म्याग्दीका स्थानीय तहको बजेट तीन अर्ब ८४ लाख «

म्याग्दीका स्थानीय तहको बजेट तीन अर्ब ८४ लाख

म्याग्दीका स्थानीय तहले आर्थिक वर्ष २०७९/०८० का लागि तीन अर्ब ८४ लाख १६ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन् । जिल्लाको १ नगरपालिका र ५ गाउँपालिकाले शुक्रबार नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका हुन् ।
बेनी नगरपालिकाले ७३ करोड २२ लाख रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । ११औं नगरसभामा प्रस्तुत विनियोजित बजेटमध्ये चालू खर्चतर्फ ४६ करोड १४ लाख र पुँजीगततर्फ २७ करोड आठ लाख रुपैयाँ रहेको छ । रघुगंगा गाउँपालिकाले ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । १३औँ गाउँ सभामा सामाजिक सुरक्षा भत्ताबाहेक कुल विनियोजनमध्ये चालूतर्फ ३२ करोड ९० लाख ७५ हजार र पुँजीगततर्फ १३ करोड ९५ लाख ५० हजार बजेट विनियोजन गरेको छ ।

मालिका गाउँपालिकाले ४८ करोड १८ लाख ३६ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ । सामाजिक सुरक्षा तथा संरक्षण भत्ताबाहेक बजेटमा चालूतर्फ २९ करोड ९५ लाख ७० हजार रुपैयाँ र पुँजीगततर्फ १८ करोड २० लाख ६६ हजार रुपैयाँ विनियोजन गरिएको छ । मंगला गाउँपालिकाले ४२ करोड ३४ लाख ७० हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ । १३औँ गाउँ सभामा प्रस्तुत भएको बजेटमा चालूतर्फ २७ करोड ७९ लाख ७० हजार रुपैयाँ र पुँजीगततर्फ १४ करोड ५५ लाख (३४.३५) प्रतिशत बजेट प्रस्तुत भएको छ ।
धवलागिरि गाउँपालिकाले ४० करोड ४९ लाख ४९ हजार रुपैयाँ बजेट पारित भएको छ । मुनामा सम्पन्न १६औँ गाउँसभामा बजेटमा सामाजिक सुरक्षा भत्ताबाहेक सो बजेट सार्वजनिक गरेको छ । अन्नपूर्ण गाउँपालिकाले अनुमानित ४९ करोड ७३ लाख ३६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । १५औँ गाउँसभामा सार्वजनिक बजेटमध्ये चालू खर्चतर्फ ३३ करोड १५ लाख ३७ हजार चार सय रुपैया र पुँजीगततर्फ १२ करोड १७ लाख ९८ हजार ६ सय र कोषतर्फ दुई करोड ५० लाख रुपैयाँ बजेट रहेको छ ।
जिल्लाका पालिकाहरूले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा कृषि उत्पादन वृद्धि, बेरोजगार बनेका युवालाई स्वरोजगार बनाउने तालिम तथा सडक, शिक्षा, स्वास्थ्य, पर्यटकपूर्वाधार विकासलगायत क्षेत्रलाई प्राथमिकतामा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्