असार १५ अर्थात् दहीचिउरा खाने दिन «

असार १५ अर्थात् दहीचिउरा खाने दिन

कृषिमा आधारित भएकाले हाम्रो देशलाई कृषिप्रधान देश भनिन्छ । यहाँका अधिकांश जनता कृषि पेसामा नै संलग्न छन् । अधिकांश मानिस यहाँ पशुपालन, खेतीपातीमा संलग्न छन् भने कतिपयले रोजगारी गरेर आफ्नो जीवन बिताउने गर्छन् । यतिबेला बर्खा लाग्ने र सिँचाइ गर्न सजिलो हुने हुनाले असार–साउन अर्थात् वर्षायामलाई खेतीबाली लगाउने मध्यसिजन र अन्नबाली लगाउनका लागि अनुकूल सिजन भन्ने गरिन्छ । यतिबेला धानलगायत अन्य अन्नबाली लगाउने गरिन्छ । त्यसैले किसानहरूलाई अहिले भ्याइनभ्याइ हुन्छ । किसानहरू दिनभर माटो तथा हिलोमा खेल्छन्, मलखाद तयार गर्छन्, अन्नबाली लगाउनमा व्यस्त हुन्छन् । बिहानदेखि साँझसम्म उनीहरू काममा खटिन्छन् । त्यसैले त असारलाई ‘मानो खाएर मुरी उब्जाउने सिजन’ भनिन्छ । अर्थात् यो आयआर्जनको स्रोत बढाउने समय पनि हो । त्यसैले यतिबेला थोरै खाएर धेरै काम गर्र्नेे गरिन्छ । त्यसैले नेपालमा प्रत्येक वर्ष असार १५ गतेको दिनमा दहीचिउरा खाने गरिन्छ र उक्त दिनलाई राष्ट्रिय धान दिवस पनि भनिन्छ ।
असार महिना लाग्नेबित्तिकै मस्तिष्कमा दहीचिउरा खाने दिन नजिकिन लाग्यो भनेर स्मरण हुने गर्छ । उक्त दिन दहीचिउराका साथसाथै स्वादका लागि आँप, केरा र अन्य पकवानहरू पकाएर खाने गरिन्छ । त्यसमाथि हिजोआज दहीचिउरा खाने प्रचलन फेसनझैँ भइसकेको छ । संस्कृतिविद्हरूका अनुसार धानखेतीको प्रारम्भ भएसँगै असारमा चिसो आलीको डिलमा बसेर रोपाइँको काम सकिएपछि दहीचिउरा खाने गरिन्थ्यो । तर, पछिल्लो समयमा यो परम्परा परिष्कृत हुँदै रोपाइँमा मात्र नभएर घरघरमै खाने चलन बसिसकेको छ । त्यसैले उक्त दिन घरमा मात्र नभएर कार्यालयहरूमा पनि असार १५ को अवसर पारेर दहीचिउरा खाने गरिन्छ । व्यस्तताको समयमा दहीचिउरा खाजा खानु एकदम उपयुक्त पनि मानिन्छ, किनकि अन्य प्रकारका खाजा बनाउनका लागि समय लाग्ने र घरबाहिर खाएको खाजा शरीरका लागि स्वस्थकर पनि नहुने हुनाले दहीचिउरालाई स्वास्थ्यको हिसाबले पनि स्वस्थकर मानिन्छ । त्यसैले दहीचिउरालाई छिटोमिठो तथा सर्वप्रिय खाजा पनि भन्ने गरिन्छ ।


यस दिन दुग्ध डेरीहरूमा दूध, दही तथा मोही किन्नेहरूको भीड लाग्छ । अन्य समयमा भन्दा यस दिन सबैले दहीचिउरा खाने हुनाले उक्त दिन दहीको माग बढी हुनुका साथै पसलहरूमा अत्यधिक भीड हुने गर्छ । त्यसैले कतिपय मानिस त उक्त दिन दही नपाइएला कि भनेर अघिल्लो दिन नै बुकिङ गर्ने गर्छन् । जुन व्यापार र परम्पराको हिसाबले एकदम राम्रो पनि हो, किनकि मानिसहरू दही किन्ने क्रममा पसलसामु आइसकेपछि अन्य सामानहरू पनि किन्ने गर्छन् ।
यसका साथसाथै असार १५ लाई धान दिवस पनि भन्ने गरिन्छ । खेतमा धानको बीउ रोपेर धान दिवस मनाइन्छ । जेठमै राखेको धानको बीउलाई असार लागेपछि रोप्न थालिन्छ । उक्त दिन देशभर रोपाइँसहितका विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइन्छ । धान रोप्ने क्रममा हिलोमा खेलेर धान रोपेर रमाइलो गरी मेलापात गर्ने क्रममा खिचिएका तस्बिरहरू पनि सामाजिक सञ्जालहरूमार्फत देख्नमा आइराखेको हुन्छ । झनै अहिलेको समयमा प्रख्यात बनेको टिकटक एप खोल्नासाथै धान रोपी रमाइलो गरेका तस्बिर तथा नाचका भिडियोहरू देख्दा हामीलाई पनि उक्त हिलोमा धान रोप्न जाऊँ–जाऊँ लाग्छ । यसका साथै अन्य समयमा खाएको तरकारी तथा दहीचिउरा खानुको महŒव र धान रोपाइँमा खाएको खाजाको भिन्दै महŒव हुन्छ । त्यसरी खेतको आलीमा बसी भिज्दै, हिलोमा भिजेर खाजा खानुको आनन्द अलग्गै छ, जुन आनन्द जति नै महँगो पैसा तिरेर महँगो होटलमा खाए पनि उक्त पैसाले किन्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस्