लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्रीको राजीनामा «

लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्रीको राजीनामा

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छिन् । उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएकी हुन् ।
माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले १२ गते नै वलीले राजीनामा दिएको बताए । स्वास्थ्य राज्यमन्त्री वलीको राजीनामा मुख्यमन्त्रीले स्वीकृत गरेका छन् । वलीले आफूमाथि भइरहेको छानबिनलाई सहज बनाउन भन्दै बुझाएको राजीनामा स्वीकृत गरेको मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभालाई बुधवार जानकारी गराएका हुन् ।

प्रतिपक्षी दलले वलीमाथि भइरहेको छानबिनबारे सदनमा प्रश्न उठाएपछि जवाफ दिँदै मुख्यमन्त्री केसीले यही असार १२ गते वलीले राज्यमन्त्री पदबाट दिएको राजीनामा स्वीकृत भएको जानकारी गराएका हुन् । उनले छानबिनको सहजताका लागि राजीनामा दिएको भन्दै धन्यवाद दिए । वलीका पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचनमा उनलाई दाङको क्षेत्र नम्बर ३ (ख) मा उठाइएको थियो । उनी तत्कालिन एमाले पार्टीबाट विजयी भएकी हुन् । एमाले विभाजित भएपछि उनी माओवादीमा प्रवेश गरेकी हुन् र माओवादीको कोटाबाट राज्यमन्त्री बनेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्