अवैध जग्गा दर्ता खारेजीको माग

राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालले वर्षौंदेखि भोगचलनमा रहेका जग्गा भोगकर्तालाई थाहै नहुने गरी अरुको नाममा दर्ता भएकोबारे छानबिन गरी अवैध जग्गा दर्ता खारेजीको माग गरेको छ । मञ्चले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अवैध जग्गा दर्ता खारेजी गर्न माग गरेको हो ।
मञ्चका निवर्तमान अध्यक्ष ल्यामबहादुर दर्जीले भोगकर्तालाई थाहै नहुने गरी अरुको नाममा जग्गा दर्ता हुने क्रम जारी रहेको बताए । उनले जसले उठीवासको अवस्था सिर्जना गरेको छ त्यसमाथि छानबिन गरी अवैध रूपमा भएका जग्गा दर्ता खारेज गर्न माग गरे । भोगकर्ताको नाममा स्वामित्व दिनुपर्ने उनको भनाइ थियो ।
दर्जीले सबै खालका भूमि समस्या समाधान हुनेगरी तीनवटै तहमा स्वतन्त्र र अधिकारसम्पन्न आयोग गठन गर्नुपर्ने र समुदायले बुझ्ने भाषामा नीति र योजना बनाई कार्यान्वयन गर्न माग गरे ।
मञ्चकी अध्यक्ष सरस्वती सुब्बाले भूमिमाथिको बेथिति सिर्जना गर्ने जोकोहीलाई पनि राज्यले कारवाहीको दायरामा ल्याई न्याय, सुशासन र समृद्धिको अभियान सुरु गर्न माग गरिन् । उनले भनिन्, ‘देशैभर भूमाफियाहरूको विरोधमा हामी जुटेका छौं । अहिले पनि वर्षौदेखि खेतीपाती गर्नेहरूको स्वामित्वमा जमिन छैन ।” उनले आफूहरूले अहिले देशका ५९ वटा जिल्लामा सक्रियताका साथ काम गरिरहेको पनि जानकारी गराइन् ।
मञ्चले सरकारी तथा सार्वजनिक जग्गालाई विद्यमान परिवेशअनुसार परिभाषित गरि बसोबासयोग्य जग्गा भोगकर्ताको नाममा दर्ता गरिनुपर्ने माग गरेको छ । मोही, बिर्ता, गुठीजस्ता समस्या समाधान हुनेगरी व्यवहारिक नीति र संरचना निर्माण गरिनुपर्ने, आवासबाहेकको जग्गा उपभोगको योजनाअनुसार उपलब्ध गराउने नीति लिनुपर्ने पनि मञ्चको माग छ । मञ्चले बालुवाटारको जग्गा बिक्री हुनु, राजधानीको खुलामञ्च कब्जा हुनु र यसमा उच्च तहको जिम्मेवार व्यक्ति र जनप्रतिनिधिको नै संलग्नता जोडिनु जटिल स्थितिको संकेत भनेको छ । मञ्चद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “राज्यलाई समृद्ध बनाउनु, सुशासन कायम गर्नु र नागरिकलाई न्याय दिनु राज्यका अंगहरूको जिम्मेवारी हो । मन्त्रिपरिषद्बाटै जग्गा कब्जालाई प्रोत्साहन हुने गरी निर्णय गरिनु, अदालतको फैसला भूमाफियाको पक्षमा आउनु, अख्तियारले यस विषयमा बोल्नै नसक्ने वातावरण हुनु, भूमि व्यवस्थापनको सवालमा सरकारले भूमाफियालाई चुनौतिको रूपमा देख्नुले स्पष्ट हुन्छ कि, राज्य आफैं आफ्नो जिम्मेवारी र प्रतिबद्धताप्रति बाधक बनिरहेको छ ।”
मञ्चले भूमि समस्याले नेपालको सांस्कृतिक आस्था र सामाजिक विश्वासमाथि पनि अन्याय भैरहेको टिप्पणी गरेको छ । विज्ञप्तिमा थप भनिएको छ, “मन्दिरको जग्गा कब्जा हुनु, मृत्यु भईसकेका व्यक्तिको नाममा किर्ते कागज बन्नु, जग्गा नक्सा गायव हुनु, कित्ता नम्बर फेरबदल हुनु, नक्कली पुर्जा तयार गर्नु अपराधिक घटना हुन् ।” भूमिमाथिको बेथितिले गरिबहरू सबभन्दा बढी मारमा परेको पनि मञ्चले जनाएको छ ।