लगानीयोग्य तरलता र भुक्तानी सन्तुलनमा भएको घाटाले अर्थतन्त्रमा समस्या «

लगानीयोग्य तरलता र भुक्तानी सन्तुलनमा भएको घाटाले अर्थतन्त्रमा समस्या

अर्थमन्त्रीका वरिष्ठ आर्थिक सल्लाहकार डा सुरेन्द्र उप्रेतीले लगानीयोग्य तरलता र भुक्तानी सन्तुलनमा भएको घाटाले अर्थतन्त्रमा समस्या आएको बताए ।
शुक्रवार काठमाडौंमा आयोजित नेपालको वर्तमान आर्थिक अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै डा उप्रेतीले पछिल्लो समय बैंकिङ कर्जा बिस्तार १९ प्रतिशतले र निक्षेप ५ प्रतिशतले वृद्धि भइरहेको पनि जानकारी दिए । डा उप्रेतीले कोरोना महामारीपछि अत्याधिक रुपमा वस्तु आयात भएकाले भुक्तानी सन्तुुलनमा घाटा भइरहेको बताए । उनले पछिल्लो ७ महिनादेखि लगातार विदेशी मुद्रा सञ्चिति गिरावट आइरहे पनि सरकारले आयात नियन्त्रण नीति लिएको कारण विदेशी मुद्रा सञ्चिति नियन्त्रणमा रहको बताए ।
डा उप्रेतीले मुद्रा सञ्चिति स्थिर हुनु भनेको सरकारले आयात नियन्त्रण गर्न लिएको नीति कार्यान्वयन भएको बुझ्नपर्ने जिकिर गर्दै उनले चालु आर्थिक वर्षको असार मसान्तसम्म १९ सय अर्बको आयात हुनसक्ने बताए।
डा उप्रेतीले आगामी तीन-चार वर्षसम्म विदेशी मुद्रा सञ्चितिमा दबाब कायम नै रहने दाबी गरे । पछिल्लो समय कर्जा वृद्धि १९ प्रतिशत रहेको तर निक्षेप संकलनको वृद्धि ५ प्रतिशत रहेको छ । त्यहाँ एउटा ग्याप रहेको उप्रेतीले बताए । १२ प्रतिशतको ग्यापले तरलताको दबाब सिर्जना गरेको उनको दाबी छ ।
साथै, २८८ अर्ब बीओपी डीफिसिटले अर्थतन्त्रमा समस्या थपेको उनको भनाइ छ ।
अबको जुनसुकै सरकार आएपनि आगामी तीन÷चार वर्षसम्म विदेशी मुद्रा सञ्चितिमा दबाब रहने पनि उनले बताए ।
त्यस्तै, अर्थविद् डा गोविन्द नेपालले मुलुकको अर्थतन्त्रमा सकटमा रहेको तथा अझै सकटहरु बढ्दै जाने बताए । उनले सकट भन्दैमा श्रीलंकाको
जस्तो अवस्थामा भने नपुग्ने पनि बताए।
उनले भने, अहिले मुलुकको अर्थतन्त्र सकटतर्फ छैनौं भन्ने अवस्था छैन । सकटमा छौं र अझै सकट बढ्न सक्छ । तर श्रीलंकाको जस्तो हुन्छ भनिहाल्ने बेला भएको छैन ।
आगामी बजेटमा सरकारले कृषिमा फोकस गरेको भन्दै उनले त्यो कार्यान्वयन गर्न कृषकलाई मल नहुँदा उत्पादन नहुने पनि बताए । तर, उनको भनाइमा सरकारले भनेजस्तो आयात प्रतिस्थापन हुन सक्दैन । कृषि क्षेत्रले अर्थतन्त्रलाई लयमा ल्याउने भएपनि सरकारले किसानलाई समयमा मल ल्याउन नसकेको हुनाले बजेट कार्यान्वय र सरकारको उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने जोखिम बढेको भन्दै उनले निर्यात बढ्दा विदेशी मुद्रा सञ्चितिमा थप दबाब पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्