पन्थीले ल्याइन् ‘प्यारो नेपाल’ खण्डकाव्य «

पन्थीले ल्याइन् ‘प्यारो नेपाल’ खण्डकाव्य

साहित्यकार एवं समाजसेवी रेणुका पन्थीको प्यारो नेपाल खण्डकाव्य एक समारोहका बीच काठमाडौंमा विमोचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. देवी नेपाल, प्रा. डा. रामप्रसाद ज्ञवाली र प्रा. डा. भागवत ढकालले उक्त खण्डकाव्यको संयुक्त रूपमा विमोचन गरेका हुन् ।
खण्डकाव्य विमोचन कार्यक्रममा प्रमुख अथिति एवं प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. देवी नेपालले यस खण्डकाव्य भावनात्मक उच्चताले भरिएको र देशको वर्तमान झल्को पाइने बताए । उनले भने, “देशका सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिक सबै खाले विषयहरूभित्र देखिने आशा–निराशा, उतार–चढाव, आलस्य–उत्साह आदि सबैप्रतिको कवि दृष्टिले गर्दा यो काव्य केवल भावनात्मक मात्र नभएर स्पष्ट वैचारिक दृष्टिकोणयुक्त बन्न पुगेको छ ।” यस खण्डकाव्यमा देशभक्तिको भावनालाई केन्द्रमा राखेर अगाडि बढे पनि त्यसभित्र देशको वर्तमान अवस्था र समसामयिक चेतनासँग जोडिएर आउन सक्ने सबै खाले भावनालाई यहाँ समेट्ने प्रयास गरिएको डा. नेपालले बताए ।

साहित्यकार एवं प्राध्यापक डा. रामप्रसाद ज्ञवालीले यस खण्डकाव्यमा समाजको अनुभूति प्रस्तुत भएको बताए । उनले भने, “विखण्डित अवस्थामा आएको खण्डकाव्यले नेपालको यथार्थ चित्रण गरेको छ । कविले देश निर्माणका लागि चेतना निर्माण गर्नु हो, कविताले सुन्दरताको खेती गर्नु हो । यस खण्डकाव्यमा देशको सुन्दरताको परिकल्पना गरिएको छ ।”
वाल्मीकि विद्यापीठका प्राचार्य एवं कार्यक्रमका सभापति प्रा डा. भागवत ढकालले सिंगो नेपालको प्रतिनिधित्व गरेर खण्डकाव्य तयार भएको बताए । उनले भने, “प्यारो नेपाल हामी सबैको मनमा रहेको छ, तर त्यसलाई चिन्न सकेका छैनौं ।” खण्डकाव्यको परम्परामा यो कृति आएको छ, यसले समग्र नेपालको सौन्दर्य चित्रण गरेको डा. ढकालले बताए ।
गुल्मीमा रहेर शिक्षण पेसा र समाज सेवामा लागेकी पन्थीले गीत, कथा र निबन्धमा पनि कलम चलाएकी छन् । उनले एकल महिला परिचय र प्रकारमा अनुसन्धान गरी लुम्बिनी प्रदेशमा महिला हकहितका लागि नीति निर्माणमा समेत सहयोग पु¥याएकी छन् ।

प्रतिक्रिया दिनुहोस्