक काम गरे झैं यस्ता युवाका लागि स्थानीय सरकारले व्यवस्थापन गरिदिने र बजारको व्यवस्थापन गरिदिए कृषि र पशुपालनको काममा पुनःयुवालाई फर्काउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्