‘दुई वर्षभित्र सबै नेपालीका घरमा बिजुली’ «

‘दुई वर्षभित्र सबै नेपालीका घरमा बिजुली’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी दुई वर्षभित्र सबै नेपालीका लागि विद्युत सेवा पुग्ने बताएकी छन् ।
सोमबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०७९ मा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले आगामी दुई वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत सेवा पुग्नेगरी योजना बनाई कार्यान्वयन गरिने बताएकी हुन् । उनले आफूले मन्त्रालय सम्हालेपछि मासिक २० युटिसम्म विद्युत खपत गर्ने २६ लाख ग्राहकले निःशुल्क विद्युत सेवा पाएको दाबी गरिन् । उनले सिँचाइमा प्रयोग हुने विद्युतमा ७५ प्रतिशतसम्म सहुलियत दिनेगरी प्रतियुनिट दुई रुपैयाँसम्म महशुल कायम गरिएको तथा खानेपानीतर्फ इनर्जी शुल्क करिब ५० प्रतिशतले घटाइएको जानकारी दिइन् ।

उनले आगामी आर्थिक वर्षदेखि हरेक वर्ष करिब सात सयदेखि एक हजार मेघावाट विद्युत नेपालको विद्युत प्रणालीमा थपिँदै जाने बताइन् । यसरी विद्युत थपिँदा आगामी दुई वर्षका सुख्खायाममा समेत नेपालको विद्युतले नै आन्तरिक माग धान्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्