न्यादी जलविद्युत आयोजनाद्वारा व्यावसायिक विद्युत उत्पादन सुरु «

न्यादी जलविद्युत आयोजनाद्वारा व्यावसायिक विद्युत उत्पादन सुरु

लमजुङको मस्र्याङ्दी गाउँपालिकामा निर्माण सम्पन्न न्यादी जलविद्युत आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेको छ । गत वैशाख महिनादेखि नै शुल्क पाउने गरी आयोजना र नेपाल विद्युत प्राधिकरणबीच सहमति भएको हो ।
गत वैशाखदेखि परीक्षण उत्पादन सुरु गरेको सो आयोजनाले २७ वैशाख देखि उत्पादित विद्युत शुल्क पाउने गरी मंगलबार सम्झौता भएको हो । प्राविधिक व्यवस्थापनका कारण सम्झौता गर्न ढिलाइ भए पनि प्राधिकरणले साविक मितिबाट नै उत्पादित विद्युतको शुल्क तिर्ने भएको छ ।
गत पुस महिनामा आयोजना निर्माण सम्पन्न भई ३ वैशाखदेखि परीक्षण उत्पादन गरेको सो आयोजनाबाट करिब २४ दिनको परीक्षण उत्पादन मानेर २७ गतेदेखि उत्पादित विद्युतको शुल्क तिर्नेगरी सहमति भएको आयोजनाका वासु गर्तौलाले जानकारी दिएका हुन् । पुस महिनामै आयोजना निर्माण सम्पन्न भए पनि प्रसारणलाइन नहुँदा विद्युत उत्पादन हुन रोकिएको थियो ।
१५÷१५ मेगावाट क्षमताको दुईवटा युनिट रहेको सो आयोजनामा परीक्षणको क्रममा दुवै युनिटबाट परीक्षणको क्रममा २० युनिटसम्म विद्युत उत्पादन भएको र अब क्रमिक रूपमा पूरै क्षमतामा विद्युत उत्पादन हुने आयोजनाले जनाएको छ ।
आयोजनाले नेपाल विद्युत प्राधिकरणसँग वर्षायाममा चार रुपैयाँ ८० पैसा र सुक्खायामका लागि आठ रुपैयाँ ४० पैसामा विद्युत खरिद सम्झौता (पीपीए) भएको थियो । हाल र आगामी आर्थिक वर्षका लागि सोही रकम कायम भएको र अर्को आर्थिक वर्षदेखि मूल्य परिवर्तन हुने आयोजनाले जनाएको छ ।


चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेसन कम्पनीले निर्माण गरेको सो आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । मस्र्याङ्दी गाउँपालिका–६ को ङादीखोलामा निर्माण भएको सो आयोजनाबाट उत्पादित विद्युत हाल माथिल्लो मस्र्याङ्दी जलविद्युत आयोजनाको प्रसारण लाइनमा जोडिए पनि पछि २२० केभी मस्र्याङ्दी करिडोर प्रसारण लाइनअन्तर्गतको खुदी सबस्टेसनमा जोडिने छ ।
वि.सं २०७३ चैतदेखि निर्माण थालनी गरेको आयोजनाले तीन वर्षभित्र सम्पन्न गरिसक्ने सम्झौता भएको थियो । उक्त सम्झौताअनुसार निर्माण सम्पन्न हुन नसकेपछि पटकपटक म्याद थप गरी ६ वर्ष लगाएर निर्माण सम्पन्न गरेको छ । ६ अर्बभन्दा बढी लागतमा निर्माण सम्पन्न सो आयोजनामा बुटवल पावर कम्पनीको २५ प्रतिशत लगानी रहेको छ । आयोजनामा एभरेस्ट बैंकको अगुवाइमा पाँच बैंकले ७५ प्रतिशत अर्थात् साढे चार अर्ब ऋण लगानी गरेका छन्

प्रतिक्रिया दिनुहोस्