नेप्से परिसूचक २३.८५ अंकले गिरावट «

नेप्से परिसूचक २३.८५ अंकले गिरावट

साताको पहिलो दिन आइतबार ९४.९२ अंकले बढेको नेप्से परिसूचक सोमबार गिरावट आएको छ । लामो समय ओरालो लागिरहेको नेप्से आईतबार एक्कासी उच्च अंकले बढेको थियो ।
सोमबार नेप्से परिसूचक २३.८५ अंक घटेर १९३३.१३ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.०२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६४ अंकले घटेको छ ।
सोमबार कारोबारमा आएका २२९ कम्पनीको ५६ लाख ४१ हजार कित्ता सेयर २ अर्ब ४ करोड ४८ लाख ३१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । आइतबारको तुलनामा नेप्सेसँगै कारोबार रकमसमेत गिरावट आएको छ । र्आतबार २ अर्ब १९ करोड ६१ लाख ४१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।
नेप्सेका १३ उपसमूहमध्ये दूई उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा लगानी र जीवन बिमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । त्यस्तै, विकास बैंक उपसमूहको परिसूचक सबैभन्दा धेरै ३.५१ प्रतिशत घटेको छ ।  
नेप्से परिसूचक गिरावट आए पनि सोमबार दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा सिवाईसी लघुवित्त र न्यादी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यता उन्नती सहकार्य लघुवित्तको सेयरमूल्य १० प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा १५ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर कारोबार गरेर नागरिक लगानी कोष शीर्ष स्थानमा रहेको छ । हिमालयन डिष्टिलरीको ९ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्