मार्सीधान उत्पादन वृद्धि र संरक्षणमा न नीति न बजेट «

मार्सीधान उत्पादन वृद्धि र संरक्षणमा न नीति न बजेट

युवा पलायन बढ्नु, खेती योग्य जमिनमा मनपरी घर भवन निर्माण हुनु, सिँचाई सुविधाको अभाव हुनु लगायतका कारणले जुम्ली मार्सी धान उत्पादन घटेको छ ।
मुख्यतयाः मार्सीधान उत्पादन वृद्धि गर्न तथा संरक्षणका लागि युवा पलायन रोक्ने, खेतीयोग्य जमिन बिक्रीमा रोक लगाउने, सिँचाई पहुँच वृद्धि गर्ने प्रदेश र स्थानीय तहको ठोस नीति तथा बजेट नभएकै कारण जुम्ला मार्सी धानको उत्पादन घट्न थालेको कृषि विज्ञ बताउँछन् ।
वरिष्ठ किसान रामकृष्ण बुढ्थापा भन्छन्, “बाढीले बगर बनेका खेत ज्युँकात्यूँ छन् । पर्याप्त सिँचाई छैन । अन्तर्राष्ट्रिय बजारमा माग बढेको मार्सी धानको उत्पादकत्व र खेती हुने क्षेत्र क्रमिक घटिरहेको छ । तर प्रदेश सरकार र जुम्लाको स्थानीय तहको त्यस तर्फ ध्यान छैन । विकासका नाममा डोजरे विकासलाई मात्रै जोड दिएका छन् ।”
कर्णाली प्रदेश सरकार झण्डै ३२ अर्ब ६१ करोडको बजेट वक्तव्य सार्वजानिक गर्दा मार्सी धान उत्पादनमा वृद्धि, सरक्षणमा बजेट छुट्याएको छैन । त्यस्तै जुम्लाका आठ स्थानीय तहले आगामी आवका लागि करिब ३ अर्ब ८६ करोड बराबरको बजेट विनियोजन गर्दा कृषि क्षेत्र त्यसमा पनि मार्सी धान उत्पादन संरक्षणको विषय ओझेलमा परेको छ । प्रदेशदेखि जुम्लाका स्थानीय तहले सडक, स्वास्थ्य, शिक्षा, खानेपानीलाई मात्र प्राथमिकता दिएका छन् ।
जुम्लामै पहिलो मार्सी धान खेतीको तातोपानीको लाछु ज्युलोमा हो । तर कृषिमा ८० लाख मात्रै छुटाएको तातोपानीले मार्सीधान संरक्षणको ठोस नीति र बजेटमा जोड दिएको छैन । विश्वकै अग्लो स्थानमा पातारासीको छुमचौर ज्युलोमा मार्सीधान फल्छ । तर करिब ४५ करोडक बढीको बजेट ल्याएको पातारासीले मार्सी धानको संरक्षणमा चासो देखाएको छैन ।
यता चन्दननाथ नगरपालिकाका मार्सीफाँटमा घरैघर निर्माण हुन थालेका छन् । अबको ५÷६ वर्षपछि चन्दननाथमा मार्सी उत्पादन हुने खेत लोप हुने निश्चित छ । केवलको सम्भायता अध्यायन गर्न, सडक निर्माण गर्न करोडौं बजेट विनियोजन गरेको चन्दननाथ नगरपालिकाले पनि मार्फी फाँट जोगाउने न नीति ल्याएको छ नत बजेट नै छ । ५६ करोडको वार्षिक बजेट ल्याउँँदा कृषि क्षेत्र उपेक्षामा छ ।
गुठिचौर, लिता, हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकाले पनि मार्सीधान उत्पादन र संरक्षणलाई कुनै चासो दिएका छैनन् । सबैको पालिकाको नीति र बजेट पूर्वाधार विकासमै केन्द्रित छ ।
यद्दपी मार्सी धानको सरंक्षण र उत्पादन वृद्धिमा गम्भीर भएको पालिकाका प्रमुखहरु बताउँछन् । मार्सीधानकै संरक्षणका लागि तातोपानीले २० जेठमा रोपाई महोत्सव मनाउने, एक दिन बिदा दिनेलगायतका काम गर्दै आएको तातोपानीका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए ।

सिँचाई सुविधाको अभावले कर्णालीको ८२ हजार हेक्टर जमिन बाँझो हुँदा साविक कर्णालीका पाँच जिल्लाको ३० हजार हेक्टर जुम्लाको मात्रै १४ हजार हेक्टर खेतीयोग्य जमिन सिँचाई अभावले बाँझो रहेको सरकारी तथ्यांक छ ।
घट्दै मार्सीधान उत्पादन
जुम्लाको आर्थिक समृद्धिसँगै कर्णाली ब्राण्डका रुपमा बजारीकरण भइरहेको मार्सीधान खेतीको क्षेत्र भने घट्दै गएको छ । गत कात्तिक पहिलो साता बेमौसमी वर्षासँगै आएको बाढीले तिला र तातोपानीको १८ हेक्टर मार्सीफाँटमा क्षति हुँदा मार्सीधान उत्पादन घटेको हो ।
कृषि विकास कार्यालय प्रमुख गणेश अधिकारी भन्छन्, “मार्सीधान उत्पादन वृद्धि गर्ने र क्षेत्र विस्तार गर्ने हाम्रो लक्ष्य हो । तर प्राकृतिक प्रकोप र मार्सी उत्पादन हुने खेतहरु मनपरी खरिद बिक्री हुनु र खेतमै घर निर्माण प्रक्रिया बढ्दै जाँदा मार्सी खेतीको क्षेत्र घटेको छ ।”
हाल जुम्लाको २८ सय हेक्टरमा धानखेती भइरहेको छ । जसमध्य मार्सीधान १ हजार हेक्टर र उन्नत जातको चन्दननाथ–१, चन्दननाथ–२ र लेकाली धान १८ सय हेक्टरमा खेती हुँदै आएको छ ।
विगतको तुलनामा मार्सीधान उत्पादन र क्षेत्र ह्वात्तै घटेपनि कतिले घटेको छ भन्ने एकिन तथ्यांक कुनै निकायसँगै छैन । आव २०७४ देखि २०७६ सालसम्म २७ हजार १ सय १३ मेट्रिकटन भन्दा बढी रैथाने बाली उत्पादन भइरहेको जुम्लामा २÷३ वर्षपछि लगभग १४ हजार मेट्रिकटनले उत्पादन घटेर आव २०७७ मा १२ हजार मेट्रिकटन मात्रै रैथाने बाली उत्पादन भएको थियो ।
२०७७ सालमा जुम्लाका १४ हजार मेट्रिकटन टन रैथाने खाद्यन्न बाली उत्पादन घटेको जुम्लामा मार्सीधान भने ६ हजार ६ सय ७० मेट्रिकटन उत्पादन भएको थियो । उत्पादन वृद्धि गर्ने प्रदेश र स्थानीय तहले कार्यक्रम ल्याएपछि दुई वर्षको तथ्यांक हेर्दा करिब १२ सय मेट्रिकटन मार्सीधान उत्पादन घटेको सरकारी आँकडा छ ।

प्रतिक्रिया दिनुहोस्