‘संघीयता सफल पार्नुको विकल्प छैन’ «

‘संघीयता सफल पार्नुको विकल्प छैन’

नेपाली कांग्रेसका नेताहरुले संघीयताको विकल्प नरहेको धारणा राखेका छन् । मंगलबार ‘संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन सम्बन्धी संसदीय विशेष समिति’ले सिंहदरबारमा आयोजना गरेको ‘संघीयता कार्यान्वयनको अवस्था, चुनौती र अबको बाटो’ विषयक छलफल कार्यक्रममा नेताहरुले संघीयतालाई सफल पार्नुको विकल्प नरहेको बताएका हुन् ।
कार्यक्रममा संविधानसभा सदस्य तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले संघीयतालाई सफल पार्नुको विकल्प नरहेको बताए । उनले संघीयता, गणतन्त्र, लोकतन्त्र र समावेशिता संविधानको चार खम्बा रहेको उल्लेख गर्दै कुुुुुनै एक खम्बा झिकेर अरु खम्बालाई बचाउन नसकिने बताए । उनले राजनीतिक अस्थिरताका कारण संघीयता कार्यान्वयनमा असर परिरहेको बताए । राजनीतिक अस्थिरताका कारण पार्टी फुट्ने र सरकार परिवर्तन हुने गर्दा प्रदेश सभाहरुले चाहेजस्तो काम गर्न नसकेको उनको भनाइ थियो ।
उनले भने, ‘संविधानको चारवटा हो मूल पिल्लर । हुन त धेरै तत्वहरु छ, धेरै कुरा छ तर संघीयता, गणतन्त्र, लोकतन्त्र, समावेशिता मूल कुरा हो । यो चारवटा मेजर पिल्लरहरु हो । कहिलेकाहीँ मानिस के भनिराखेको पनि सुनिन्छ भने यो संघीयता त आवश्यक भएन चाहिँदैन कि भन्ने पनि स्वर सुनिन्छ । तर यसलाई सफल पार्नु बाहेक अरु विकल्प छैन ।’
उनले प्रदेश र स्थानीय तहमा अधिकार, जनशक्ति, स्रोत, साधन र विज्ञताको अभाव रहेको बताए । नेता लेखकले आर्थिक पारदर्शिताको पनि अभाव रहेको बताए । त्यसैगरी छलफल कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभाका पूर्व सांसद सुरेन्द्रराज पाण्डेले जनताले अपेक्षा गरे अनुसार संघीयताको फल पाउन नसकिएको बताए । उनले दुई तहको संघीयताको बारेमा बहस गर्ने बेला भएको बताए । उनले भने, ‘संघीयता जुन खालको कल्पना गरेर हामीले लागु गर्ने प्रयत्न ग¥यौँ, त्यो खालको रिजल्ट अथवा जनताको अपेक्षा अनुसार त हामीले संघको मात्र होइन प्रदेशको कार्यान्वयनको क्रियाकलाप हामीले देखेनौँ । सिंहदरबारको अधिकार गाउँ गाउँमा पु¥याउँछौँ त भन्यौँ हामीले तर सिंहदरबारको विकृति पनि त गाउँमा पु¥याएका छौँ । जुन आशा पब्लिकले गरेका थिए संघीयताबाट, त्यो कुनै प्रतिफल पाइएन भन्ने मेरो निष्कर्ष हो । अब यो तीन तहको संघीयता आवश्यकता छ कि छैन ? दुई तहको संघीयताको बारेमा बहस गर्ने बेला भयो भन्ने मेरो निस्कर्ष हो ।’

संविधानसभा सदस्य तथा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले संघीयता बिरोधीहरुले संघीयता कार्यान्वयनको प्रक्रियामा भाग लिइसकेकाले संघीयता चाहिँदैन भन्नु असान्दर्भिक भइसकेको बताए । उनले संघीयतामार्फत सुशासन र तिव्र आर्थिक विकास दिन खोजिएको उल्लेख गर्दै त्यसो गर्न नसकेमा संघीयताको मर्मबाट वञ्चित हुने बताए । उनले भने, ‘संघीयता चाहिँदैन भन्नेहरु पनि संघीयता कार्यान्वयनको पक्षमा भाग लिइसक्नुभएको अवस्था छ । चाहिँदैन भन्ने दलहरुले, व्यक्तिहरुले पनि संघीयतामा भाग लिइसकेको अवस्था भएको हुनाले अब यो संघीयता चाहिँदैन भन्ने विषय असान्दर्भिक भयो कि भन्ने लाग्छ मलाई । संघीयता कार्यान्वयनमा ध्यान दिनुपर्छ । संघीयता मार्फत हामीले दिन खोजेको सुशासन र तीब्र आर्थिक विकास हो । दुईवटा कुरालाई बिर्सियौँ भने संघीयताको मर्मबाट हामी वञ्चित हुन्छौँ भन्ने लाग्छ ।’
उनले प्रदेश सरकारलाई प्रभावकारी बनाउने विषय कसैको प्राथमिकतामा नपरेको बताए । उनले संघीय सरकारले प्रदेश र स्थानीय तहमा अधिकार प्रत्यायोजन गर्नुपर्नेमा उनले जोड दिए । उनले संघीयता सफल बनाउन प्रदेश सरकारले स्पष्ट आर्थिक मार्गचित्र दिनुपर्ने पनि बताए । साथै प्रदेश सरकारले निजी क्षेत्र र सहकारी क्षेत्रलाई पनि सँगै लिएर हिँड्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्