मोदी गाउँपालिकाका सबै वडामा हेलिप्याड निर्माण गरिने «

मोदी गाउँपालिकाका सबै वडामा हेलिप्याड निर्माण गरिने

पर्वतको मोदी गाउँपालिकाले सबै वडामा हेलिप्याड निर्माण गर्ने भएको छ ।
गाउँपालिकाका नागरिक बिरामी पर्दा र अन्य विपद्का घटनामा आकस्मिक उद्धार तथा राहत प्रदान गर्न सकियोस् भनेर गाउँपालिकाका आठवटै वडामा हेलिप्याड निर्माण गरिने भएको हो । गाउँपालिकाले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति, कार्यक्रम तथा बजेटमा सवै वडाको केन्द्रबिन्दुमा एक/एक वडा हेलिप्याड निर्माण गरिने भएको हो ।

पालिकाका आठवटै वडामा यातायाताको सुविधा पुगेको छ । त्यसमध्ये धेरैजसो वडामा पक्की सडकको समेत पहुँच छ । तर पनि विकट बस्तीमा आकस्मिक उद्धार र राहत तथा अन्य भैपरी आउने घटनाका लागि हेलिप्याड बनाउने कार्यक्रमलाई प्राथमिकताका साथ राखिएको गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले जानकारी दिइन् । उनका अनुसार उपयुक्त स्थानको छनोट गरेर आगामी आर्थिक वर्षभित्रै सबै वडामा हेलिप्याड बनाउन बजेटसमेत विनियोजन गरिएको जानकारी दिइन् ।
गाउँपालिकाले २० युनिटसम्मको विद्युतको शुल्क बेहोर्ने गरी १८ लाख विनियोजन गरेको छ । आगामी वर्षको नीति तथा कार्यक्रममा उद्यमशीलताको विकास, स्वरोजगारमूलक कार्यक्रम, स्वरोजगार धितो कोष, बृहद् कृषि गुरुयोजना, प्राविधिक कृषि शिक्षा, कृषि एम्बुलेन्स, पाडापाडी संरक्षण, कोल्ड स्टोर निर्माण, रैथाने बाली प्रवद्र्धन, कृषक राहत कार्यक्रमजस्ता कुरालाई प्राथमिकतामा राखिएको अध्यक्ष शर्माले बताए । गाउँपालिकाभित्र रहेका पर्यटकीयस्थलको विकास र प्रवद्र्धन गर्न संघ र प्रदेशसँग सहकार्य गरेर विभिन्न कार्यक्रम सञ्चालन गरिने भएको छ । त्यसैगरी सबै वडामा बर्थिङ सेन्टर स्थापना, सुत्केरीसँग अध्यक्ष कार्यक्रम, गाउँपालिकाको केन्द्रमा बृहद् सार्वजनिक पुस्तकालयसमेत स्थापना गरिने भएको छ । त्यसैगरी दिदीबहिनीसँग अध्यक्ष कार्यक्रम, युवासँंग उपाध्यक्ष कार्यक्रमलगायतका नयाँ कार्यक्रमसमेत पालिकाले सार्वजनिक गरेको छ ।
बजेटअघि गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित भएको छ ।

प्रतिक्रिया दिनुहोस्