Logo

नेपाली कांग्रेस निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक

नेपाली कांग्रेसको निर्वाचन केन्द्रीय परिचालन समितिले स्थानीय तह निर्वाचन २०७९ को समीक्षा गरी तयार गरिएको प्रतिवेदन पारित गरेको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको समितिको बैठकले स्थानीय तह निर्वाचन २०७९ को समीक्षा गरी समितिले तयार पारेको प्रतिवेदन पारित गरेको हो । बैठकमा पार्टीका केन्द्रीय सदस्यहरू तथा समितिका सदस्यहरूले प्रतिवेदनका विषयमा विभिन्न सुझावहरू दिनुभएको नेपाली काँग्रेस स्थानीय तह निर्वाचन परिचालन समिति सचिवालयकी संयोजक नानु बाँस्तोलाले जानकारी दिए । आवश्यक सुझावहरूलाई समेटेर सो प्रतिवेदन काँग्रेसको केन्द्रिय समिति बैठकमा पेस गर्ने निर्णय भएको पनि उनले बताए । उनले भने, ‘नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको आज बैठक सम्पन्न भएको छ । बैठकमा स्थानीय तह निर्वाचनको विषयमा समीक्षा गरिएको छ । आजको बैठकमा नेपाली कांग्रेस स्थानीय तह निर्वाचन परिचालन समितिले प्रतिवेदन तयार पारेको थियो । त्यो प्रतिवेदनको विषयमा आन्तरिक छलफल गरेर हामीले प्रतिवेदनलाई पास गरेका छौं । अधिकांश बोल्ने सदस्यज्यूहरू केन्द्रिय सदस्यहरू हुनुहुन्छ । विभिन्न भातृ संघ तथा शुभेच्छुक संघ–संस्थाका प्रतिनिधिहरू पनि समावेश हुनुहुन्छ । यो केन्द्रीय निर्वाचन परिचालन समितिमा । आदरणीय पूर्णबहादुर खड्काज्यूको संयोजकत्वमा बनेको समिति हो । अधिकांश बोल्ने वक्ताहरूले प्रतिवेदनमा समावेश गर्नुपर्ने अन्य समावेश नभएका सुझावहरू दिनुभएको छ । त्यो सुझावलाई आगामी दिनमा समावेश गरेर प्रतिवेदन तयार गर्ने र त्यसपछि नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा लगेर बैठकमा पनि जानकारी गराउने भन्ने आजको निर्णय भएको छ ।

प्रतिवेदनमा ७७ वटै जिल्लामा स्थानीय तह निर्वाचनमा के कस्तो अवस्थामा रह्यो र अहिले हेर्दाखेरी हामी प्रदेशमा पनि पहिलो पार्टी बनेका छौँ । त्यो विषयमा समावेश गरिएको छ । गठबन्धनका दलहरूसँग निर्वाचनमा भएका कमी, कमजोरी के भए र फाइदा हामीलाई के भयो के भएन भन्ने समावेश गरिएको छ । यो विषय छलफलकै रुपमा छ । उपसमितिहरूले पनि आ–आफ्नो प्रतिवेदन पेस गरेको । त्यसलाई पनि समितिको प्रतिवेदनमा समावेश गरिएको छ ।’
उनले समितिको प्रतिवेदनमा उपसमितिहरूले दिएका प्रतिवेदनहरूलाई पनि समावेश गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्