विपद्सम्बन्धी पूर्वसूचना समिति गठन «

विपद्सम्बन्धी पूर्वसूचना समिति गठन

जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनमा कार्यरत विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधि सम्मिलित पूर्व सूचनासम्बन्धी विषयगत समिति गठन भएको छ ।
मनसुन सुरु भइसकेको र वर्षाको समयमा विभिन्न किसिमका प्राकृतिक विपद्का घटना हुने भएकाले जोखिम न्यूनीकरणका लागि बेलैमा पूर्वसूचना दिने उद्देश्यसहित १५ सदस्यीय टास्क फोर्स गठन भएको हो । प्रभावमा आधारित पूर्वसचना प्रणालीले प्राकृतिक विपद्जन्य घटनाबाट पुग्ने भौतिक तथा मानवीय क्षतिलाई न्यूनीकरण र जनधनको सुरक्षामा सहयोग पु¥याउने उद्देश्यसाथ पूर्वसूचनाको विषयगत समिति गठन भएको जलवायु तथा विपद् विज्ञ डा. धर्म उप्रेतीले जानकारी दिए । डा. उप्रेतीले विषयगत समितिलाई बिहीबार मनसुनजन्य प्रकृतिका घटनाले निम्त्याउन सक्ने समस्या र पूर्वतयारीका बारेमा प्रशिक्षण दिएका थिए । टास्क फोर्सका संयोजकसमेत रहेका डा. उप्रेतीले जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनमा कार्यरत संस्थासँगको सहकार्यमा काम गर्दा पूर्वसूचना प्रणालीमा प्रभावकारी परिणाम आउने विश्वास व्यक्त गरे । उनले टास्क फोर्सले मनसुनजन्य सिजनमा निम्तनसक्ने प्राकृतिक जोखिमका घटनाबारे जन समुदायलाई पूर्वसूचित गराउने प्रमुख उद्देश्य राखेको बताए ।

उनले भने, “मनसुनको सिजनमा बढी पानी पर्ने सूचना मौसम विज्ञान विभागले दिएको छ । यो सूचनालाई र यो वर्षामा हुने बाढी र पहिरोबाट मनसुनको प्रकोपबाट समुदायलाई कसरी बचाउने भन्ने हिसाबले एउटा संस्थाको मात्रै यो काम होइन । धेरैले काम गरेमा मात्रै समुदायलाई बचाउन सकिन्छ भनेर नेपालमा काम गर्ने जति पनि अन्तर्राष्ट्रिय गैरसंस्थाहरू छन्, उहाँहरूको विपद् हेर्ने अधिकारीलाई पूर्वसूचना प्रणाली के हो ? यसवर्ष के हुँदैछ ? कुनकुन ठाउँमा कस्तो खालको पानी पर्दैछ ? भनेर ओरिन्टेसन पनि दिने, उहाँको क्षमता वृद्धि पनि गर्ने, उहाँहरूले जति पनि आफ्नो काम गर्ने क्षमता छ, त्यो क्षेत्रमा पनि पूर्वसूचनालाई प्रवाह गर्ने, ताकि केन्द्रमा भएको सूचना र विभिन्न स्रोतबाट आएको सूचनालाई समुदायसम्म कसरी पु¥याउने र समुदायको जोखिम जस्तो छ, त्यसलाई कसरी कम गर्न सकिन्छ ? भन्ने हिसाबले अन्तर्राष्ट्रिय पूर्वसूचना प्रणालीको नेटवर्क बनाएका छौं । अहिलेसम्म हामीकहाँ, विपद् र जलवायु हेर्ने एउटा नेटवर्क थियो, त्यसभित्रकै एउटा पाटो पूर्वसूचना प्रणालीको नेटवर्क हो । सबैलाई एउटै सूचना प्रणाली विस्तार गर्नका लागि हो । यसपटक २० लाख मानिस प्रभावित हुने भनिएको छ । २० लाख मानिसलाई हुने प्रभावलाई क्षति कसरी कम गर्ने ? र हानी नोक्शानी कसरी कम गर्ने भन्ने यसको उद्देश्य हो । १५ सदस्यीय टास्क फोर्स बनेको छ । यसले सूचनाको प्रवाहलाई बढीभन्दा बढी समुदायसम्म पु¥याउनेछ ।”
नेपाल सरकारले आर्थिक वर्ष २०७९÷०८० का लागि विपद् व्यवस्थापनअन्तर्गत प्रभावमा आधारित पूर्वसूचना प्रणालीका लागि एक अर्ब ६१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्