झुलनीपुरदेखि मर्चवारको अजमासम्म डबल लेन हुने «

झुलनीपुरदेखि मर्चवारको अजमासम्म डबल लेन हुने

प्रत्येक निर्वाचन क्षेत्रमा एक रणनीतिक सडक निर्माण गर्ने सरकारी नीतिअनुसार रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ४ मा सडक स्तरोन्नति कार्यको शिलान्यास भएको छ ।
निर्वाचन क्षेत्रअन्तर्गत मायादेवी गाउँपालिकाको झुलनीपुरदेखि कोटहीमाई गाउँपालिका मर्चवारको अजमासम्मको सडक खण्डको स्तरोन्नति कार्य सुरु भएको हो । सगुन कन्स्ट्रक्सन रुपन्देहीले बोलकबोल प्रथा (ठेक्का) मार्फत १५ करोड २२ लाख ७६ हजार १ सय ९३ रुपैयाँमा निर्माण एवं स्तरोन्नति गर्ने जिम्मा पाएको हो । सडक डिभिजन कार्यालय बुटवलसँंग सगुन कन्स्ट्रक्सनले ६ जेठ २०७९ मा सम्झौता गरी ६ असोज २०८१ मा (२७ महिनामा) कार्य सम्पन्न गर्नुपर्ने डिभिजनल इन्जिनियर एवं कार्यालय प्रमुख इन्जिनियर जयलाल मरासिनीले बताए । अस्फाट कंक्रिट प्रविधिको प्रयोगबाट सडक कालोपत्रे गरिने र मायादेवी गाउँपालिका–४ (लुम्बिनी सडक मार्ग) झुलनीपुरबाट सुरु भई सिपवा, केवटलिया, अर्दवलि हँुदै अजमा सडक खण्ड स्तरोन्नति हुने मरासिनीले बताए । स्तरोन्नति हुने सडकको लम्बाई सात किलोमिटर छ ।

सडक डबल लेनको बन्नेछ । नालीसहित सडकको चौडाइ ११ मिटर तथा सडकको दुवैतर्फ किनारमा पौने मिटरकम सोल्जर निर्माण हुनेछ । । उक्त सडक खण्डको रुपन्देही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य प्रमोदकुमार यादवले शिलान्यास गर्दै सडक स्तरोन्नति सम्पन्नपछि मर्चवार क्षेत्रका तीन गाउँपालिकासँंगै लुम्बिनी सांस्कृतिक नगरपालिकाका केही वडा तथा मायादेवी गाउँपालिकाको १ वडा एकापसमा जोडिने बताउँदै यस क्षेत्रमा उत्पादन हुने कृषि उपज तथा अन्य व्यावसायिक वस्तु बिक्री वितरणका लागि ल्याउन लैजान सहज हुने बताए ।
सरकारले एक निर्वाचन क्षेत्रमा एक रणनीतिक सडक निर्माण गर्ने योजनाअनुसार आफ्नो क्षेत्रमा यो सडक खण्ड रोजेको बताए । “यो सडक स्तरोन्नतिपछि हुलाकीमार्ग लुम्बिनी सडक खण्डबाट जिल्लाको दक्षिण क्षेत्र मर्चवारसम्म सहज यातायात सेवा सहज हुनेछ,” उनले भने । दैनिक १० देखि १५ हजार सर्वसाधारणले कृषि, व्यवसाय, शिक्षालगायतका प्रयोजनका लागि यो सडक खण्ड प्रयोग गर्दै आएकोमा निर्माण सम्पन्नपछि थप सहजता भई प्रयोगकर्ता बढने बताए ।

प्रतिक्रिया दिनुहोस्