ई–सेवा मनी ट्रान्सफर र लुलुबीच रेमिटेन्स भुक्तानी सम्झौता «

ई–सेवा मनी ट्रान्सफर र लुलुबीच रेमिटेन्स भुक्तानी सम्झौता

ई–सेवा मनी ट्रान्सफर र विदेशी मुद्रा एक्सचेन्ज तथा विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको युएईस्थित लुलु इन्टरनेसनल एक्सचेन्जबीच रेमिटेन्स भुक्तानी सम्झौता भएको छ ।
सम्झौतासँगै युएईका प्रमुख स्थान अबुधाबी, दुबई र सारजाहलगायत युएई का सातैवटा इमिरेट्समा बस्दै आएका नेपालीले लुलु इन्टरनेसनल एक्सचेन्जमार्फत नेपालमा रेमिटेन्स पठाउन सक्नेछन् ।
उनीहरूले युएई भरी रहेका लुलुका ८४ वटा शाखामध्ये कुनै पनि शाखामा गई ई–सेवा मनी ट्रान्सफरको माध्यमबाट नेपालमा पैसा पठाउन सक्नेछन् । यसका साथै, लुलु इन्टरनेशनल एक्सचेञ्जको मोबाइल एप (लुलु मनी) मार्फत पनि छिट्टै नेपालमा पैसा पठाउन सक्नेछन् ।
लुलु इन्टरनेशनल एक्सचेञ्जका शाखाबाट नेपालमा पैसा पठाउँदा, पठाउने व्यक्तिले ६० भन्दा धेरै बैंकका खातामा सिधै रकम पठाउन सकिनेछ भने ६० लाखभन्दा बढी प्रयोगकर्ता रहेकोे ई–सेवा वालेटमा पनि सोझै रकम पठाउन सकिनेछ । लुलु इन्टरनेशनल एक्सचेञ्ज हुँदै युएईबाट पठाएको रेमिटेन्स, नेपालका अधिकांश ठाउँमा रहेका ई–सेवा मनी ट्रान्सफरका रकम भुक्तानी केन्द्र तथा ई–सेवाका क्यास प्वाइन्ट मार्फत पनि रकम झिक्न सकिनेछ ।

यसका साथै, पठाएको नगद रेमिटेन्स भुक्तानी केन्द्रमा नगई सोझै ई–सेवा वालेटमा प्राप्त गरी अतिरिक्त ७७ रुपैयाँ बोनस रकम समेत प्राप्त गर्न सकिनेछ । यसैगरी हाल ई–सेवा मनी ट्रान्सफरको ‘रेमिटोत्सव’ योजना चलिरहेको हुनाले युएईस्थित नेपालीहरूले लुलु इन्टरनेशनल एक्सचेञ्जबाट ई–सेवा मनी ट्रान्सफरमार्फत नेपाल रकम पठाई दैनिक पाँच हजार रुपैयाँ तथा बम्परमा पचास हजार रुपैयाँ समेत जित्न सकिनेछ ।
रेमिटेन्स भुक्तानी सम्बन्धि सम्झौता पत्रमा ई–सेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेस कोइराला र लुलु इन्टरनेसनल एक्सचेन्जका तर्फबाट सहायक प्रमुख थम्पी सुदर्शननले हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्