विपद् पूर्वतयारीमा जुटे स्थानीय तह «

विपद् पूर्वतयारीमा जुटे स्थानीय तह

मनसुन भित्रिन थालेपछि जुम्लाका स्थानीय तह विपद पूर्वतयारीमा जुटेका छन् । प्राकृतिक प्रकोपजन्य घटनाबाट हुने क्षति न्यूनीकरण तथा छिटो छरितो राहत उद्दार र पुनःस्थापनका लागि स्थानीय तह विपद् पूर्वतयारीमा जुटेका हुन् । जुुम्लाको एक नगरपालिका र सात गाउँपालिकाले आगामी आवको बजेटमा विपद् व्यवस्थापनका लागि न्यूनतम १५ लाखदेखि ५० लाखसम्म बजेट विनियोजन गरेका छन् ।
सोमबार जिल्ला प्रशासनमा आयोजित विपद् व्यवस्थापन समितिको बैठकमा जुम्लाका आठै स्थानीय तहका प्रमुख र उपप्रमुखले विपद् जोखिम न्यूनीकरणका लागि अन्तरपालिका बीच प्रभावकारी समन्वय र सहकार्य गर्ने प्रतिबद्धता गरेका छन् । पूर्वसूचना प्राप्त, तत्काल जनशक्ति परिचालन, राहत उद्दार तथा पुनःस्थापनका लागि अन्तरपालिका बीच हातेमालो हुनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले बताए । उनले भने, “विगतमा समन्वय नहुँदा जोखिम न्यूनीकरण तथा राहत उद्दारमा ढिलाइ भयो । पूर्वतयारी पनि मजबुद देखिएन । मनसुन भित्रिन थालेको छ । योजनासहितको पूर्वतयारीमा सबै स्थानीय तह एकजुट हुन आवश्यक देखिएको छ ।”
चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले विपद् पूर्वतयारीसँंगै विपद् प्रतिकार्य योजना निर्माणमा जोड दिनुपर्ने बताए । जुगाड खोला सरसफाइदेखि बाढी पहिरोलगायतका घटनाबाट प्रभावितको राहत उद्दारमा नगर तयार रहेको उनको भनाइ छ ।
विपद्बाट हुने जनधनको क्षति कम गर्न मजबुद पूर्वतयारी प्रतिकार्य योजना आवश्यक छ । हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले भने, “हिमाले विपद् व्यवस्थापनमा पाँच लाख विनियोजन गरेको छ । राहत उद्दार र पुनःस्थापनाको नीतिगत व्यवस्थापन हुन जरुरी छ । हिमामा पालिकास्तरीय उद्दार टोली पनि बनाउँदै छौं । विपद् व्यवस्थापनको बजेट बढाउने सोचमा छौं ।” यता तातोपानीका अध्यक्ष नन्दप्रसाद चौलागाईंले विपद व्यवस्थापनले आफ्नो पालिकाले ४५ लाख छुट्याएको बताए । आठै पालिका र प्रहरी प्रशासनको सहकार्य बिना विपद् जोखिम न्यूनीकरण सम्भव नरहेकोले हातेमालो गर्नुपर्नेमा जोड दिए ।
नागरिक अगुवा राजबहादुर महतले बाढी पहिरो, सडक अवरुद्ध, खाद्यान्न आपूर्ति, पुनःस्थापना, उपचारलगायतका राहत उद्दारका कार्य छिटो छरितो गर्नका लागि सडक, खाद्य, स्वास्थ्य, कृषिलगायतका सरोकारवाला निकाय तैनाथ हुनुपर्ने सुझाव दिए ।

५९ लाख राहत वितरण
जिल्ला प्रशासन कार्यालय जुम्लाले चालू आवमा झण्डै ५९ लाख बढी राहत वितरण गरेको छ । बाढी पहिरो, आगलागीजस्ता विपद्बाट प्रभावित तथा कोभिड प्रभावितलाई प्रशासनले चालू आवमा करिब ५९ लाख ३० हजार बढी राहत वितरण गरेको हो ।
जुम्लामा चालू आवको हालसम्म बाढी पहिरो र आगलागीमा परी मृत्यु भएका ११ जनाको मृत्यु भएको छ । मृत्यु भएका ११ जनाको घर परिवारलाई प्रशासनको विपद् व्यवस्गापन कोषबाट १९ लाख राहत वितरण गरिएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताइन् ।
सोमबार विपद्को बैठकमा प्रजिअ प्रसाईंले अन्य हिउँ पहिरोमा परेका, बाढीमा परेका विपद प्रभावितलाई भने १५ लाख ३० हजार गरी जम्मा ३४ लाख ३० हजार राहत वितरण गरिएको उनको भनाइ छ । त्यस्तै पहिलो र दोस्रो र तेस्रो लहरको कोभिडबाट मृत्यु भएकालाई परिवालाई २५ लाख राहत वितरण गरिएको छ भने यसरी विपद् र कोभिड प्रभावितलाई गरी जम्मा ५९ लाख ३० हजार राहत उपलब्ध गराइएको हो ।
साथै विपद् व्यवस्थापनको टोलीले चालू आवको हालसम्म १३ वटा आगलागीका घटना नियन्त्रण, पाँचवटा विपद् उद्दारको सिमुलेसन, हिउँमा फसेको उद्दार, कोभिड रोकथाम नियन्त्रणलगायका काम गरेको छ ।
भकारी परियोजनाका विपद् सल्लाहकार टिकाराम खड्काले जुम्लामा आठ पालिकामध्ये तिला र तातोपानीको मात्रै आपतकालीन विपद व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७८ बनेको बताए । अन्य ६ पालिकाको विपद व्यवस्थापन कोष संचालन कार्यविधि बन्न बाँकी छ । नदी नियन्त्रण रोक्नुपर्ने, डोजरे विकास अन्त्य गर्नुपर्ने, वृक्षरोपण गर्नुपर्ने र विपद्मा पूवृतयारीको ठोस योजना बनाई सतर्क हुनुपर्ने जुम्लाका राजनीति दलको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्