काबेली प्रसारण लाइनको दोस्रो खण्ड निर्माण सम्पन्न «

काबेली प्रसारण लाइनको दोस्रो खण्ड निर्माण सम्पन्न

१३२ केभीको काबेली करिडोर प्रसारणलाइन आयोजनाको दोस्रो खण्डको निर्माण कार्य सम्पन्न भएको छ ।
आयोजनाअन्तर्गत इलामको सोयाकदेखि पाँचथरको फिदिम खण्डसम्मको निर्माण सकिएको हो । निर्माण सकिएसँगै शनिबारबाट परीक्षण प्रसारण सुरु गरिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । “निर्माणमा स्थानीयको अवरोध, वन क्षेत्रको जग्गा प्रयोगमा रहेको समस्या झेल्दै रुग्ण अवस्थामा पुगेको यो खण्ड स्थानीय तहका जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकायलगायतको निरन्तरको सहयोगमा निर्माण सम्पन्न गर्न सफल भएका छौं,” घिसिङले भने, “अब त्यस क्षेत्रमा निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजनाको विद्युत् प्रसारणलाइन अभावमा खेर जाने छैन ।” उनले फिदिम–अमरपुर (पाँचथर) तेस्रो खण्डको निर्माण अगामी असारभित्र सम्पन्न गरी प्रसारणलाइन सञ्चालनमा ल्याउने बताए ।
प्राधिकरणका अनुसार, सोयाकबाट एउटा लाइन इलामको गोदक र अर्को लाइन झापाको लखनपुरतर्फ लगिएको छ । सोयाकबाट दुवै लाइन पाँचथरको फिदिमस्थिति थापाटार सबस्टेसनमा जोडिएको छ । ४२.८८ किलोमिटर लम्बाइ भएको प्रसारण लाइनको दोस्रो खण्डमा १२६ वटा टावर छन् ।
पाँचथर र ताप्लेजुङमा रहेका कावेली, हेवा, माईलगायतका खोलामा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि काबेली करिडोर निर्माण गरिएको हो । झापाको लखनपुरबाट सुरु भएको ९१ किमि प्रसारणलाइन इलाम, पाँचथर, तेह्रथुम हुँदै पाँचथरकै अमरपुरसम्म पुग्छ । प्रसारण लाइनलाई तीन खण्डमा विभाजन गरी निर्माण गरिएको हो । आयोजनाले निर्माण गर्नुपर्ने २६१ वटा टारमध्ये तेस्रो खण्डको एउटाको मात्रै काम बाँकी छ ।
लखनपुर–गोदक पहिलो खण्डको ३५ किमि प्रसारणलाइन २०७२ को असोजबाटै सञ्चालनमा आइसकेको छ । आयोजनाले यसअघि नै दमक, गोदक, थापाटार (फिदिम) र अमरपुरमा १३२÷३३÷११ केभी सबस्टेसनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइसकेको छ । प्रसारण लाइनको बाटो (राइट अफ वे)मा पर्ने जग्गाको शतप्रतिशत क्षतिपूर्ति दिनुपर्ने, रुट परिवर्तन गर्ने लगायतका माग राखी इलामको मंगलबारे, चमैता, सिद्धिथुम्का पाँचथरको फिदिम जोरसाल क्षेत्रका स्थानीयले प्रसारणलाइन निर्माणमा अवरोध गरेका थिए ।
काबेली करिडोरको दोस्रो खण्डमा निजी क्षेत्रले निर्माण गरेका १४.९ मेगावाटको हेवाखोला ‘ए’ र २२.१ मेगावाटको तल्लो हेवाखोला जलविद्युत् आयोजना जोडिने छन् । हेवाखोला ‘ए’ अहिले सञ्चालनमा छ भने तल्लो हेवाखोला निर्माणको अन्तिम चरणमा छ । हेवाखोला ‘ए’ को विद्युत् अहिले अस्थायी रूपमा ३३ केभी प्रसारण लाइनमा जोडिएको छ । दुवै आयोजना थापाटार सबस्टेसनमा जोडिने छन् । १३.३३ किमि लम्बाइ भएको तेस्रो खण्डमा पर्ने ४० वटा टारमध्ये ३९ वटाको निर्माण सकिएको आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले जानकारी दिए । “बाँकी एउटा टावर खडा हुँदैछ, करिब ७ किमि तार तानिसकेका छौं, बाँकी काम सकेर १५ असारभित्रमा लाइन सञ्चालन गर्ने गरी काम गरिरहेका छौं,” उनले भने ।
३७.६ मेगावाटको काबेली ‘ए’, २५ मेगावाटको काबेली बी–१, १० मेगावाटको रैराङलगायतका निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजनाको विद्युत् तेस्रो खण्डमा जोडिने छ । काबेली करिडोर प्रसारणलाइन निर्माण करिब १० वर्षअघि सुरु गरिएको थियो । ठेकेदारको कमजोर कार्यसम्पादन, प्रसारण लाइनको ‘राइट अफ वे’ मा स्थानीयको अवरोध, रुख कटान स्वीकृतिमा भएको ढिलाइलगायतले आयोजनाको काम ढिलाइ भएको हो ।
३ करोड १० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजना नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस्