व्यापारघाटा रोक्न उत्पादन वृद्धि «

व्यापारघाटा रोक्न उत्पादन वृद्धि

पछिल्लो तथ्यांकले मुलुकको व्यापारघाटा थप भयावह रूपमा बढेको देखाएको छ । नेपालीहरूको बढ्दो क्रयशक्ति र उपभोग संस्कृति, स्वदेशी उत्पादनमा मन्दी तथा मुलुकमा पूर्वाधार विकासका कामसमेत भइरहेकाले व्यापारघाटा उच्च रूपमा बढ्दै गइरहेको छ । विदेशमा रहेका ४० लाखभन्दा बढी नेपालीले पठाएको रेमिट्यान्सका कारण व्यापारघाटा उच्च रहँदा पनि शोधनान्तर स्थिति नियन्त्रणबाहिर नपुगेको अवस्था छ । तर, नेपाली युवाले बाहिर गएर कमाएर ल्याएको सबै रकम यसरी उपभोगमै खर्च गर्ने हो भने हाम्रो अर्को पुस्ता पनि दैनिक जीविकाकै लागि अर्को मुलुकमा श्रम बिक्री गर्न जानुपर्ने अवस्था आउन सक्छ । यसैले समकालीन नेपाली अर्थतन्त्रका लागि व्यापारघाटा सबैभन्दा ठूलो चुनौती भएको छ ।
तथ्यांकअनुसार चालू आर्थिक वर्षको नौ महिनामा व्यापारघाटा ९ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ । १० खर्ब ६१ अर्बको आयात भएकोमा निर्यात भने ७० अर्बमा सीमित छ । प्रतिशतकै आधारमा पनि अघिल्लो वर्षको तुलना गर्दा २२ प्रतिशतले व्यापारघाटा बढेको छ । यतिमात्र नभई चालू आवको अन्त्यसम्म १४ खर्ब ३० अर्ब व्यापारघाटा हुने अनुमान गरिएको छ । यसरी यो वर्ष व्यापारघाटा बजेटकै हाराहारीमा पुग्ने अनुमान गरिएको छ । मुलुकमा अर्थतन्त्रका अन्य सबै परिसूचक सामान्य नै रहे पनि व्यापारघाटा भने अस्वाभाविक रूपमा वृद्धि भइरहनु र यसलाई नियन्त्रण गर्ने इच्छाशक्ति पनि नदेखिनु दुःखद पक्ष हो ।
प्रत्येक दिन ३ अर्ब ६७ करोडको व्यापारघाटा हुनु समग्र अर्थतन्त्रकै लागि पीडादायी अवस्था हो । यसले मुलुकको अर्थतन्त्र जुनसुकै बेला दुर्घटनामा पर्न सक्छ भन्ने देखिन्छ । अहिले मुलुकमा भित्रिने रेमिट्यान्सले व्यापारघाटाबाट उत्पन्न खाडल पूर्ति गरिरहे पनि यो कत्तिको दिगो हुन्छ भन्ने प्रश्न सर्वत्र छ । नेपालबाट वैदेशिक रोजगारीमा जाने संख्यामा आइरहेको कमी तथा खाडी राष्ट्र तथा मलेसियामा बेलाबखत उत्पन्न हुने समस्याका कारण पहिलो सिकार नेपाली कामदार र नेपाल भित्रिने रेमिट्यान्स नै हुने गरेको छ । यसकारण नेपालले यो क्षेत्रमा मात्र सधंै भर परिरहने अवस्थासमेत छैन भने अर्कातर्फ नेपालका सिर्जनशील उमेरका युवाहरू सधंै अरू मुलुकमा पठाएर स्वदेशमा भने जनशक्ति अभावको अवस्था रहिरहनु स्वाभाविक छैन । यसर्थ, नेपालले बढ्दो व्यापारघाटाका सम्बन्धमा गम्भीर भएर सोच्न अत्यावश्यक छ ।
व्यापारघाटा नियन्त्रणका लागि आयात प्रतिबन्ध लगाउनेसम्बन्धी चर्चा–परिचर्चा पनि हुने गरेको पाइन्छ । व्यापारघाटा नियन्त्रणका लागि हाम्रोमा सधैं सजिलो उपायको खोजी हुन्छ र आयात नियन्त्रण त्यसैको उपज पनि हो । तर, अहिलेको बदलिँदो विश्व परिवेशअनुसार मान्छेका इच्छा चाहना र क्षमताअनुसार संसारका कुनै पनि कुनामा उत्पादित वस्तु सहजै उपभोग गर्न पाउनुपर्छ र खुला बजार अर्थतन्त्रको सौन्दर्य पनि यही हो । विलासी वस्तुले व्यापारघाटा बढाएको नाउँमा बदलिँदो प्रविधिलाई आत्मसात र उपयोग गर्नबाटै रोक लगाउने सरकारी अधिकारीहरूको तर्कलाई स्वाभाविक मान्न सकिँदैन । त्यसैले आयत प्रतिस्थापन र निर्यात वृद्धिका लागि सबैभन्दा पहिले उत्पादन वृद्धि नै उपयुक्त विकल्प हो । आयात प्रतिस्थापन भनेकै निर्यातसरह हो । ठूला औद्योगिक र मेसिनरी उत्पादन गर्न नसके पनि कृषिजन्य वस्तुदेखि साना तथा मझौला वस्तु उत्पादन आफैं गर्न सकिन्छ । यसैले उत्पादन वृद्धिमा जोड दिएर व्यापारघाटा कम गर्दै लैजानु सरकारको पहिलो प्राथमिकता बन्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्