विद्युतीय उर्जाको खपत बढाउन मन्त्री भुसालको जोड «

विद्युतीय उर्जाको खपत बढाउन मन्त्री भुसालको जोड

जलस्रोत, उर्जा तथा सिंचाइ मन्त्री पम्फा भुसालले महंगिदै गएको पेट्रोलियम पदार्थको सट्टा विद्युतीय उर्जाको खपतलाई बढाउन आग्रह गरेकी छिन् ।
मुलुकको आर्थिक समृद्घिको मुख्य आधार जलविद्युत भएको भन्दै उनले महंगो हुँदै गएको पेट्रोलियम पदार्थको सट्टा विद्युतीय उर्जाको खपतलाई बढाउन आग्रह गरिन् ।
“प्रकृतिले दिएको बरदान अर्थतन्त्रको महत्वपूर्ण स्रोत उर्जाको भरपुर उपयोग गर्न नसक्दा हामी आर्थिक र सामाजिक विकासका दृष्टिले पछि प¥यौं” उनले भनिन्, “११२ वर्ष पहिले जलविद्युत उत्पादन गर्ने एसियामै पहिलो राष्ट्र भएर पनि जलविद्युतको उपयोग गर्ने सवालमा नेपाल पछाडी प¥यो ।”
पछिल्लो समय विद्युत उत्पादनमा आत्मनिर्भरको बाटोमा पुगेको भन्दै उनले उद्योगधन्दाका लागि पनि अहिले उर्जा अभाव नभएको बताइन् । मन्त्री भुसालले जलविद्युत आयोजनाको बिमाको विषयमा देखिएका समस्या समाधान गर्न मन्त्रालय तयार भन्दै सरोकारवालाहरुलाई यस विषयमा छलफलबाट समाधान निकाल्न आग्रह गरिन् ।

नाफामूलक तरिकाले मात्रै बिमा क्षेत्रलाई नलिन आग्रह गर्दै सेवा प्रवाहका दृष्टिले हेर्न उनले आग्रह गरिन् । बिमाले संकटको सुरक्षा गर्ने भएकाले एकदमै नाफा गर्ने भन्दा पनि सेवा गर्ने क्षेत्रका रुपमा सबैले बुझ्नु पर्नेमा उनको जोड थियो ।
राज्यमन्त्री उमेश श्रेष्ठले मुलुककै समृद्घिको मुख्य आधार जलविद्युत आयोजनाहरुलाई बिमाका दृष्टिले जोखिमरहित बनाउन सके जलविद्युतको निर्माण र भूमिकाले पनि तीब्रता पाउने बताए ।
बिमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बिमा क्षेत्रकै महत्वपूर्ण पक्षका रुपमा सर्भेयर भएको बताए । “सर्भेयरले पीडाको बेलामा उपस्थिति जनाउँछ । उसकै रिपोर्टको आधारमा बीमितले राहत पाउँछ” उनले भने ।
सर्भेयरको विश्वसनियता नै बिमा व्यवसायको साखसँग जोडिएको भन्दै उनले सर्भेयरको भूमिका र विश्वसनियता बढाउन एसोसिएसनले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।
नेपाल बिमक संघका अध्यक्ष चंकी क्षेत्रीले बिमाको दरको विषय अन्तर्राष्ट्रिय अभ्यास अनुसार तय हुने बताउँदै जलविद्युत क्षेत्रको बिमाको दरका विषयमा रहेको विवाद छलफलबाट समाधान गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्