१६ दिनपछि नवलपरासीका मिटर ब्याज पीडितहरूको धर्ना स्थगित

काठमाडौंस्थित माइतीघर मण्डलामा नवलपरासी सुस्ता र प्रतापपुर गाउँपालिकाका मिटर ब्याजविरुद्धको संघर्ष समितिले १६ दिनदेखि जारीे धर्ना स्थगितको घोषणा गरेको छ । सोमबार गृह मन्त्रालयसँग भएको वार्तापछि मिटरव्याज पीडित किसानले धर्ना स्थगित गरेका हुन् ।
रिपोर्टर्स क्लब नेपालमा मंगलबार पत्रकार सम्मेलन गरेर गृह मन्त्रालयका प्रवक्तासँगको छलफलपछि धर्ना स्थगित गरिएको जानकारी दिइएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै विद्यार्थी ललित रावलले सुस्ता र प्रतापपुरमा विगत ३०÷३५ वर्षदेखि मिटर ब्याजको परम्परा चल्दै आएको बताए । बानिया परिवारले ५ सय परिवारलाई मिटर ब्याज लगाएर धरै रकम असुल्दै आएको उनले आरोप लगाए । बनियाँ दाजुभाइ सुनिल र जगदीशले गरिब किसानहरूलाई ऋण दिएर बाजेले लिएको ऋण नातिको पालामा पनि चुक्ता नभएको कागज देखाइ राख्ने गरेको सुनाए । लामो समयपछि भनेपनि किसानहरूले मिटरब्याजको विरुद्धमा आवाज उठाउन सकेकोमा खुसी व्यक्त गरे ।
किसानहरूले उजुरी दिएपछि प्रहरीले सुनिल र जगदीश बानियाँलाई पक्राउ गरेको बताए । उनीहरू पक्राउ परेपछि किसानहरू काठमाडौंमा धर्ना सुरु गरेको बताए ।
गृह मन्त्रालय र संघर्ष समितिबीच सोमबार भएको वार्तामा ६ वटा माग सम्बोधन गर्ने शर्तपछि आज सबै किसान घर फर्कन तयार भएको जानकारी दिए । उनले गृह मन्त्रालयले एउटा समिति बनाएर सबै लागत निकालेर न्यायिक निरुपण गर्नुपर्नेमा जोड दिए । मिटर व्याज पीडितहरूको समस्या निकै गाह्रो भएकोले राज्यले किसानहरूलाई न्याय दिन पर्ने उनको भनाइ थियो । बानियाँहरूको दाजुभाइले गुण्डागर्दी शैली अपनाएको उनले आरोप लगाए । उनले न्याय निरुपणको प्रक्रियाको अभिभावकत्व ग्रहण गर्ने किसानहरूसँग गृहले सम्झौता गरेको बताए ।

राजनीतिककर्मी मृग नवीनले १६ दिनदेखि जारी माइतीभरमा धर्ना सरकारसँगको वार्तापछि स्थगित गरेर आज किसानहरू घर फर्कन लागेको बताए । उनले भने, ‘केही समयको लागि मात्र धर्ना स्थगित गरेका हौ । जबसम्म किसानहरूले न्याय पाउँदैनन्, त्यतिबेलासम्म हाम्रो आन्दोलन र संघर्ष जारी रहन्छ । मजदुर, किसान, विद्यार्थीहरू बाच्ने अधिकार देशमा छ कि छैन ?’
पुस्तौंदेखि मिटर व्याज पीडितहरू रुदै आएको भन्दै उनले सरकारले उनीहरूलाई न्याय दिन भनाई राखे । नविनले किसानहरूले विश्राम गरीरहेकोे तर आन्दोलन भने स्थगित नगरेको थप स्पष्ट पारे । उनले सरकारले देखाएको विश्वास अनुुसार न्यायिक प्रक्रियालाई हेर्ने र प्रक्रियाबाट असन्तुष्ट भएमा फेरी संघर्षमा उत्रने चेतावनी दिए ।
यसैगरी संघर्ष समितिका अध्यक्ष राम सुरज गुप्ताले मिटर व्याजबाट आफु लगायत ५ सय परिवार लामो समयदेखि पीडित रहेको बताए । उनले ०६८ सालमा सुनिल र जगदीश बानियासँग ४ लाख ऋण लिएको र २०७१ सालमा उक्त रकमको १५ लाख १५ हजार रुपैयाँ दिँदा कागज माग्दा अझै २५ हजार रुपैयाँ नपुगेको भनेपछि सुस्ता र प्रतापपुरमा पीडितहरूको संख्याको खोजीमा आफु लागेको सुनाए ।
सुनिल र जगदीश बानियाले पैसा दिने र आफंै कागज बनाउने र किसानहरूलाई ठग्दै आएको आरोप लगाए । उनले भने,‘कतिलाई २ लाख ऋण दिएर ४ वर्षमा ४० लाख असुली गरेका पनि छन् । सुरुमा सिडियो कार्यालय, प्रहरी प्रशासन पुग्दा आफूहरूलाई अदालत जान सल्लाह दिइएको उनले सुनाए । उनले देशभर भएका मिटरव्याजी पीडितहरूको विरुद्ध आफ सधैं लड्न तयार रहेको पनि बताए । कार्यक्रमको सञ्चालन सुजन तिवारीले गरेका थिए ।