बजेटकै कारण राजीनामा दिन्न : अर्थमन्त्री शर्मा «

बजेटकै कारण राजीनामा दिन्न : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले देश र जनताको पक्षमा आगामी आर्थिक वर्षको बजेट ल्याएकै कारण विपक्षलाई अनैतिक लाग्दैमा आफूले राजीनामा नदिने बताएका छन् ।
राष्ट्रिय सभामा विनियोजित बजेटका विकासमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट देश र जनताको पक्षमा ल्याएको कारण विपक्ष दललाई अनैतिक लाग्दैमा आफूले राजीनामा नदिने बताए ।
“यो बजेट देश र जनताको पक्षमा ल्याएको कारणले कसैलाई अनैतिक लागेर राजीनामा दिनुपर्ने माग उठ्दैमा त्यही गर्नुपर्छ भन्ने होइन । यो इतिहासले पुष्टि गर्ने छ” उनले भने, “मैले गरेका निर्णयहरुमा पूर्वरुपमा जवाफदेही छु । मैले त्यो जिम्मा लिएको छु ।”
उनले करका दर परिर्वतन भएको विषयमा आफू र सरकार जवाफदेही र जिम्मेवारसमेत रहेको बताए । मन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्रीको व्यक्तिगत नभएर प्रतिष्ठित व्यवसायी, अर्थविद्, नागरिक र सबै सांसदहरु सुझावको आधारमा ल्याएको दाबी गरे ।

मन्त्री शर्माले बजेट कार्यान्वयन गर्दा आयात प्रतिस्थापन, गरिबी हटाउने र मानव विकास सूचाकांक वृद्धि गर्ने अंक नै बजेटमा समावेश गरिएको बताए । बजेट कार्यान्वयन हुँदा औद्योकिकरण,उत्पादन र आयात प्रतिस्थापनमा आउने परिवर्तनले सबै कुरालाई पुष्टि गर्ने उनको भनाइ छ ।
अर्थमन्त्री शर्माले करका दर रेट घटाउने र बढाउने विषय अर्थमन्त्रीको क्षेत्र अधिकारको भएको बताए । उनले अर्थमन्त्रीले बजेट नल्याएर, करका दर रेटलाई घटबढ नगरेर अरु के गर्नु पर्ने थियो ? भन्दै प्रश्न गरे । मन्त्री शर्माले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटमा आर्थिक समृद्धि, आत्मनिर्भता, गरिब कम गर्ने र व्यावसायीक क्षेत्रलाई प्रोत्साहन गर्नेगरी ल्याउने अर्थमन्त्री अनैतिक नहुने बताए । उनले करका दर रेट घटाउनु र बढाउनु अर्थ मन्त्रालयको मुख्य काम भएको बताए । मन्त्री शर्माले मुलुकको वर्तमान आर्थिक अवस्थालाई हेरेर करका दर घटाउन बढाउन आवश्यक रहेको बताए । उनले करको दर रेट आवश्यकता अनुसार बढाउन र घटाउन दुवै पाइने दाबी गरे ।
“करका दर रेट घटाउनु बढाउनु अर्थमन्त्रालयको मुख्य कुरा हो” उनले भने, “उसले करका दर रेट घटाउँछ बढाउँछ । त्यो जरुरी र आवश्यक कुरा हो । तर त्यो बढाउँदा जनतालाई के भयो । देशलाई के भयो भन्ने कुरा हो ।”
अर्थमन्त्री शर्माले बजेट कार्यान्वयन हुँदा सरकारका संरचनालाई सुदृढ गर्ने कानूनलाई राम्रो बनाउने र सँगै आम जनतालाई बजेट तथा कार्यक्रम कार्यान्वयनमा सहभागी गराउने विषय बजेटमा उल्लेख गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्