सिमरा विमानस्थलको दैनिक उडान जोखिममा

धावनमार्गको कालोपत्रे अस्तव्यस्त बनेपछि सिमरा विमानस्थलको दैनिक उडान जोखिममा परेको छ ।
धावनमार्गलाई खण्ड खण्डमा कालोपत्रे गरेर तीन दिनदेखि निर्माण कम्पनीले काम रोकेपछि रनवे मै पानी जम्ने गरेको र विमान चिप्लने खतरासँंगै जोखिम बढेको हो । धावनमार्ग मर्मत र कालोपत्रेको काम बिना सूचना निर्माण कम्पनीले चार दिनदेखि रोकेर अलपत्र पारेको सिमरा विमानस्थलले जनाएको छ ।
सिमराबाट उडान भर्ने चार निजी विमान कम्पनीले अलपत्र रनवेमा उडान भर्न खतरा देखेर उडान संख्या घटाएर पाँचवटामा सीमित राखेको छ । सप्तकोसी जलाधार प्रालिले विवादित पप्पु कन्स्ट्रक्सनलाई पेटी ठेकेदारको रूपमा प्रयोग गरेपछि मर्मतकै चरणमा कमजोर र त्रुटिपूर्ण काम हुन थालेको थियो ।
रनवे कमजोर बन्ने टिकाउ नहुने भन्दै गुणस्तरबारे ब्यापक दबाब बढे पछि पेटी ठेकेदारको रूपमा काम गरेको पप्पु कन्स्ट्रक्सन पछाडि हटेको हो । यसअघि कामविहीन बनेको पप्पु कन्स्ट्रक्सनले आफ्नै प्राविधिक, इक्युपमेन्टसहित सप्तकोसीसँग पेटीमा काम सकारेकोे थियो ।
सम्झौताअनुसार छोटो समयमै काम सम्पन्न गर्न दबाब बढेपछि काम कमजोर गरेकाले मर्मत हेर्न प्राधिकरणले जिम्मा दिएको चारजना केन्द्रीय प्राविधिक टोलीसमेत सम्पर्कविहीन छन् ।
सिमरा विमानस्थलका अधिकृत राम ललित राउतले चार दिनदेखि रनवेको मर्मतकार्य रोकिएको छ, के कारणले रोकिएको आफूहरूलाई जानकारी नभएको बताए । उनले प्राधिकरणको केन्द्रीय कार्यालयले खटाएको चारजना प्राविधिक टोलीसमेत काठमाडौं फर्किसकेका हुन् कि कता गएका हुन् कार्यालयलाई कुनै जानकारी नभएको बताए ।
नियमन निकायलाई अटेर गरी निर्माण कम्पनीले काम सक्न पानी परिरहेकै अवस्थामा रनवेको सूचक चिन्ह पेन्टमाथि नै अस्तर लगाई धमाधम कालोपत्रे गरेको थियो । सिलकोट र साना गिट्टीको समान साइज नभएको, बिटुमीनको क्वालिटीसमेत नखुलको बुझिएको छ । अन्यत्र साइटबाट मिश्रण गरेर रनवेमा ल्याइने कालोपत्रे चेकजाँच बिनै धमाधम रनवेमा बिच्छाइएको थियो ।
पानी परेकै बेला गरिएको रनवेको कालोपत्रेको लेबल नमिलेको, पानी जम्ने गरेको, खाल्डाखुल्डी रहेको र ज्वाइन्ट तलमाथि परेको छ भने क्रंकिट र पिचको मिश्रणसमेत छुटेको अवस्था प्रष्ट देख्न सकिन्छ ।
दिउँसो १ बजेदेखि बिहान ५ बजेसम्म नो टाइममा नागरिक उड्डययन प्राधिकरणले मर्मत गर्न निर्माण कम्पनीलाई जिम्मा दिएको छ । विमानस्थलका प्रबन्धक भूपेन्द्र भट्टले रनवे मर्मतको सबै काम केन्द्रबाट नै हुने हुँदा आफूलाई यस विषयमा केही जानकारी नभएको बताए ।

बिहान ५ बजेदेखि दिउँसो १ बजेसम्मको उडान अवधिबाहेक अन्य समयमा धावनमार्गको एक हजार १ सय ९० मिटर मर्मत र कालोपत्रे सम्पन्न गर्ने सर्तमा सप्तकोसी जलाधार प्रालिले १० करोडमा ठेक्का सम्झौता गरेकोे थियो । बोलपत्रअनुसार सप्तकोसी जलाधार प्रालिले जेठ २४ गतेदेखि असार १२ गतेभित्र विमानस्थलको एक हजार १ सय ९० मिटर धावनमार्ग मर्मत तथा कालोपत्रे सम्पन्न गर्ने जिम्मा पाएको छ ।
निर्माण चरणमै काम कमजोर भएपछि केन्द्रीय प्राधिकरणका इन्जिनियर स्मीता पुन्जालीले मर्मतकै चरणमा भएका त्रुटिपूर्ण काम सच्याउँदै लैजाने बताएका थिए । करिब ४० प्रतिशत काम सकिएको भनिएको रनवेको त्रुटिपूर्ण काम सच्याउन निर्माण कम्पनीलाई दबाब बढेपछि लागत बढने देखेर काम रोकिएको हुनसक्ने बताइएको छ । रनवे मर्मत रोकिनुको कारणबारे सप्तकोसी जलाधार प्रालिले जानकारी दिन आनाकानी गरेको छ ।
तीन क्षेत्र प्रत्यक्ष प्रभावित
सिमरामा सञ्चालित विमानस्थल पूर्णरूपमा सञ्चालनमा नहुँदा, विमान कम्पनी, राजस्व र सेवाग्राही मारमा परेका छन् ।
निजी विमान कम्पनी बुद्ध एयरले सात, यती एयरलाइन्सले दुई, श्री र गुण एयरले एक÷एक गरी दैनिक ११ उडान भर्ने गरेको छ । उपत्यका बाहिरको व्यस्तमध्ये एक मानिने सिमरा विमानस्थलमा मर्मत सुरु हुनुअघि करिब दुई हजार यात्रुले दैनिक सेवा लिँदै आएका थिए । एक यात्रुले काठमाडौं सिमरा आवतजावत गर्दा नौ सय रुपैयाँ प्राधिकरणलाई राजस्व तिर्ने गर्दछन् ।
करिडोरका उद्यमी, व्यवसायी, भारतीय पर्यटक र सर्वसाधारणले प्रयोग गर्ने सिमरा विमानस्थलमा उडान प्रभावित बन्दा स्थानीय ब्यापारसमेत घटेको छ । विमानस्थलकै आधारमा सञ्चालित दर्जनांै टेक्सी सर्भिस, केही रेस्टुराँको व्यापार २० प्रतिशतमा झरेको छ ।
रनवे मर्मत अनिश्चित बनेपछि निजी विमान कम्पनीले उडान घटाउने बताएसँगै सिमरा सहरको व्यापारसमेत प्रभावित बन्ने जितपुर सिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले बताए ।