‘शेरबहादुर देउवा गठबन्धनको सभापति भएको आरोप’

नेपाली कांग्रेस नेता डा. शेखर कोइराला पक्षीय भेलाले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको नभई गठबन्धनको सभापति भएको आरोप लगाएको छ ।
शुक्रबार सकिएको कोइराला पक्षीय बैठकबारे जानकारी गराउँदै नेपाली कांग्रेस कोइराला पक्षीय नेता एवं पार्टी केन्द्रिय सदस्य डा.गोविन्द पोखरेलले सभापति देउवाले नेपाली कांग्रेसका नेता र कार्यकर्तालाई समेट्न नसकेको बताए । बैठकमा सरकार सञ्चालन, गठबन्धन, पार्टीको आगामी कार्यदिशा, आगामी निर्वाचन र परराष्ट्रनीतिका बारेमा सरकारले बनाइरहेको धारणा लगायतका विषयमाथि छलफल भएको केन्द्रिय सदस्य पोखरेलले बताए । उनले सरकारले आफूले गरेका वाचा अनुसार जनतालाई राहत दिन नसकेको, सुशासन सम्बन्धी गरेका राजनीतिक प्रतिवद्धता पूरा गर्न नसकेको पनि बताए ।

राजश्व अनुसन्धान, सम्पती शुद्धिकरण, राष्ट्रिय अनुसन्धान विभाग लगायत प्रधानमन्त्रीको मातहतबाट हटाउने प्रतिवद्धताको प्रधानमन्त्रीले अवज्ञा गरेको, बजेट बनाउनेदेखि चरम रुपमा आर्थिक सुशासनको खिल्ली उडाइएको पनि निस्कर्ष बैठकले निकालेको छ । उनले सरकारले व्यापकरुपमा नीतिगत भ्रष्टाचार गरेको बताए । केन्द्रिय सदस्य पोखरेलले बैठकले हरेक प्रदेश र पालिकामा कांग्रेसलाई बलियो बनाउने र पार्टी विधानअनुरुप चल्ने कुरामा पन िजोड दिएको बताए ।