ब्वल्र्डलिंकको १० जीबीपीएस प्रविधिमा आधारित फाइवर नेटवर्क विस्तार «

ब्वल्र्डलिंकको १० जीबीपीएस प्रविधिमा आधारित फाइवर नेटवर्क विस्तार

वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्नो गिगाबिट प्यासिभ अप्टिकल नेटवर्क नेटवर्क स्तरोन्नती गर्न आवश्यक परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ ।
कम्पनीले आफ्नो फाईवर टु होम नेटवर्क अर्को सातादेखि क्रमशः एक्सजीएस – पोनमा अपग्रेड गर्दै लैजाने जानकारी गराएको छ । नेपालमा एक्सजीएस–पोनमा नेटवर्क अपग्रेड गर्ने वल्र्डलिंक पहिलो कम्पनी हो ।
यससँगै अब फाईवर टु होम इन्टरनेट सेवाको डाउनलोड स्पिड र अपलोड स्पिड समान दिन सकिने कम्पनीले जनाएको छ । यसअघि सेवा प्रदायकहरुले डाउनलोड स्पिडभन्दा अपलोड स्पिड थोरै दिने अवस्था थियो । विद्यमान जीपोन नेटवर्क प्रविधिमा २. ५ जीबीपीएस डाउनलिङ्क तथा १. २५ जीबीपीएस अपलिंक असममित ब्याण्डविथ भएकोले डाउनलोड समानकै अपलोड स्पिड उपलब्ध गराउन सम्भव थिएन । तर अब एक्सजीएस– पोन प्रविधिबाट सममित १० जीबीपीएस डाउनलोड स्पिड र १० जीबीपीएस अपलोड स्पिड समानरुपमा दिन सकिने छ । इन्टरनेट नेटवर्कमा पोन एउटा यस्तो विन्दु (एक्सेस लोकेशन) हो, जहाँबाट इन्टरनेटको मुख्य फाइवर पूर्वाधारबाट विभिन्न ग्राहकका लागि इन्टरनेटको फाइवर तार अलग्याएर लगिएको हुन्छ र घरको फाईवर राउटरमा जोडिएको हुन्छ ।

जीपोनको तुलनामा नयाँ १० जीबीपीएस एक्सजीएस पोनमा अपलिंक ब्याण्डविथको क्षमता आठ गुणा बढी र डाउनलिंक ब्याण्डविथको क्षमता चार गुणा बढी छ । साथै पोन नेटवर्क लेटेन्सीमा पनि जीपोनको तुलनामा केही सुधार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्