तातोपानीको बजेट पारित

जुम्लाका आठैवटा स्थानीय तहमध्ये पहिलो तातोपानी गाउँपालिकाको बजेट पारित भएको छ । आइतबार बसेको पालिकाको ११औं गाउँसभाबाट आगामी आव २०७९/०८० को बजेट पारित भएको हो । १ देखि ८ नम्बर वडाको बजेटमाथि दफाबार छलफल तथा गाउँसभा सदस्यको टिप्पणीसहित सभाअध्यक्ष नन्दप्रसाद चौलागाईंको सम्बोधनपछि ११औं गाउँसभाबाट बजेट पारित भएको तातोपानी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले बताए ।
उनका अनुसार आगामी आवका लागि विनियोजित ५२ करोड ६६ लाख ३० हजार ३ सय ४३ रुपैयाँ बराबरको बजेट पारित भएको हो । जसमा जनतासँंग अध्यक्ष कार्यक्रममा ८५ लाख र जनतासंँग उपाध्यक्ष कार्यक्रममा ८० लाख विनियोजन भएको छ भने वडा नंं १ देखि ६ सम्म ८० लाखका दरले समान्तर बजेट छुटाइएको छ । साथै भौगोलिक हिसाबले विकट तातोपानीको भेरीखोला क्षेत्र वडा न. ७ मा ९५ लाख र ८ मा ९० लाख बजेट विनियोजन गरिएको प्रमुख प्रशासकिय अधिकृत बुढ्थापाले बताए । गाउँबस्ती स्तरबाट माग भई आएका योजनालाई वडाध्यक्षले प्राथमिकता दिएर बजेट विनियोजन गरेका छन् ।
वडागत रूपमा आवश्यकतामुखी बजेट विनियोजन तथा नीति र कार्यक्रम ल्याएकाले जिल्लामै पहिलो बजेट र नीति पारित भएको अध्यक्ष नन्दप्रसाद चौलागार्इंले बताए । उनका अनुसार सबै जनप्रतिनिधिको सल्लाहमा शिक्षा, स्वास्थ्य र सडकमा बजेटले प्राथमिकता दिएको छ भने असार १० गतेकै दिन नीति तथा कार्यक्रम पारित भएको थियो । १० गते प्रस्तुत बजेट दुईको अध्ययन र छलफलपछि आइतबार ११औं गाउँसभाबाट बजेट पारित भएको उपाध्यक्ष रेवती रावलले बताइन् ।
उपाध्यक्ष रेवती रावलले प्रस्तुत गरेको बजेट वक्तव्यअनुसार तातोपानीले समग्रमा सडकतर्फ १ करोड ८२ लाख, ५० हजार, शिक्षातर्फ एक करोड ७३ लाख ५० हजार, स्वास्थ्यमा १ करोड १४ लाख ५० हजार, कृषिमा ८८ लाख बजेट विनियोजन गरिएको छ ।
त्यस्तै, खानेपानी तथा सरसफाइमा एक करोड ६६ लाख ७५ हजार, नदी नियन्त्रणमा ५५ लाख, खेलकुद, पर्यटन तथा सांस्कृतिक संरक्षणका लागि ८६ करोड २५ लाख, वन वातावरण तथा विपद व्यवस्थापनमा ४५ लाख, न्याय र कानुनमा ६ लाख, सूचना प्रविधिमा २७ लाख विनियोजन भएको छ ।

साथै, सिँचाइतर्फ १९ लाख, पशु सेवातर्फ १५ लाख, महिला तथा बालबालिकातर्फ १० लाख, उद्योग उद्यमशीलतामा ३९ लाख ५० हजार, सहकारीतर्फ ८ लाख, लक्षित वर्गको हितका लागि ५२ लाख, बहुक्षेत्रीय पोषणतर्फ ८ लाख, सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्तातर्फ १० लाख बजेट छुट्याइएको छ भने सुशासन तथा सरसफाइ विकासमा ४० लाख, जनतासंँग अध्यक्ष कार्यक्रममा ८५ लाख र जनतासँंग उपाध्यक्ष कार्यक्रममा ८० लाख, पूर्वाधार विकासमा २८ लाख ५० हजार बजेट छुट्याइएको छ ।
यसरी समग्रमा विभिन्न शीर्षकमा गरी आगामी आवका लागि ५२ करोड ६६ लाख ३० हजार ३ सय ४३ रुपैयाँ बजेट छुट्याइएको प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले बताए । उनका अनुसार आगामी आवबाट लागू हुने गरी खाँदै आएको तलबमा २ हजार वृद्धि गरिएको छ ।
उनले भने, “बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन आगामी आवमा समयमै योजना सम्झौतादेखि निर्माण प्रक्रिया अघि बढाइने छ भने डिजिटल प्रणालीबाट सेवा प्रवाह गर्ने, अस्पताल निर्माण गर्ने, झिकाउ, सिकाउ, टिकाउ र विकाउ हुन खालको जनशक्ति उत्पादनका लागि शैक्षिक गुणस्तरमा जोड दिइने छ ।”