कालिञ्चोक जाने बाटो मर्मत गर्दै सेना «

कालिञ्चोक जाने बाटो मर्मत गर्दै सेना

नेपाली सेना अहिले दोलखाको प्रसिद्ध धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र कालिञ्चोकमा पैदलमार्ग मर्मतमा जुटेको छ । पर्यटकहरूको सुविधा र सुरक्षालाई ध्यान दिँदै नेपाली सेनाको रणभीम गण चरिकोटले पैदल बाटो मर्मत गर्न थालेको हो ।
पछिल्लो समय कालिञ्चोकमा बढ्दै गएको पर्यटकको घुइँचोलाई ध्यान दिँदै कालिञ्चोक क्षेत्रकै घ्याङडाँडाँदेखि कालिञ्चोकसम्मको बाटो रणभीम गणले मर्मत गर्न गर्न थालेको हो । अहिले कालिञ्चोक दर्शन लिमिटेडले कुरीदेखि कालिञ्चोक मन्दिर छेउसम्म केबलकार सञ्चालन गरे पनि अधिकांश पर्यटक हिँडेर मन्दिरसम्म पुग्न बाध्य छन् । पैदल यात्रीका लागि बाटो जोखिमयुक्त भएकाले अहिले जोखिमपूर्ण क्षेत्रमा मर्मत थालेको रणभीम गणका प्रमुख सेनानी विदुर अधिकारीले जानकारी दिए ।
कुरीबाट उकालो बाटो हुँदै कालिञ्चोक जाँदा ठाडै उकालो भएकोले कतिपय पर्यटकहरु घ्याङडाँडा हुँदै जाने गरेका छन् । तर २०७२ सालको विनासकारी भूकम्पका कारण यो बाटो भत्किएको र डाँडैडाँडा जानुपर्दा जोखिम भएकोले रणभीम गणले सो बाटोलाई मर्मत गर्न लागको हो । अत्यन्तै जोखिमयुक्त क्षेत्रमा ३ वर्षअघि पनि रणभीम गणले नै मर्मत गरी हिँड्न योग्य बनाएको थियो । सोही क्षेत्रमा थप बाटो अझै जोखिमयुक्त रहेकाले त्यसलाई पूरा गर्नका लागि एक सातादेखि काम जारी रहेको उनले जानकारी दिए ।
रणभीम गणका सेनानी सन्तोष राउतको नेतृत्वमा ३५ जनाको टोलीले वैशाख ६ गतेदेखि बाटो निर्माणको काम गरिरहेको छ । सेनाले बिग्रिएको ठाउँमा बाटो बनाउने, आवश्यकता अनुसार सिँडी राख्ने तथा रेलिङ राख्ने काम गरिरहेको छ । वैशाखको पहिलो साताभरि हिउँ परेकोमा हिउँ तथा जाडोको पर्वाह नगरी कालिञ्चोक क्षेत्रमै बसेर रणभीम गणले बाटो निर्माणकोमा स्थानीय बासिन्दा तथा यात्रुहरूले खुशी व्यक्त गरेका छन् ।
यही वैशाख २० गतेभित्र सम्पन्न गरिसक्ने गरी काम गरिरहेको र सो पैदल मार्ग निर्माणको लागि २ लाख रुपैयाँ नगद र २ लाख ५० हजार बराबरको जनशक्ति प्रयोग हुने रणभीम गणका गणपति प्रमुख सेनानी विदुर अधिकारीले जानकारी दिए । निर्माण सम्पन्न भएपछि स्थानीय सरकारलाई हस्तान्तरण गरिने रणभीम गणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्