स्वतन्त्र उम्मेदवार पनि राजनीतिक दल घोषणा गर्ने तयारीमा
![](https://www.karobardaily.com/wp-content/uploads/2022/07/Swatantra.jpg)
स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा भाग लिएका र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवारी दिने घोषणा गरेकाहरुले एउटा छुट्टै राजनीतिक दल घोषणा गर्ने तयारी गरेका छन् ।
शनिबार ललितपुरको सानेपास्थित हेरिटेज प्लाजामा विशेष भेलाको आयोजना गरी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको छुट्टै दल गठन गर्ने विषयमा केन्द्रित भएर छलफल सुरु गरेका हुन् । दलको विकल्प दल नै भएकाले आगामी संसदीय चुनावमा दल नै गठन गरेर जाने विषयमा छलफल गर्न सो विशेष भेला आयोजना गरिएको काठमाडौं महानगरपालिकाका स्वतन्त्रतर्फ मेयरका उम्मेदवार बनेका सुमन सायमीले बताए । उनले दल ठिक छैन भन्ने जनतामा भ्रम परेको उल्लेख गर्दै त्यस्तो भ्रम हटाउन र संसदमा कानुन निर्माणका लागि बहुमत आवश्यक पर्ने भएकाले एउटा दल गठन गरेर निर्वाचनमा जाने विषयमा देशभरका स्वतन्त्र उम्मेदवारहरुबीच छलफल सुरु गरिएको बताए ।
सायमीले भने, ‘संसदीय चुनाव भनेको नीति निर्माण गर्ने ठाउँ हो । त्यहाँ बहुमतको कदर हुन्छ । एक व्यक्तिले कानुन बनाउन सक्दैन । त्यसो भएको कारण त्यसमा जाँदा दलको विकल्प दल नै हो । दल ठिक छैन भन्ने जनतामा रहेको भ्रम हटाउन जरुरी छ । दलको विकल्प दल नै हो ।’
![](https://www.karobardaily.com/wp-content/uploads/2022/07/Swatantra-768x480.jpg)
प्रदेश र प्रतिनिधिसभा निर्वाचनमामा स्वतन्त्रहरुको पनि एउटा दलको आवश्यक्ता छ भन्ने निष्कर्षका साथ आफू सो विशेष भेलामा सहभागी भएको स्वतन्त्र उम्मेदवार रविन्द्रकुमार श्रेष्ठले बताए । उनले प्रदेश र संघको निर्वाचनमा अनिवार्य दल आवश्यक पर्ने भएकाले भेलाले सो विषयमा छलफल गरेर निष्कर्ष निकाल्ने बताए । श्रेष्ठले भने, ‘प्रदेश र संघको निर्वाचनमा एउटा दलको आवश्यक्ता छ नयाँ विचारसहितको । देशको समस्या यो हो । यसरी निकास दिन सकिन्छ भन्ने विचारसहितका नयाँ दल चाहिन्छ भन्ने मेरो विचार छ । प्रदेश र संघको निर्वाचनमा अनिवार्य छ दल ।’
देशभरका स्थानीय तह निर्वाचनमा भाग लिएका तथा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेकाहरु सो विशेष भेलामा सहभागी भएका छन् । ‘स्वतन्त्र उम्मेदवारी अभियान’को नाममा आयोजना गरिएको सो विशेष भेलाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा जाँदा नयाँ दल बनाएर जाने निष्कर्ष निकालेको छ ।
भेलामा १३ बुँदे उम्मेदवारसम्बन्धी मापदण्ड पनि सार्वजनिक गरिएको छ । स्वतन्त्र उम्मेदवार हुन ६८ वर्ष नाघेको हुन नहुने भेलाको निर्णय छ । त्यस्तै, सांसद उम्मेदवारको न्यूनतम योग्यता स्नातक तह उत्तीर्ण हुनुपर्ने तोकिएको छ ।
प्रत्यक्ष निर्वाचन लड्ने व्यक्तिले चुनाव लड्ने घोषणा गरेकै दिन आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने पनि मापदण्डमा उल्लेख छ । भेलामा काठमाडौंमा मेयर बालेन्द्र शाह प्रमुख अतिथिको रूपमा रहेका थिए ।