अनलाइनबाटै भिसा लिन सकिने

अध्यागमन विभागले अनलाइनबाट भिसा लिन सकिने व्यवस्था गरेको छ । विभागले पछिल्लो समय इ–भिसाको अवधारणासहित अनलाइन आवेदन दिएर भिसा लिन सक्ने व्यवस्था गरेको विभागका महानिर्देशक नारायण भट्टराईले बताए । उनले भने, “अहिलेलाई भिसाको लागि अनलाइन आवेदन दिन सकिने व्यस्था गरिएको छ । कागजात अपलोड गरेपछि विभागमा आएर रुजु गरी बैंक भौचर तिरेर भिसा लिन सकिन्छ ।”
विभागले स्वचालित प्रणाली अनुसार सेवा विस्तार गर्ने गरी भिसामा लागि अनलाइनमार्फत आवेदन दिन सकिने व्यवस्था गरेको हो महानिर्दशक भट्टराईले भने, “अनलाइन भुक्तानीका लागि अहिले तयारी भइरहेको छ । महालेखा नियन्त्रण कार्यालयसँग सहकार्य गरिरहेका छौं, सम्भवता केही दिनमै घरबाटै भिसा लिने र भिसा थप गर्न व्यवस्था लागु गर्दैछौं ।”
यसको लागि विभागले आन्तरिक तयारी गरिरहेको जनाएको छ । विभागबाट वितरण हुने पर्यटक गैरपर्यटक, व्यावसायिक, गैरआवासीय नेपाली भिसालगायतका अन्य भिसा प्राप्त गर्न उल्लेखित प्रक्रिया पु¥याएर आवेदन दिन सकिने जनाएको छ । घरबाटै भिसाका लागि आवेदन दिन सक्ने व्यावस्था विभागले पहिलो पटक विकास गरेको हो । यस भन्दा अगाडि विभाग वा कार्र्यालयमै उपस्थित भएर भिसा लिनुपर्ने र थप गर्नुपर्ने व्यस्था थियो ।
भिसा आवेदन दिन अध्यागमन विभागको सूचना प्रणालीमा लगइन गर्नुपर्छ । यसका लागि नेपाली पोर्ट इमिग्रेसन् लगइन गर्नुपर्ने छ । भिसा आवेदन गर्न उल्लेख गरिएका आवश्यक कागजात (नाता भिसाको लागि आवश्यक कागजात, व्यावसायिक भिसाका लागि आवश्यक कागजात)हरु विभागले तोकिएको मापदण्डमा अपलोड गर्नुपर्ने भनेको छ । सनाखत आवश्यक पर्ने अवस्थामा सनाखत गर्ने व्यक्तिसहित विभागमा आएर नियमानुसारको भिसा बुझाइ भिसा प्राप्त गर्न सकिने छ । अहिलेलाई मुलुक भित्रबाट मात्र अनलाइन आवेदन दिन सक्ने छन् भने आगामी दिनमा मुलुक बाहिरबाट पनि आवेदन दिएर भिसा लिन सकिने गरी तयारी गरिरको विभागले जनाएको छ । अध्यागमन विभागले पर्यटक र गैरपर्यटक गरी कुल ९ प्रकारको भिसा प्रदान गर्दै आएको छ । विभागबाट असार १४ यता क्यूआर कोडसहितको प्रिन्टेट् भिसा जारी गर्दै आएको छ ।
विभागले विगत ४५ वर्षदेखि प्रचलनमा रहेको हस्तलिखित भिसाको सट्टा नयाँ भिसा प्रणालीको सुरुवात गर्दै गत १४ असारबाट क्यूआर कोडसहित छपाइ गरिएको भिसा जारी गरेको थियो । क्यूआर कोडसहित छपाइ गरिएको भिसाले विद्युतीय भिसाका लागि आधार तयार गरेको हुँदा नियमन गर्न सहज हुने भएपछि विभागले प्रिन्टेट् भिसा जारी गरेको हो ।

सरकारले १४ माघ २०७६ मा नेपाली पोर्ट लागू गरेको थियो । नेपाल प्रवेश गर्ने र बाहिरिने सबै विदेशीको बायोमेट्रिक इन्फरमेसन, फिंगरप्रिन्ट र फोटोसमेत प्रणालीमा रहने छ । यही प्रणालीबाट राहदानी विभागबाट जारी हुने राहदानी, वैदेशिक रोजगार विभागबाट जारी हुने श्रम स्वीकृति, शिक्षा मन्त्रालयले जारी गर्ने एओसी र इन्टरपोलसम्बद्ध सूचनासमेत हेर्न मिल्ने व्यवस्था गरेको छ ।
इभिसा प्रणालीका सम्बन्धमा नयाँ व्यवस्थासँगै चरणबद्ध रूपमा विकास गरेर अध्यागमन विभागलाई आधुनिकीकरण गर्दै जाने योजना रहेको विभागले जनाएको छ । क्यूआर कोडसहितको भिसाले विदेशी नागरिकको अनुगमनमा अपेक्षित रूपमा प्रभावकारिता ल्याउन मद्दत गर्नेछ । विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयसहित १४ कार्यालयबाट सेवा दिँदै आएको छ ।
नारायण प्रसाद भट्टराई
महानिर्देशक, अध्यायगमन विभाग
इ–भिसा जारी गर्ने गरी विभागले अनलाइन आवेदन दिएर भिसा लिन मिल्लने व्यवस्था गरेको हो । आगामी दिनमा घरबाट नै इभिसा लिन सक्ने गरी विभागले काम गरिरहेको छ । यसले गर्दा भिसा लिन चाहानेका लागि सहज र सरल हुने छ ।