खेलाडीलाई अभ्यासको अझै कमी छ : कप्तान «

खेलाडीलाई अभ्यासको अझै कमी छ : कप्तान

वर्षाले बाधक बनेको खेलमा शुक्रबार युएईविरुद्ध पराजित भएसँगै नेपाली राष्ट्रिय महिला क्रिकेट टिम स्वदेश फर्किएको छ । एसीसी महिला टी–ट्वान्टी च्याम्पियन्ससिप खेलेर नेपाली टोली सोमबार नेपाल आइपुगेको हो ।
सेमिफाइनलमा युएईविरुद्ध उत्कृष्ट बलिङ गरे पनि वर्षाका कारण खेल पूरा हुन नसकेपछि नेपाल सेमिफाइनलबाटै बाहिरिन बाध्य भयो । योसँगै नेपाल एसियन कप २०२३ का लागि छनोट हुन सकेन । समूह चरणमा नेपालले भुटानलाई ५० रन, कुवेतलाई २५ रन र बहराइनलाई आठ विकेटले पराजित ग¥यो । तर अन्तिम खेलमा हङकङसँग सात विकेटले पराजित भयो ।
पराजित भएसँगै नेपाल समूह ‘बी’ को उपविजेता हुँदै सेमिफाइनलमा पुग्यो । सेमिफाइनलमा समूह ‘ए’ को विजेता युएईविरुद्ध खेलेको थियो । वर्षाका कारण खेल अवरुद्ध भए पनि युएई समूह विजेता हुँदै प्रतियोगिताको नियमअनुसार फाइनल प्रवेश गरेको थियो । युएईले फाइनलमा मलेसियालाई हराउँदै प्रतियोगिताको उपाधि जित्न सफल भयो ।

प्रतियोगितामा नेपालकी अश्मिना कर्माचार्य उत्कृष्ट बलर घोषित भइन् । सेमिफाइनलमा युएईविरुद्धको खेलमा पाँच विकेट लिएकी उनले प्रतियोगितामा जम्मा आठ विकेट लिइन् ।
यसैबीच सम्मुखकै उपाधि गुमाउँदा खेलाडी निराश भए पनि प्रदर्शनमा भने सन्तुष्ट छन् । सोमवार स्वदेश फर्किपछि सञ्चारकर्मीसँग बोल्दै नेपाली टोलीकी कप्तान रुबिना क्षेत्रीले अझै राम्रो गर्न सकिने भन्दै खेलाडीलाई धेरै भन्दा धेरै अभ्यास खेलको खाँचो रहेको बताइन् । नेपाली टोलीकी कप्तान रुबिना क्षेत्रीले जितेको म्याच नखेली आउनुपर्दा दुःख लागेको बताइन् । टोलीमा अहिले केही अनुभवि, राम्रो मिडल अर्डर र केही नयाँ प्रतिभावान खेलाडीसहितको मिश्रित टोली भएको भन्दै कप्तान रुबिना क्षेत्रीले निरन्तरको अभ्यास र धेरै भन्दा धेरै प्रतियोगितामा अवसर भए नेपाली महिला क्रिकेट टोली अगाडि बढ्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्