Logo

देउवालाई रचनात्मक दबाब दिने शेखर पक्षको निष्कर्ष

नेपाली कांग्रेस नेता डा.शेखर कोइराला पक्षधर नेताहरूले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई रचनात्मक दबाब (कन्स्ट्रक्टिभ विद्रोह) दिने निष्कर्ष निकालेका छन् ।
बिहीबार काठमाडौंमा भएको कोइराला पक्षीय नेताहरूका भेलाले पार्टी सभापति देउवालाई रचनात्मक दबाब दिने निष्कर्ष निकालेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस नेता चन्द्र भण्डारीले बैठकमा देशको आर्थिक, समसामयिक राजनीति, गठबन्धनात्मक विषयहरूमा छलफल गरेको बताए । उनले छलफलमा पार्टीको आन्तरिक कुरामा पनि जोड दिएको बताए ।

उनले भने, ‘देशको अहिलेको समसामयिक राजनीति, हाम्रो गठबन्धन, अहिले देशको आर्थिक अवस्था र भोलि हुने निर्वाचनको बारेमा र अहिले देशमा बढ्दै गएको महँगीका बारेमा हाम्रो लामो छलफल भइरहेको छ । पार्टीको आन्तरिक कुरामा पनि हामीले छलफल गरेका छौँ । यो भोलि २ बजेसम्मलाई स्थगित गरेर त्यसपछि शुरु हुनेछ । आजको बैठकमा कन्स्ट्रक्टिभ बिद्रोहको पनि कुरा भएको छ । पोल्टिकल सोचाईमा पनि परिवर्तन भएको छ । त्यसको आधारमा हाम्रो विचार समूहलाई कसरी लैजाने भन्ने कुरामा सबैभन्दा महत्वपूर्ण छलफल भएको छ ।’
नेता भण्डारीले छलफलमा राजनीतिक सोचाइमा परिवर्तन र त्यसको आधारमा आफ्नो समूहको विचारलाई कसरी अघि बढाउने भन्ने बारेमा पनि छलफल भएको बताए । उनले बैठक शुक्रबार २ बजेपछि पुनः बस्ने गरी स्थगित भएको बताए ।

प्रतिक्रिया दिनुहोस्