पातारासीको जोड शिक्षा र सडकमा «

पातारासीको जोड शिक्षा र सडकमा

शिक्षा, कृषि, सडक र खानेपानी क्षेत्रलाई प्राथमिकता दिँदै जुम्लाको पातारासी गाउँपालिकाले बजेट ल्याएको छ । नीति तथा कार्यक्रमा उत्पादनमुखी क्षेत्रसँंगै शिक्षा, कृषि, सडक र खानेपानीलाई प्राथमिकता दिएको पातारासीले बजेटमा पनि सोहीअनुसार प्राथमिकता दिएको हो ।
१० असारमा पातारासी गाउँपालिकाका उपाध्याक्ष जनमाया रोकायाले आगामी आव २०७९/०८० का लागि अनुमानित ४५ करोड ५८ लाख १९ हजार बराबरको बजेट प्रस्तुत गरेको पातारासीका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले बताए । उनले भने, “पातारासीको नवौं गाउँसभामा प्रस्तुत ४५ करोढ बढीको बजेटले शिक्षा, कृषि, सडक र खानेपानीलाई प्राथमिकता दिएको छ भने अन्य क्षेत्रलाई आवश्यकताको आधारमा गाउँबस्तीबाट माग भई आएका योजनामा बजेट छुट्याइएको छ ।” आगामी आवको बजेट र नीतिले पातारासीको विकास निर्माण र सेवा प्रवाहलाई गती दिन इँट्टा थप्ने धितालको विश्वास छ ।
पातारासीको शिक्षा क्षेत्रको अपेक्षित विकास र उपलब्धि हुन नसकेको र अधिकांश बालबालिका जडिबुटी संकलनमा आर्कषित हुने विद्यालय छोड्ने समस्या पातारासीमा अझै विद्यमान छ । विद्यालयमा बालबालिकाको पहुँच वृद्धि गर्न, शैक्षिक गुणस्तर हासिल गर्नका लागि पातारासीले शिक्षा क्षेत्रमा जोड दिएको प्रमुख प्रशासकीय अधिकृत बुढ्थापाले उल्लेख गरे ।

विगतमा निर्माण भएका सडकलाई पूर्णता दिन तथा नयाँ सडक निर्माण गर्न, कृषि क्षेत्रको उत्पादन वृद्धि र किसानको जीवीकोपार्जनमा सुधार ल्याउन ठोस नीतिसँंगै बजेटका पनि प्राथमिकता दिएको पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले बताए । उनका अनुसार भर्खर निर्वाचित भएर आएको हुनाले पनि नागरिकको अपेक्षाअनुसार चाहाना अनुसारको विकास गर्नतर्फ पातारासीका जनप्रतिनिधिको ध्यान केन्द्रित भएको छ ।
बजेटले पातारासीका सातवटै वडाको शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सिँचाइ, पर्यटन तथा पूर्वाधार क्षेत्रको समानुपातिक विकासमा जोड दिएको पातारासीकी उपाध्यक्ष जनमाया रोकायाले बताइन् । महिला शसक्तिकरण, विपद् व्यवस्थापन, उत्पादन वृद्धिका क्षेत्रमा पनि जोड दिइएको छ ।
नयाँ जनप्रतिनिधिले वितरणमुखीभन्दा आश्यकतामुखी विकास र बजेट विनियोजनमा जोड दिएर छिटो छरितो सेवा प्रवाह र दिगो विकासमा जोड दिने पातारासीबासीको आशा छ । नवौं गाउँसभामा प्रस्तुत नीति कार्यक्रम तथा बजेटमाथि पातारासीले दफाबार छलफल गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्