चेकको आंशिक भुक्तानीको व्यवस्था «

चेकको आंशिक भुक्तानीको व्यवस्था

‘मैले मर्नुभन्दा ठिक्क अगाडि काटेको चेक चाहिँ बाउन्स होस्’ भनी प्रसिद्ध अमेरिकी लेखक तथा अर्बपति चक फिनेले ठट्यौलीमा भने । चेक बाउन्स हुनु कति गम्भीर विषय हो भन्ने कुरा उनको भनाइबाट पनि अनुमान लगाउन सकिन्छ । आजको अवस्थामा कठोर कानुनी व्यवस्थाका कारण आपूmले जारी गरेको चेक बाउन्स होस् भनी सायद कसैले पनि चाहँदैन ।
तपाईंलाई कसैले दिएको चेक साट्न घण्टांै लाममा बसेपछि रकम अपुग भएको भनी चेक बाउन्स भएर बैंकको काउन्टरबाट रित्तै हात फर्किनुपर्दा कस्तो खल्लो लाग्छ, मलाई पनि कम्ती नरमाइलो लाग्दैन । बरु त्यसको साटो खातामा जेजति रकम छ, त्यो रकम लिएर जान पाए त्यो अमिलोपन अलि कम पक्कै हुन्छ । तर, नेपालमा भने चेकको आंशिक भुक्तानीको व्यवस्था नभएका कारण यस लेखमा भनिएजसरी गर्न तत्काल सम्भव देखिँदैन । तर, यस प्रसगंमा विश्व परिदृश्य भने अलि फरक भइसकेको छ ।
नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशिका २०७८ को कर्जा सूचना तथा कालोसूचीसम्बन्धी निर्देशिकाको बुँदा १० (२) मा खातामा मौज्दात अपर्याप्त भएका कारण चेक फिर्ता भएमा त्यस्तो व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले आवश्यक प्रक्रिया पूरा गरी कालोसूचीमा समावेश गर्नुपर्ने भनी तोकेको देखिन्छ । यसरी नेपालको केन्द्रीय बैंकले पनि चेकको आंशिक भुक्तानीको परिकल्पना गरेको छैन । विनिमय अधिकार पत्र ऐन, २०३४ को दफा ९ ले पनि खातामा अपर्याप्त रकम भएका कारण चेक फिर्ता हुने अवस्था र सोही ऐनको दफा १०७ (क) मा चेक बाउन्स हुँदा हुने रु. ३ हजार जरिवाना र तीन महिनाको कैद वा दुवै सजाय हुने कानुनी उपचारको उल्लेख छ । बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ३ (ग) मा खातामा अपर्याप्त रकम भएर पनि चेक जारी भई फिर्ता भएमा दण्डनीय अपराध भनी परिभाषित गरेको छ ।
मित्रराष्ट्र युएईको केन्द्रीय बैंकले चेकको आंशिक भुक्तानीलाई सन् २०२१ को जनवरी देखि कानुनी मान्यता दिई अभ्यासमा ल्याएसँगै चेकबराबरको रकम खातामा नभए पनि कम रकम स्वीकार गरी चेकको आंशिक भुक्तानीको सुरुवात गरेको छ, जसका निम्ति निम्नानुसारको अभ्यास भएको पाइन्छ ः

प्रक्रिया
अन्तर्राष्ट्रिय रूपमा चेकको आंशिक भुक्तानी सम्बन्धमा विभिन्न मापदण्डहरू अभ्यास भइआएको पाइन्छ, जसमध्ये आंशिक भुक्तानीको न्यूनतम रकम चेकको रकमको कम्तीमा ५ प्रतिशत हुनुपर्ने, व्यक्ति वा संस्था दुवैले जारी गरेको चेकको हकमा यो अभ्यास लागू हुने तथा आंशिक भुक्तानी प्राप्त गर्ने व्यक्ति स्वयं उपस्थित हुनुपर्ने, रकम भने नगदै वा खातामा संकलन हुन सक्ने जस्ता छन् । त्यस्तै चेकको आंशिक भुक्तानी भएको प्रमाणित निस्सासहितको सक्कल चेक बैंकले धारकलाई फिर्ता दिने, हरेक पटक चेकको आंशिक भुक्तानी लिँदा सक्कल चेक पेस गर्नुपर्र्र्र्ने, क्लियरिङबाट आंशिक भुक्तानी नहुने एवं धारक (बियरर) चेकको मात्र आंशिक भुक्तानी हुने जस्ता अभ्यासहरू प्रचलनमा रहेको पाइन्छ । नेपालमा पनि अन्तर्राष्ट्रिय अभ्यासहरूलाई मनन गर्दै आफ्नो देशअनुकूल नियम बनाउन सकिन्छ ।

फाइदा
नेपाल प्रहरीद्वारा प्रकाशित तथ्याङ्कअनुसार गत तीन आर्थिक वर्षमा मात्रै ८ हजार ८ सय ४९ बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएका छन्, जसमध्ये अधिकांश मुद्दा चेक बाउन्ससम्बन्धी छन् । चेकको आंशिक भुक्तानीसम्बन्धी व्यवस्थाको सुरुवात भएमा यसबाट चेक अनादर भएर पैदा हुन सक्ने आपराधिक गतिविधि, रिसइबी, झैझगडामा कमी भई सामाजिक सौहार्दता कायम हुन मद्दत पुग्ने व्यवसाय तथा लेनदेनको कारोबारमा थप लचकता आउने तथा चेक अनादरसम्बन्धी मुद्दाहरूमा कमी आई सम्मानित अदालतको समय बचत हुनेछ । त्यस्तैगरी बैंक तथा वित्तीय संस्थाप्रतिको सर्वसाधारणको आस्थामा वृद्धि हुन गई समग्र अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने एवं वित्तीय अपराधका घटनाहरूमा कमी आई समग्र राष्ट्रको वित्तीय रेटिङ बढ्न गई प्रत्यक्ष वैदेशिक लगानीमा समेत वृद्धि हुन सहयोग पुग्ने देखिन्छ ।
हेर्दा सामान्य लाग्ने तर सर्वसाधारणको दैनिक व्यवहारमा सहजीकरण हुने यस्ता नवीन अभ्यासहरूले समाज तथा अर्थतन्त्रमा दूरगामी एवं सकारात्मक प्रभाव पर्न जाने देखिन्छ । वित्तीय अपराधका श्रृङ्खलामा महŒवपूर्ण हिस्सा ओगट्ने चेक अनादरका घटनाहरू दिनानुदिन बढिरहेको सन्दर्भमा नेपालमा पनि चेकको आंशिक भुक्तानीको अभ्यासको सुरुवात गर्न नेपाल राष्ट्र बैंकलगायत सम्बन्धित निकायहरूले सोच्ने बेला भएको हो कि ?
(लेखक वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट हुन् ।)

प्रतिक्रिया दिनुहोस्