विदेशमा रहेका श्रमिकसमेत सामाजिक सुरक्षामा

सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषअन्तर्गतको योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा ल्याउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका नागरिकलाई सामाजिक सुरक्षा कोषबाट सञ्चालित सामाजिक सुरक्षा योजनाहरूमा आवद्ध गर्न अध्ययन कार्यदल बनाएर काम अघि बढाएको छ ।
यसका लागि सहसचिवको नेतृत्वमा अध्ययन कार्यदलले काम सुरु गरिसकेको छ । सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले योगदानमा आधारित सामाजिक सुरक्षा ऐनलाई संशोधन गरेर योजनामा वैदेशिक रोजगारीमा रहेकालाई सूचीकृत गर्ने योजना अघि बढाइएको बताए । “वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा रहेका कुन कुन स्किममा राख्ने भन्नेबारे छलफल भइरहेको छ,” कार्यकारी निर्देशक ज्ञवालीले कारोबारसँग भने, “विदेशमा कार्यरत श्रमिकलाई अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र अवकास योजनामा राख्न सकिने विषयमा छलफल भइरहेको छ ।”
हाल १ सय ७८ मुलुकमा व्यक्तिगत र ११० देशमा संस्थागत रुपमा श्रमस्वीकृति लिएर गएका १४ लाखभन्दा बढी श्रमिक रहेका छन् । यसैगरी गैरश्रमिक भिसामा विदेशमा रहेका नेपालीलाई योजनामा आबद्ध गर्न गैरआवासीय नेपाली संघसँग समन्वय र सहकार्य गरिने भएको छ । विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा समेट्नका लागि गृहकार्य सुरु भइसकेको जानकारी दिँदै कोषका कार्यकारी निर्देशक ज्ञवालीले एनआरएनएसँगको सहकार्यमा कोषले छिट्टै कार्यविधि बनाएर लागू गर्ने बताए । यसका लागि गन्तव्य मुलुकका सम्बन्धित निकायसँग पनि द्विपक्षीय सम्झौता गर्नुपर्ने उनको भनाइ छ ।
विदेशमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन श्रम गन्तव्यसँग द्विपक्षीय सम्झौता गरी रोजगारदाताको दायित्वका सम्बन्धमा प्रष्ट पारिने छ । विदेशमा कार्यरत श्रमिकको योगदान रकम सम्बन्धित देशको सामाजिक सुरक्षाको काम गरिरहेको निकायमार्पmत लिने गरी सम्झौताको तयारी गरिएको कोषले जनाएको छ । “यसका लागि श्रम गन्तव्यसँग द्विपक्षीय सम्झौता गर्नुपछर्,” कार्यकारी निर्देशक ज्ञवालीले भने । दुर्घटना र उपचार रोजगारदाता वा सम्बन्धित देशबाट पाउने गरी अन्य योजनामा कोषले समेट्ने गरी कार्यविधि तयार गरिने भएको छ । वैदेशिक रोजगारमा जाने श्रमिकलाई योजनामा समेट्न श्रम स्वीकृतिको आधारमा सूचीकरणमा ल्याउने तयारी रहेको छ ।

सरकारले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम र बजेटबाट नै वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने योजना बनाएको भए पनि कोभिड संक्रमणका कारण काम हुन सकेको थिएन । वैदेशिक रोजगार, सरकारी क्षेत्रमा रहेका अस्थायी तथा करारका कर्मचारी तथा श्रमिकहरुलाई कोषले सञ्चालन गर्ने योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गर्ने विषय उल्लेख गरेअनुसार कोषको कार्यक्षेत्र आगामी आवबाट थप विस्तार हुने भएको छ ।
नेपालको पन्ध्रौं योजनाले वैदेशिक रोजगारीमा जाने व्यक्तिको समेत योगदानमा आधारित सामाजिक सुरक्षा कोषको योजनामा सहभागी बनाउने नीति लिएको छ । यसको लागि आवश्यक कानुनी सुधारका विषयहरू पहिचान गरी कानुन निर्माणको लागि कोषबाट सम्बन्धित निकायमा सिफारिस तथा समन्वय गने काम भइरहेको छ । विगत लामो समयदेखि खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकहरुले आफूहरुलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिन माग गर्दै आएका छन् । आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले निजी तथा अनौपचारिक क्षेत्रमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषबाट सञ्चालित सामाजिक सुरक्षामा योजनामा क्रमशः आबद्ध गरिने बताएका छन् । कोषले हाल निजी क्षेत्रको औपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरुको लागि मात्रै योगदानमा आधारित सामाजिक सुरक्षा कोषमार्फत सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गरिरहेको छ । यसमा हाल १७ हजार १४१ रोजगारदाता, ३ लाख ४२ हजार ७४ योगदानकर्ता सूचीकृत भइसकेका छन् । कोषमा हालसम्म १८ अर्ब ९८ करोड रुपैयाँ बराबरको योगदान रकम जम्मा भइसकेको छ भने १ अर्ब ४८ करोड ६३ लाख रुपैयाँ लाभग्राहीलाई वितरण गरिएको छ ।