गाउँमा डाक्टर जानै मान्दैनन्ः स्वास्थ्यमन्त्री खापुङ «

गाउँमा डाक्टर जानै मान्दैनन्ः स्वास्थ्यमन्त्री खापुङ

स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले चिकित्सकहरू दुर्गम क्षेत्रमा जान नमान्दा सबै क्षेत्रमा स्वास्थ्य सेवा पुग्न नसकेको बताए ।
बिहीबार नेपाल स्वास्थ्य प्राविधिक संघको ४४औं स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री खापुङले यस्तो बताएका हुन् । उनले अहिले देशका विभिन्न जिल्लाहरूबाट दरबन्दी खालि रहेको भन्दै डाक्टर तथा नर्स पठाइदिन आग्रह गरे पनि स्वास्थ्यकर्मीहरू जान नमान्दा देशका सबै क्षेत्रमा स्वास्थ्यको सुनिश्चितता हुन नसकेको बताए । मन्त्री खापुङले गाउँ क्षेत्रमा अहिलेपनि डाक्टर र नर्स एवं स्वास्थ्य प्राविधिकहरू जान नमान्दा स्वास्थ्य क्षेत्रमा समस्या आइरहेको बताए । उनले सबै स्वास्थ्यकर्मीहरूले जुनकुनै बेला कुनै क्षेत्रमा पनि जानुपर्नेछ भन्ने मानसिकताको विकास गर्न जरुरी रहेको बताए । अहिले सरकार संघीयताको कार्यान्वयनमा रहेको उल्लेख गर्दै समायोजनमा पनि अनेक समस्या सिर्जना भइरहेको बताए ।

उनले भने, ‘स्वास्थ्यमन्त्री भएको दुई दिन मात्र भएको छ । यो दुई दिनको अवधिमा धेरै मान्छे जिल्लाहरूबाट डाक्टर पठाइदिनुप¥यो दरबन्दी यति छ भनेर आउनुभएको छ । नर्स पठाइदिनुप¥यो दरबन्दी यति छ, भनेर आउनुभएको छ । कोही जान तयार हुनुहुन्न । हामी गाउँ क्षेत्रमा त डाक्टर पठाउनै सक्दैनौं । नर्स पठाउन सक्दैनौं । अहिले संघीयताको कार्यान्वयनमा पनि छौं हामी । भर्खरै समायोजन भएको छ र समायोजनमा पनि अनेक समस्या छन् भन्नेकुरा कर्मचारी र प्राविधिक साथीहरूबाट नै हामीकहाँ आइरहेका छन् । समायोजन भइसकेपछि सरुवा गर्ने एक ठाउँबाट अर्को ठाउँमा पठाउने सीमा पनि छन् । कुनैपनि चिकित्सक, कुनै क्षेत्रमा काम गर्न योग्य नर्स वा कोहीपनि प्राविधिक सकेसम्म कुनैपनि ठाउँमा जान मानसिकता बनाउँदा राम्रो हुन्छ । त्यो बनाउनसक्यौं भने सेवा पनि पुग्छ । हामीले लडेर ल्याएर बनाएको संविधानमा उल्लेख भएको स्वास्थ्यसम्बन्धी हकलाई कार्यान्वयन गर्ने कुरामा हाम्रो थप बल पुग्छ ।’
मन्त्री खापुङले स्वास्थ्यकर्मीहरूको जुनकुनै क्षेत्रमा जान हिचकिचाहट नगर्ने प्रवृत्तिको विकासले संविधानमा उल्लेख भएको स्वास्थ्यसम्बन्धी हकलाई कार्यान्वयन गर्ने कुरामा थप बल पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्