भारतभन्दा चीनसँगको व्यापारघाटा फराकिलो «

भारतभन्दा चीनसँगको व्यापारघाटा फराकिलो

नेपालको वैदेशिक व्यापारका मुख्य दुई साझेदार मुलुकमध्ये भारतभन्दा चीनसँगको व्यापारघाटा अनुपात बढ्दै गएको छ । भारतबाट आयातसँगै निर्यात पनि बढ्दो क्रममा छ, तर चीनसँगको व्यापार भने एकपक्षीयजस्तै देखिएको छ ।
भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको ११ महिना (जेठ) सम्ममा नेपाल र चीनबीच २ खर्ब ४४ अर्ब ९५ करोड ५ लाख १४ हजार रुपैयाँबराबरको व्यापार भएको छ । जसमा चीनबाट नेपालमा २ खर्ब ४४ अर्ब २१ करोड १४ लाख ३९ हजार रुपैयाँ बराबरको वस्तु आयात भए पनि नेपालले चीनतर्फ भने जम्मा ७३ करोड ९० लाख ७५ हजार रुपैयाँको निकासी गर्न सकेको छ । यसरी चीनसँगको व्यापारमा नेपालले २ खर्ब ४३ अर्ब ४७ करोड २३ लाख ६३ हजार रुपैयाँ घाटा बेहोरेको छ ।
भारतसँगको व्यापारमा परिमाणात्मक हिसाबले व्यापारघाटा बढी देखिए पनि प्रतिशतका आधारमा चीनभन्दा केही सन्तुलित देखिन्छ । विभागका अनुसार जेठसम्म भारतबाट नेपालले ११ खर्ब ९० करोड ३६ लाख ७१ हजार रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ भने १ खर्ब ४५ अर्ब ९० करोड १३ लाख २२ हजार रुपैयाँ बराबरको निकासी गरेको छ । भारतसँग नेपालको व्यापारघाटा ९ खर्ब ५५ अर्ब २३ लाख ४९ हजार रुपैयाँ रहेको देखिन्छ ।
विभागको तथ्यांकअनुसार भारतसँग नेपालले कुल व्यापारमा ११.७ प्रतिशत निकासी र ८८.२९ प्रतिशत आयातको हिस्सा देखिन्छ । तर, चीनसँगको व्यापारमा भने निकासीको हिस्सा ०.३ प्रतिशतमात्र रहेको छ । चीनसँगको द्विपक्षीय व्यापारमा आयातको हिस्सा ९९.६९ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको वैशाखसम्म भारततर्फको निकासी ७२.९ प्रतिशतले वृद्धि हुँदा चीनतर्फको निर्यात भने २४.९ प्रतिशतले घटेको छ । नेपालको वैदेशिक व्यापारको सन्तुलन सुधारको दिशामा रहेको र अन्य मुलुकतर्फको निकासी समेत वृद्धि हुँदै गइरहेको छ । केन्द्रीय बैंकका अनुसार सोही अवधिमा चीन बाहेकका अन्य मुलुकतर्फको निकासीमा २५.६ प्रतिशतले वृद्धि भएको छ । नेपालबाट भारततर्फ पाम आयल, सोयाविन आयलसहित अलैंची, अदुवा, चियाजस्ता कृषिजन्य वस्तु निकासी हुँदै आएको छ । यसबाहेक जडिबुटीजन्य वस्तु पनि ठूलो परिमाणमा निकासी हुँदै आएको छ । चीनतर्फ भने कुकुर र बिरालोको खाना डग च्युसहित सौन्दर्य प्रशोधन, अगरबत्ती, साबुन, पेट बोटल, केही छालाजन्य सामग्री निकासी हुँदै आइरहेको छ ।

सीमा समस्याले व्यापारमा अवरोध
नेपाल र चीनबीचको व्यापार ओरालो लाग्नुमा सीमा अवरोध मुख्य समस्याका रुपमा देखिएको छ । चीनसँगको पुरानो नाका तातोपानी वर्षौंसम्म बन्द रहेको र हाल सीमित रुपमा मात्र खोलिएको छ भने वैकल्पिक नाका मानिएको केरुङमा सडकलगायत पूर्वाधारकै समस्या रहेको व्यापारमा सम्वद्ध व्यवसायीहरु बताउँछन् ।
भन्सार विभागका अनुसार जेठसम्म तातोपानी नाकाबाट १२ अर्ब ४४ करोड मूल्यका सामान आयात हुँदा निकासी भने शून्यप्रायः छ । यस्तै, रसुवा नाकाबाट २४ अर्ब ६७ करोड ६६ लाखको सामान आयात भएको र निकासी भने शून्य रहेको उल्लेख छ । चीनतर्फ जाने सामग्रीहरु हवाई मार्ग तथा कोलकता नाका हुँदै निकासी हुने गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठ केरुङ नाकामा सडक, गोदाम लगायतका पूर्वाधारको समस्या रहेको र यसले व्यापार प्रभावित भएको बताउँछन् । चीनसँगको व्यापारमा सम्भावना प्रचुर रहे पनि यसबाट नेपालले फाइदा लिन नसकेको उनको भनाइ छ ।
नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठ चीनसँगको व्यापारमा कमी आउनुमा प्राकृतिक कारण देखाइए पनि यसमा कूटनीतिक कमजोरी पनि रहेको बताउँछन् । “नेपालका समस्या के हुन् भन्ने विषयमा सरकारमा बस्ने सबैलाई थाहा छ । तर पनि समाधान किन भइरहेको छैन ? मुख्य कुरा यही हो,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्